Friday, 28 August 2015

टीकापुरमा दुई हवल्दारलाई जलाएर मारेको प्रमाण भेटियो



पाँच दिनअघिको हिंसात्मक घटनापछि तनावग्रस्त टीकापुरको अवस्था अझै सामान्य भएको छैन । नेपाली प्रहरीका सेती अञ्चल प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएपछि आक्रान्त भएको टीकापुर लगायत आसपासका क्षेत्रमा लगातार पाँच दिनदेखि स्थानीय प्रशासनले २४ घण्टे कफ्र्यू लगाएको छ ।
सोमबार थरुहट पक्षधरको आक्रमणबाट अस्तब्यस्त भएको टीकापुर लगायत आसपासको क्षेत्रलाई दंगाग्रस्त घोषणा गरी नेपाली सेना परिचालन गरिएको छ । लगातारको कफ्र्यूले स्थानीयहरु घरभित्रै बस्न बाध्य छन् । नौ जनाको ज्यान जाने गरी भएको घटनाको पछिल्लो दिन अर्थात् मंगलबार आक्रोसशत समुहले टीकापुर बजारमा आगजनी र तोडफोड गरेपछि टीकापुरको माहोल थप आक्रान्त बनेको स्थानीयको भनाई छ ।
सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी माधव नेपालले टीकापुरको दैनिक जनजीवन सहज बनाउने सबै पक्षसँग छलफल भइरहेको बताए । अवस्था सहज हुने बित्तिकै क्रमशः कफ्र्यू समय र कफ्र्यू लगाउने क्षेत्र घटाइने छ डीआईजी नेपालले भने ।
दंगाग्रस्त लगायत जिल्लाका अन्य क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैथान गरी सर्वसाधरणहरुको दैनिकी सहज बनाउन प्रयास भइरहेको छ । एक÷दुई दिनमा सबै ठीक हुने डीआईजी नेपालको भनाई छ ।
यसैबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिप रेग्मी, गृहमन्त्रालयका प्रबक्ता लक्ष्मीप्रसाद ढकाल सहितको टोलीले बिहीबार टीकापुर आएर घटनास्थलको निरीक्षण तथा प्रत्यक्षदर्शीसँग कुराकानी गरेको छ ।
उच्च प्रहरी अधिकारी टोली समक्ष प्रत्यक्षदर्शीहरुले एसएसपी न्यौपाने, प्रहरी निरीक्षकद्वय केशव बोहरा र बलराम बिष्ट, हवलदार लक्ष्मण खड्का, जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका हवलदार ललित साउद र जवान रामबिहारी चौधरीलगायतलाई आक्रमणकारीले लखेट्दै घेराबन्दी गरेर भाला, लाठी, ढुंगामुढाले लगायतले मारेको देखेको बताएका थिए ।
एसएसपी न्यौपाने आक्रमणकारीको घेराबाट भाग्दै नजिकैको स्थानीयको घरमा लुकेको अवस्थामा घरबाटै बाहिर ल्याई भाला र लाठीले मारेको प्रत्यक्षदर्शीको भनाई थियो ।
यसैगरी एसएसपी न्यौपानेको हत्या गरिएको ठाउँ नजिकै सशस्त्र प्रहरीका रामबिहारी चौधरी र नेपाल प्रहरीका हवल्दार श्याम खड्कालाई जलाएर मारेको प्रमाण प्रहरीले बरामद गरेको जनाइएको छ ।
घटनाको निरीक्षणमा आएको महानिरीक्षकद्वयले टीकापुरमा भएको हिंसात्मक आक्रमणको घटनाका बारेमा स्थानीय प्रशासन तथा प्रहरी लगायतसँग जानकारी लिई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका थिए ।
स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले कानून विपरित कार्य गर्ने जो सुकैलाई कारवाही गर्ने बताए ।
तीन ओटै सुरक्षा प्रमुखको टोली समक्ष स्थानीयले आफूहरु अझै ढुक्कसँग बस्ने वातावरण नभएकोले उचित सुरक्षाको प्रबन्ध गरी हिडडुल गर्ने ब्यवस्था मिलाई दिन अनुरोध गरेका थिए ।
प्रतिउत्तरमा महानिरीक्षकद्वयले सवैलाई भरपर्दो किसिमको सुरक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताउदै उपस्थित सुरक्षा अधिकारीहरुलाई सर्वसाधरणको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका थिए ।
महानिरीक्षकसँगै नेपाल प्रहरीका एआईजी गणेश राई, सशस्त्र प्रहरीका एआइजी केके तामाङ पनि थिए ।
उता, घटनास्थल पुगेर राष्ट्रिय मानवअधिकार आयोगको टोलीले समेत अनुसन्धान थालेको छ । घटनाको अनुसन्धानका लागि आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा टोली टीकापुर पुगेको हो ।
थरुहट कार्यकर्ताहरुद्धारा टीकापुरमा आठ जना प्रहरीसहित एक बालकको हत्या भएपछि घटनाको छानविनका लागि पाठकको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको हो । टोलीले बिहीबार टीकापुर क्षेत्रका सरोकारवालाहरुसँग पनि छलफल गरेको थियो ।
छलफलका क्रममा सरोकारवालाहरुले टीकापुर क्षेत्रमा लगाएको कफ्र्यु दिनको २ घण्टा जति भएपनि खोल्ने बाताबरण बनाउन आग्रह गरेका छन् । लामो समयको बन्द र कफ्र्यूले नागरिकहरुको जनजिवन कष्टकर बन्दै गएको भन्दै उनिहरुले कफ्र्यू खुकुलो बनाउन आग्रह गरेका छन् ।
मेरो नाबालक छोरालाई गोली हानियोः नेत्रबहादुर
टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउदलाई आक्रमणकारीहरुले गोली हानी मारेको पीडित परिवारले बताएका छन् ।
टेकबहादुरलाई प्रहरी मारिएको एक घण्टापछि आक्रमणकारीले घर नजिकै आएर गोली हानेर हत्या गरेको मृतक बुबा नेत्रबहादुर साउँदले मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा महानिरीक्षकको टोली समक्ष बताए ।
‘घर नजिकैको बारीबाट गोली हान्न थालेपछि बरण्डामा रहेको टेकबहादुरई बहिनी दुर्गा कठायतले घरभित्र तानेर लग्दै थिए तर उ एकाएक गोली लागेर ढल्यो भने ।  सशस्त्र प्रहरीका हवलदार समेत रहेका नेत्रबहादुरले टेकबहादुरको टाउँको पछाडी गोली लागेको बताए । साभारः विश्वखवर


Read more ...

लन्डनमा नेपाली विद्यार्थी विश्वकै उत्कृष्ट


भाद्र ११, २०७२- लन्डनमा अध्ययनरत एक नेपाली विद्यार्थीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गरेकी छिन् । चितवन लंकु ६ स्थायी निवासी सिर्जना भण्डारी गौतमले गत जुनमा भएको एसीसीए पि वान -प्रोफेशनल लेभल) परीक्षामा विश्वभरका २१ हजार ३ सय ७ जना परीक्षार्थीलाई उछिन्दै ८९ स्कोरसहित प्रथम स्थान हासिल गरेकी हुन् ।
  'नतिजासहित एसीसीएको इमेल आउंदा त म शुरुमा आश्चर्यचकित भएं', कान्तिपुरसंग खुशी बांड्दै उनले भनिन्, 'मेरो सफलताका पछाडि लगाव र मिहेनत नै हो । अनि परिवारको प्रेरणा र साथ ।' नेपाल छंदा नै उनी पढाइमा अब्बल थिइन् । अर्किड कलेज चितवनबाट ए लेभल उत्तिर्ण भए लगत्तै सन् २०१० सेप्टेम्बरमा यूके आएकी सिर्जनाले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा ब्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेकी थिइन् ।

 'लन्डन आउने बित्तिकै शुरुतिर अलमल भयो', उनले विगत सुनाइन्, 'पढाउने तरिका फरक अनि यहांको संस्कृति र रहनसहन पनि । पछि विस्तारै एडजस्ट भएं ।' हाल लन्डनस्थित एउटा व्यवस्थापन कम्पनी 'एम एण्ड जी' की जागिरे उनी लन्डनमा जागिर अनि पढाइ एकसाथ लैजान सजिलो भने नभएको अनुभव सुनाउंछिन् । बाबा रामराज भण्डारी र आमा ताराकी सुपुत्री २५ वर्षीया सिर्जनाले भविष्यमा अकाउन्टिङमै करिअर बनाउने लक्ष्य लिएकी छिन् । उनलाई श्रीमान् विशाल गौतमको पनि साथ छ ।
Read more ...

कान दुखेर अस्पताल जाँदा भेटियो कानभित्र २६ वटा साङ्ला !

एक व्यक्ति कान दुखेपछि जचाउनका लागि अस्पताल पुगे । जब उनलाई चिकित्सकले चेकजाँच गरे, तब चिकित्सक समेत आश्चर्यमा परे । उनको कानभित्र साङ्लोको एउटा परिवार नै भेटियो अर्थात् साङ्लोले उनको कानमा घर नै बनाएको रहेछ ।
चीनको गोंगडोंग राज्यस्थित एक उद्योगमा काम गर्ने लि मध्यरातमा कान बेस्सरी दुखेपछि बिउँझिए । उनले दखेको कानभित्र औला हाल्दा केही भएको अनुभव गरे र उनका सँगै रहेका साथीलाई टर्च बालेर हेरिदिन आग्रह गरे । तर, उनका साथीले केही देखेनन् ।
१९ वर्षका ली भोलिपल्ट बिहानै जचाउँनाका लागि अस्पताल गए, त्यहाँ उनको इन्डोस्कपी गरियो र उनको कानमा साङ्लो बसेको भेटियो । एक साङ्लोले एक हप्ता अगाडि उनको कानमा आफ्नो बासस्थान बनाएकी थिइ र त्यही कानमा नै अण्डा पारेर २५ वटा बच्चा पनि जन्माएकी थिई । ली जचाँउन जाँदा ती साङ्लाहरू सानो लामखुट्टे जत्रा मात्र थिए ।
उनको कानबाट ती साङ्लाहरू विषेश प्रकारको औषधीको प्रयोग गरेर निकालियो । पछि चिकित्सकहरूले लीलाई अस्पताल नपुगेको भए, उसको कान नै प्वाल पर्न सक्ने सम्भावना रहेको बारे जानकारी गराएको सञ्चारमाध्मयले जनाएका छन् ।
Read more ...

१० हजार चल्ला बोकेको ट्रक पल्टिएपछि गाउँलेलाई यस्तो मोज

चीनको बिनझोयु प्रान्तमा १० हजार भन्दा बढि संख्यामा कुखुराका चल्ला बोकेर गुडिरहेको ट्रक अचानक सडकमा पल्टियो । ट्रक पल्टिएपछि त्यसभित्र रहेका चल्लाहरु सडकमा पोखिए र दौडिन थाले ।
सडकभरी चल्लाका बिस्कुन भरिएपछि ट्राफिक पुलिसले उक्त सडकमा गाडी चल्न नै रोक लगाइदियो । गाडी नचलेपछि पांग्राले चल्ला किच्न त पाएनन् तर चल्ला चोर्नका लागि मानिसहरुबीच होडबाजी मच्चियो ।
स्थानीय गाउँलेहरु सडकमा पोखिएका चल्ला चोर्नका लागि झुम्मिए ।
Read more ...

Thursday, 27 August 2015

वीरगन्जका एसपीमाथि पेट्रोल बम प्रहार

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिवेस लोहनीमाथि बुधबार राति मधेस केद्रीत दलका कार्यकताले पेट्रोल बम प्रहार गरेका छन्। वीरगञ्जको सुक्खा बन्दरगाह स्थित भन्सार कार्यलयबाट प्रहरी स्कटिङमा गाडी लैजाने क्रममा उनको भ्यानमाथि बम प्रहार गरिएको खबर आजको अन्नपूर्णमा छापिएको छ।

उक्त बम प्रहारबाट एसपी लोहनीको दायाँ हातमा चोट लागेको छ। दायाँ हातको कान्छी औला र हत्केलाको पछाडिपट्टीको भागको हड्डीमा चोट लागेका कारण प्लास्टर गरिएको छ।
Read more ...

थारु नेताको ठाडो चुनौती: “टीकापुरमै छु, हिम्मत छ भने मार !”

काठमाडौँ, १० भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हिम्मत भए आफुलाई मारेर देखाउन सरकारलाई ठाडो चुनौती दिएका छन् । उनले आज फेसबुकमार्फत ‘थारु सर्वसाधारणलाई कुट्ने र घरमा आगो लगाउने’ काम भएको भन्दै यस्तो चुनौती दिएका हुन् । ‘टीकापुरमै छु, हिम्मत छ भने मार हामीलाई। किन सर्वसाधारण जनतालाई कुट्छौ, किन थारुको घरमा आगो लगाउँछौं,’ उनले फेसबुकमा लेखेका छन्। उनले टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको शान्तिपुर्ण प्रतिरोध भएको उल्लेख गरेका छन्। ‘आन्दोलनमा कुनै घुसपैठ भएको छैन, थारु आन्दोलन जनताको शान्तिपूर्ण प्रतिरोध हो । उनले लेखकका छन् । साथै थारुले आफुहरुले हतियार उठाउन बाध्य नपार्न समेत चेतावनी दिएका छन् । आक्रोशित भावमा उनले प्रधानमन्त्री सुशील कोइराला, एमाओबदी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता शेर बहादुर देउवालाई ‘थारुले साच्चै हतियार उठाए के होला, याद गर ? भनेर आक्रोश पोखेका छन् ।
Read more ...

कैलाली घटनाबारे एसएसपी रमेश खरेलले मुख खोले

काठमाडौं, ८ भदौ । नेपालमा प्रहरीका चर्चित एसएसपी रमेश खरेलले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाबारे सक्षिप्त प्रतिक्रिया दिएका छन् । दैनिक नेपालसँग टेलिफोनमा कुरा गर्दै एसएसपी खरेलले कैलालीमा भएको घटना निन्दनीय भएको भन्दै घटनामा संलग्न अपराधीलाई कर्तव्य ज्यान मुद्दामा जेल हाल्नुपर्ने बताए । ‘मैले आइजीपी सापसँग पनि कुरो गरिसकेको छु, यस्तो क्रुर अपराध गर्नेलाई कर्तव्य ज्यान मुद्दामा आजीवन जेल हाल्नुपर्छ ।’ उनले भने ।

उनले घटनामा भारतीय अपराधिक समूहको समेत घुसपैठ भएको सुनिन आएकाले भारतीय प्रहरीको समन्वयमा छानविन गरी नेपाल प्रहरीले अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।
‘इण्डियन पुलिससँग संगठनको राम्रो समन्वय रहि आएको छ, यदि भारतबाट घुसपैठ भएको भने अपराधीहरुलाई पक्रेर इण्डियन पुलिसले नेपालको जिम्मा लगाउनुपर्छ । नेपाल ल्याएर उनीहरुलाई कडा भन्दा कडा सजायँ दिएर कारवाही गनृुपर्छ ।’

उनले घटनाको अनुसन्धानमा सबै पक्षले सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने धारणा राखे । यसैबीच एसएसपी खरेलले आफ्नो नामबाट फर्जी फेसबुक पेज बनाएर जथाभावी लेख्नेविरुद्ध कानुनी उपचारमा लागेको बताए ।
Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us