Monday, 26 September 2016

सडक छेउको जंगलमा ५ सय २६ राउन्ड गोली भेटियो

जाजरकोट ।जाजरकोट सदरमुकाम खलंगाको एक  सडक छेउमा अत्याधुनिक हतियारका गोली भेटिएको छ। खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा छरिएर रहेको अवस्थामा  ५२६ राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ।

सडक निर्माणको काम हेर्न गएका स्थानीयले काटोको छेउमा केही गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए। गोली भेटिएको क्षेत्रमा खोजी गर्दा ठूलो मात्रामा गोली भेटिएको प्रहरीले जनाएको छ।

थाप्लेचौर सडक छेउस्थित जंगलमा छरिएर रहेको अवस्थामा गोली भेटिएको  जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए। उनले ती गोली इन्सास राइफललगायतका अत्याधुनिक हतियारको भएको बताए।

 उनले युद्धका बेला माओवादी सेनाले भाग्ने क्रममा गोली छोडेको हुन सक्ने बताए। भेटिएका गोलीका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। द्वन्द्वका बेला माओवादीले सदरमुकाकाममा रहेका प्रहरी तथा सेनाका गस्ती र इकाइको आक्रमण गर्ने क्रममा भाग्दौड गर्दा गोली हराएको हुनसक्ने  अनुमान गरिएको छ।
Read more ...

त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेको मोबाइलबाट एसपीको मोबाइलमा फोन आएपछि

चितवन ।  जीप दुर्घटना हुँदा त्रिशुली नदीमा बेपत्ता भएका पूर्व मन्त्री तथा पूर्व मुख्य सचिव माधव घिमिरेको मोबाइलबाट चितवनका एसपी वसन्त कुँवरको मोबाइलमा सोमबार बिहान फोन आयो । बिहान ९ बजेर २२ मिनेट जाँदा एसपी कुँवरको मोबाइलको घण्टी बज्यो । उहाँले फोन उठाउँछु भनेर हेर्दा, माधव घिमिरेको नम्बर देखियो । झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटियो । 

यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो । उहाँले त्यसपछि फोन गर्ने प्रयास गरेपनि घरी लाग्ने, तर नउठ्ने घरी फोन नलाग्ने भयो । बेपत्ता रहेका घिमिरेको मोबाइलबाट फोन आएको कुरा आइतबारदेखि नै घटनास्थलमा रहनुभएका एसपी कुवँरले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई सुनाउनुभयो । 

त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो । खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला पर्‍यो । 

घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेसहित तीन जनाको अहिले पनि खोजी भइरहेको छ । नेपाली गोताखोरले त्रिशूली नदीको २६ मिटरसम्म खोजी गरेको थियो। तर, नदीमा पानी अत्यधिक रहेका कारण २६ मिटर तल पस्दा पिँधसमेत फेला पार्न सकेको छैन् र 
Read more ...

यस्ता ज्योतिषी जो युवतीको छाती सुम्सुम्याएर भविष्य पत्ता लगाउँछन्

काठमाडौं । वर्तमानदेखि विरक्त प्रायः मान्छेहरू भविष्य जान्न चाहन्छन् । मान्छेले सदियौँदेखि त्यही ‘भविष्य पत्ता लगाउने’ अनेक खालका तरिकाहरू प्रचलनमा ल्याएको छ जसमा हात हेर्ने, जन्म कुण्डलिनी हेर्न लगायतका अनेक तरिका छन् । 

तर एउटा अनौठा ज्योतिषी भेटिएका छन् जो महिलाहरूको भविष्य जान्नका लागि उनीहरूको स्तन मुसार्ने गर्दछन् । चीनको एउटा भिडियो सेयरिङ साइटमा पोष्ट भएको एउटा भिडियो दृश्यलाई आधार मान्ने हो भने एक झाँक्री एउटी युवतीको स्तनभित्र हात पु(याएर उनको भविष्य बताइरहेका देखिन्छन् । भिडियोमा युवतीले अप्ठेरो मानेझैँ देखिन्छ । 

चीनको भिडियो सेयरिङ वेबसाइट ‘मियाओपाई’मा उक्त भिडियो पोष्ट भएको हो । झाँक्री एउटा हातले युवतीको स्तनभित्र हात घुसारिरहेका छन् भने अर्कोतर्फ उनले दुईवटा वैशाखीसमेत लिएको देख्न सकिन्छ । उनले यो काम धेरै मान्छेहरूकै बीचमा रहेर गरेको देखिन्छ । युवतीले झाँक्रीको भविष्य पत्ता लगाउने तरिकालाई उति रुचाएको भने देखिन्न । युवतीपछि अन्य केही मान्छेहरू समेत भविष्यवाणी सुन्न उत्सुक भएर आफ्नो पालो पर्खेजस्तो समेत देखिन्छ । 
Read more ...

हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने योजनाको विरोधमा पोखराबाट सुरु भयो आन्दोलन

काठमाडौं । हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टीकापुर घटनाका दोषीहरुलाई उन्मुक्ति दिने, नेपाल सरकार र भारतीय दुतावासलाई समान स्तर बनाउने, विदेश मामलामा नेपाल र भारतको एउटै धारणा हुनेछ भनी प्रचण्ड सरकारले हालै भारतसँग गरेको सम्झौता खारेजीको माग सहित अनेरास्ववियु त्रिबि जिल्ला कमिटिले खबरदारी जुलुस निकालेको छ । पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु भएको जुलुस, बिन्ध्यवासिनी चोक, माथिल्लो क्याम्पस गेट हुदै पुनः पृथ्वीनारायण क्याम्पस गेट अगाडि आएर कोण सभामा परिणत भएको थियो । 

जुलुसमा सहभागी विद्यार्थीहरुले हाम्रो भाषा हाम्रो देश प्राण भन्दा प्यारो छ, कठपुतली सरकार मुर्दावाद, कैलाली हत्याकाण्डका दोषिलाइ कारबाही गर लेखिएका प्लेकार्ड बोक्दै नारा लगाएका थिए ।   कोण सभालाइ सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायले वर्तमान सरकारले भारतसँग  गरेका सम्झौता राष्ट्रघाती भएको बताउदै सरकारका गलत कदम विरुद्ध अनेरास्ववियुले आन्दोलनको सुरुवात गरेको बताए ।

Read more ...

Sunday, 25 September 2016

फक्रिँदै प्रेमः फिल्म हलमै सौगात र सृष्टिको डेटिङ !

काठमाडौं । सोनी केसीसँगको ब्रेकअप पछि अभिनेता सौगात मल्ल अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अफेयरमा रहेको गसिप बजारमा राम्रै चर्चा चल्यो । पोखरामा सुटिङ सेटमै सौगात भेट्न सृष्टि पुगेको देखी काठमाडौंमा अनेक ठाउँमा भेट गरेको चर्चा चलिरहँदा  दुबैले मिडियामा भने प्रेममा नरहेको दाबी गर्दै आएका थिए । 

तर आईतबार यो सबैकुरा प्रष्टिएको छ कि सौगात र सृष्टि प्रेममा छन् । आईतबार दिउँसो दुबै जना राजधानीको कुमारी हलमा भेटिए  । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म झूम्कीु को साढे तीन बजेको शो हेर्न दुबैजना हलमा पुगेका थिए । 

फिल्म सुरु भईसकेको १५ मिनेटमा हतारिँदै अनि कसैले नदेखोस जस्तो नियतमा पुगेका सौगात र सृष्टि टिकट काटे अनि सोहि पारामा हतारिँदै हलमा छिरे ।  टिकट काउण्टरमा सृष्टिले पैसा तिर्न खोज्दा बायाँ हातले रोक्दै दायाँ खल्तिबाट पैसा निकालेर सौगातले तिरेका थिए । 

सौगात रातो कलरको सर्टमा र कालो क्यापमा पुग्दा सृष्टि ब्राउनु कलरको टिसर्ट र जिन्स पेन्टमा थिईन् ।  हलमा छिर्दै गर्दा सेक्युरिटीले चेक जाँचको लागी रोके, सोहि समय सौगात छिरेकै ठाउँबाट पुरुष छिर्ने ठाउँबाटै सृष्टि पनि हलमा ईन्ट्री भईन् ।

त्यसपछि ४ बजेर १३ मिनेटमा सौगात एक्लै पुनः तल झरेर कोल्ड ड्रिङस र पपकर्न किनेर आफैले बोकेर हल छिरे । ईन्ट्रभलमा पनि बाहिर ननिस्केका दुबै जना फिल्म सकिएपछि पनि सोहि पाराले हतारिँदै हलबाट बाहिरिएका थिए । 

सृष्टि निकट श्रोतका अनुसार सौगातलाई आफ्नै गाडीमा लिएर सृष्टि फिल्म हेर्न पुगेकी थिईन् । सिटी सेन्टरको पार्किङमा गाडी रोकेर उनिहरु कुमारी हल पुगेको बताईन्छ। शुक्रबार मात्रै राजधानीमा आयोजित एक कार्यक्रममा सृष्टिसँगको अफेयरको बारेमा मिडियाले गरेको प्रश्नमा उठबस गर्दैमा प्रेम नहुने बोलेका सौगात र सृष्टिसँगको रियल प्रेम आईतबारको दृश्यले छर्लङ्ग बनाएको छ ।

त्यसो त केहि हप्ता पहिले पनि सौगातकी पुर्व प्रेमी सोनी केसीले सृष्टिलाई लक्षित गर्दै फेसबुकमा स्टाटस लेखेर आक्रोस पोखेकी थिईन् । गाजलुु डेब्यू हिरोईन सृष्टिले फिल्म रिलिजको समयमा मिडिया माझ सौगात मल्ल मन पर्ने र उनिसँग डेट जान चाहेको ईच्छा व्यक्त गरेकी थिईन् । 

त्यस यता सृष्टिले नै सौगातलाई फलो गरेको र मायाँजालमा पारेको बताईन्छ । जुन कुरा पोखरामा यी दुईले गरेको भेट तथा काठमाडौंमा पनि एक फिल्मको सुटिङमा समेत ट्याक्सी लिएर सृष्टि पुग्दै भेटे गर्दै फर्किदै गरेको प्रसंगले सृष्टि र सौगातको प्रेम झाङ्गिँदै गरेको बुझ्न गार्हो छैन् ।

त्यसो र माथी उल्लेखित तश्विरमा सृष्टिले बालुवामा  लेखेको (एस लभ एस) अर्थात स प्रेम स सहितको दृश्यले पनि सौगातसँग सृष्टिको प्रेमको छनक दिन्छ ।
Read more ...

डन्डीफोरले सतायो ? यसरी हटाउनुहोस्

काठमाडौं । सुन्दर र चम्किलो छालाको चाहना हरेक महिलालाई हुन्छ। तर, अनुहारमा आउने डन्डीफोरले तपाईंको सुन्दरतामा दाग लगाइदिन्छ। डन्डीफोर छिटै निको पनि हुँदैन। केही घरेलु उपाय अपनाएर डन्डीफोरबाट छुटकारा पाउन सकिन्छ।

ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ गुणकारी छ। यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। एक कप पानीमा ल्वाङ उमाल्ने। पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र अनुहारमा डन्डीफोर भएको ठाउँमा लगाउने। आधी घण्टासम्म राख्ने। सुखेपछि चिसो पानीले अनुहार धुने। यसो गर्दा डन्डीफोर हटेर जान्छन्।

मह
धेरै कम मानिसलाई थाहा छ कि महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने। १५ मिनेटपछि चिसो पानीले धुने। चिसो दूधले पनि अनुहार धुन सकिन्छ। यसले डन्डीफोरको समस्याबाट छुटकारा त दिलाउँछ नै तपाईंको छाला चम्किलो पनि बनाउँछ।

केराको बोक्रा
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

गोलभेँडा
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्दा यसले छिट्टै फाइदा दिन्छ।

चन्दन पाउडर
चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागती केही थोपामात्रै राख्ने। धेरै राख्न यसले पोल्न सक्छ। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने। र, डन्डीफोरबाट छुटकारा पाउने।

बाफ लिने
बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

Read more ...

बलिउडमा कार्यरत पाकिस्तानी कलाकारलाई भारत छाड्न लगातार धम्की

मुम्बई ।  बलिउडमा कार्यरत पाकिस्तानी कलाकारलाई भारत छाड्न धम्की दिइएको छ । राज ठाकरे नेतृत्वको महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) ले भारतमा रहेका पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छाड्न धम्की दिइएको हो । शिव सेनाबाट अलग्गिएर बनेको एमएनएसले हिन्दु एवं मराठीहरुको पक्षमा वकालत गर्दै आएको छ ।

भारत र पाकिस्तानबीच पछिल्लो समय बढेको तनावलाई निहुँ बनाएर सो दलले भारतमा रहेका पाकिस्तानी कलाकारलाई भारत छाड्न चेतावनी दिएको हो ।

भारतमा फवाद खान, अली जाफर, महिरा खान लगायतका पाकिस्तानी कलाकार कृयाशील छन् ।

एमएनएसका अनुसार ४८ घण्टाभित्र पाकिस्तानी कलाकारले भारत नछाडे उनीहरुमात्र नभई ती कलाकारलाई काम दिने निर्माता–निर्देशकलाई समेत निशाना बनाइने भएको छ । सो दलले महाराष्ट्रमा कार्यरत उत्तर भारतीयमाथि समेत बेलाबखत आक्रमण गर्दै आएको छ ।

Read more ...

कसरी भयो पूर्वगृहमन्त्रीको गाडी दुर्घटना ? यस्तो रहेछ कारण

काठमाडौं । पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कोर्पिओ गाडी आइतबार अपराह्न पौने पाँच बजेतिर चितवनको दारेचोक गाविस–३ खोप्टेभीरमा दुर्घटनामा परेको छ । घिमिरेसहित सातजना सवार गाडी पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा तीनजनाको मृत्यु भएको छ । पूर्वगृहमन्त्री घिमिरे, उनका भाइद्वय मोहन र प्रकाश त्रिशूलीमा बेपत्ता भएका छन् । गाडी चालक प्रहरी हबल्दार विष्णु राई गम्भीर घाइते भएका छन् ।

चिवतन प्रहरीका अनुसार मुस्ताङबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटना हुँदा पूर्वगृहमन्त्री घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरू तीनैजनाको शव त्रिशूली नदीकिनारमा फेला परेको उद्धारकार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापाले जानकारी दिए ।

गम्भीर घाइते चालक राईलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो । राईको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वगृहमन्त्री घिमिरे सोह्र श्राद्ध पारेर मुस्ताङको कागबेनीमा आफ्नो बुबाको श्राद्ध गरी आमालाई मुक्तिनाथ मन्दिर दर्शन गराई घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् । बेपत्ता हुनेमा पूर्वगृहमन्त्री घिमिरे, उनका भाइ प्रकाश र काकाका छोरा मोहन छन्। आइतबार रातिसम्म बेपत्ता भएकाहरू फेला पर्न सकेका छैनन् ।

कसरी भयो दुर्घटना 
पृथ्वी राजमार्गस्थित खोप्टेभीर पुलनजिकै आइपुग्दा अगाडिको गाडीलाई ओभरटेक गरेर लेन समात्ने क्रममा पुलको बारमा गाडी ठोक्किएर त्रिशूली नदीमा खस्न पुगेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै उद्धारमा खटिएका एक प्रहरीले बताएका छन् । ‘मेरो आँखैअगाडि पुलको बारमा ठोक्किएर गाडी बायाँतर्फ त्रिशूली नदीमा खस्यो’, प्रत्यक्षदर्शी अर्को गाडीका चालकलाई उधृत गर्दै ती प्रहरीले भने, ‘दुर्घटनामा परेको गाडीले त्योभन्दा अगाडिको गाडीलाई ओभरटेक गरेर आफ्नो साइडमा लेन समात्न लाग्दा गाडी पुलको बारमा ठोक्किएको थियो ।

गाडी बारमा ठोक्किएपछि उछिट्टिएर भीरमा ठोक्किँदै त्रिशूलीमा खस्यो ।’ गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल नदीमा खसेको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक राईले दुर्घटनाका बेला गाडी आफूले नभई पूर्वगृहमन्त्री घिमिरेले नै चलाएको बताएका छन् । ‘दमौलीदेखि गाडी उहाँले नै चलाउनुभएको थियो’, उद्धारमा खटिएका प्रहरीसँग कुराकानी गर्ने क्रममा चालक राईले भनेका थिए, ‘दमौलीमा आइपुगेपछि गाडी रोक्न लगाउनुभयो । मलाई चालकको सिट खाली गर्न भन्नुभयो ।

तिमी थाकेका हौला, कुरिनटारसम्म म गाडी चलाउँछु । त्यसपछि तिमीले चलाउनु भन्नुभयो ।’ विडम्बना १ कुरिनटार आउन अढाइ किलोमिटर जति बाँकी रहेको ठाउँमा गाडी दुर्घटनामा पर्‌यो । घटनास्थल खोप्टेभीर मुग्लिन र कुरिनटारको मध्यक्षेत्रमा पर्छ । प्रहरीका अनुसार उनी आफू भने उछिट्टिएर बाँचेका थिए । 
Read more ...

मुगुका स्वादिला स्याउहरु बजार नपाएर गाईभैसीका कुँडो बने

काठमाडौं लगायत देशभरका शहर बजारमा विदेशी स्याउको हालीमुहाली छ । तर आफ्नै मुलुक भित्र फलेका स्याउहरु भने बजार नपाएर विचल्ली बनिरहेका छन् । विशेषत नेपालको हिमाली क्षेत्रमा फलेका स्याउको स्वाद नै विछट्टै मीठो मानिन्छ र सस्तो पनि । तर आम नेपालीका लागि नेपालकै हिमाली क्षेत्रहरुको स्याउ ‘लंकामा सुन छ, कान मेरो बुच्चै’ भने झै भएको छ भने स्याउ फलाउने किसानहरु चिन्तामा डुबेका छन् ।

नेपालमा स्याउका लागि उर्वर भूमि मानिएको कर्णाली अञ्चल त्यसमाथि पनि मुगुका स्याउहरु अहिले बोटमै कुहिने अवस्थामा पुगेका छन् । मुगु जिल्लाको सबै भन्दा बढी स्याउ उत्पादन हुने क्षेत्र मानिएको कार्कीबाडाको ताल्चा ,सोरुको सोरुकोट ,रोवाको शोभा ,रुगाको वाममा लगाएका स्याउ बजारको पहुँच भन्दा टाढा भएको कारण त्यतिकै खेर गएका छन । टिपिएका स्याउहरु पनि आफन्तलाई कोसेली कि त गाइभैसीलाई कुडो बनाएर खान दिने गरेको रुगा गाबिस बाम गाउँका कृषक कर्णबहादुर बोहोरा बताउनु हुन्छ ।

प्रत्येकको घरमा अहिले ५ देखि १० क्विटल स्याउ उत्पादन भएको स्थानीय कृषकहरुको भनाई छ । तर सदरमुकाम गमगडी बजार पु—याउन सहज माध्यम नहुँदा समस्या परेको छ । कच्ची बाटोका कारण स्याँउ कुहिएर जाने गरेको र स्थानीय बजारमा उचित मूल्य समेत नपाउने गरेका ताल्चाका कृषक रामभक्त रोकायाको गुनासो छ ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार गत वर्ष मात्र मुगु जिल्लामा २ सय ७५ टन स्याउ उत्पादन भएको थियो । गत वर्ष जिल्लाभित्र नै ४० हजार बराबरको स्याउ विक्रि गरेको र बाँकी सबै खेर गएको कार्कीवाडा गाविस वडा नम्बर २ की राजमाया रावल बताउनु हुन्छ ।

अहिले मुगुमा होलसेलमा २५ रुपैयाँ देखि ४० रुपैयाँ प्रति केजी स्याउ विक्रि भईरहेको छ । सदरमुकाम गमगढी बजारमा के।जी को दरले स्याउ बिक्रि नगरी प्रति दानाको रु ५ देखि दश रुपैया सम्मले बिक्रि भइरहेको छ । आत्मनिर्भरताको नारा दिएर नथाक्नेहरुले मुगुको किसानका मेहेनतको सम्मान गरे देशभरका नागरिकहरुले त्यहाँको स्याउको स्वाद चाख्न पाउने थिए ।
Read more ...

तीन वर्षमा २२ हजार गरिबले लगे राज्यबाट उपचार खर्च

काठमाडौं । सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक उपचार कोषबाट तीन वर्षमा २२ हजार तीन सय ४१ जनाले उपचार गराएका छन् ।

आर्थिक वर्ष ०७० र ७१ मा आठ हजार दुई सय १३, ०७१र७२ मा ६ हजार ९५ र ०७२र७३ मा आठ हजार ३३ जनाले सरकारी उपचार खर्च पाएका हुन् । सबैभन्दा धेरै उपचार खर्च लानेमा क्यान्सर रोगी सरकारले छुट्याएका आठ प्रकारको गम्भीर रोगमध्ये सबैभन्दा बढी क्यान्सरका बिरामीले विपन्न नागरिक उपचार कोषबाट उपचार गराएका छन् ।

कोषअन्तर्गतको व्यवस्थापन महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार तीन वर्षमा नौ हजार तीन सय ७० जनाले क्यान्सरको उपचार गरेका छन् । ०७०र७१ मा चार हजार ४९ जनाले उपचार खर्च लगेकोमा ०७१र७२ मा २७ सय ४४ जना र गत वर्ष २५ सय ७७ जनाले उपचार खर्च लगेका छन् ।

अन्य रोगको उपचार खर्च लैजानेमा घटबढ भए पनि क्यान्सरको उपचारका लागि पैसा लैजानेको संख्या क्रमशः घट्दै गएको सचिवालयका स्वास्थ्य कार्र्यकर्ता प्रकाश घिमिरे बताउँछन् । सरकारले क्यान्सर रोगको उपचार गराउन एक व्यक्तिलाई एकपटकका लागि एक लाख दिँदै आएको छ ।

विपन्न नागरिक उपचार कोषबाट उपचार खर्च लैजानेमा दोस्रो नम्बरमा मिर्गौलाका बिरामी रहेका छन् । तीन वर्ष अवधिमा ६ हजार दुई सय ६६ जना मिर्गौला रोगीले सरकारबाट पाउँदै आएको उपचार खर्च लगेका छन् ।
Read more ...

पूर्वगृहमन्त्री घिमिरेको अवस्था अझै अज्ञात, खोजीकार्य जारी

चितवन । त्रिशुली नदीमा जिप खसेर वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका भाइहरुको खोजीकार्य जारी राखिएको छ ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

जीप पूर्ण रुपमा नदीमा डुबेको कारण खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । आइतबार राति १ बजेसम्म दुर्घटना भएको स्थलमा गाडीको र हराएकाहरूको खोजी गरिएको थियो ।

म्याग्नेटको समेत प्रयोग गरी जीप खोजीएको भएपनि फेला नपरेको चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले बताए । प्रहरीले २ टोली बनाएर मुग्लिन तर्फबाट खोज्न थालेको छ । नदीमा पानीको बहाव उच्च भएका कारण दुर्घटना स्थलभन्दा तलबाट खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ ।
Read more ...

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो, ४ को उद्धार, घिमिरेको अवस्था अझै अज्ञात

चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार कार आइतबार साँझ त्रिशुली नदीमा खसेको छ ।मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको कार आइतबार साँझ घोप्टेभिर भन्ने स्थानबाट पाँच बजेतिर सडकबाट त्रिशुली नदीमा खसेको थियो ।

घटनास्थल नजिक एकजना असइको शव फेला परेको छ । चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार दुर्घटनास्थलबाट एक महिलासहित चारजनाको उद्धार गरिएको छ । तर, घिमिरेको अवस्था भने अज्ञात छ ।

कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको कुँवरले जानकारी दिए ।उद्धारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन उद्धार टोली परिचालन गरिएको छ ।
Read more ...

एक वर्षमा बालुवाटारमा नेताहरुले खाए १ करोड ४० लाखको चियाखाजा

काठमाडौं । केपी शर्मा ओली १० महिना र पुष्पकमल दाहाल प्रचण्ड १ महिना २० दिन प्रधानमन्त्रीको रूपमा  बालुवाटारमा बस्दा  त्यहाँ   हुने गरेका  बैठकमा खाजानास्ता शीर्षकमा मात्रै १ करोड ३९ लाख ६९ हजार ३ सय ६१ रुपैयाँ खर्च भएको पाइएको प्रचण्ड  प्रधानमन्त्रीको रुपमा अझैं बालुवाटारमै छन् ।

बालुवाटार स्रोतले दिएको विवरण अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको १० महिने कार्यकालमा बालुवाटारमा भएको बैठकको चिया–नास्तामा मात्रै १ करोड ३४ लाख ४ हजार ८१ रुपैयाँ खर्च भएको पाइएको छ ।

२०७२ असोज २४ गते देखि २०७३ साउन १९ गतेसम्म  प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको पालामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विभिन्न मितिमा बसेको बैठकको खाजा शीर्षकमा उक्त रकम खर्च भएको हो ।

यस्तै   प्रचण्डको कार्यकालमा पनि हालसम्म  विभिन्न मितिमा भएको बैठकमा चिया–नास्तामा ५ लाख ६५ हजार २ सय ८० रुपैयाँ खर्च भइसकेको छ । बालुवाटारमा विभिन्न मितिमा बुद्धरत्न खाद्यान्न सप्लायर्स प्रा.लि र अनमोल क्याटरिङ सर्भिस प्रा।लिले खाजा नास्ता सप्लाई गरेका थिए ।

उनीहरुले विभिन्न मितिमा रकम भूक्तानी लिएका छन् ।


Read more ...

दसैँ नजिकिँदै गर्दा डोल्पालीलाई खाद्यान्नको चटारो

डोल्पा ।  नेपालीको महान् चाड दसैँ नजिकिँदै गर्दा डोल्पालीलाई भने खाद्यान्नको चटारो बडेको छ । खाद्य संस्थानले हरेक वर्ष दसैँ का लागि सहुलियतमा खाद्यान्न वितरण गर्ने गरे पनि यसपालि समयमै खाद्यान्न ढुवानी हुन नसक्दा खाद्यान्नको चटारो बडेको स्थानीयवासी लवचन्द्र रोकाय बताउनुहुन्छ ।

संस्थानले चामल, नुन लगायतको खाद्यान्न ढुवानी भइसकेको बताए तापनि खाद्य डिपोमा अझै पुगेको छैन । जिल्ला खाद्य व्यवस्था समितिले यस आर्थिक वर्षको चामल ढुवानीका लागि तदारुकता नदेखाउँदा खाद्यान्न ढुवानीमा ढिलाइ भएको हो ।

चामल नेपालगन्ज, दाङ, सुर्खेत लगायतका जिल्लाबाट ठेकेदारले उठाइसकेको र दसँैअघि नै दुनै र जुफाल डिपोबाट चार गाविसका सर्वसाधारणलाई एक महिना बराबरको खाद्यान्न उपलब्ध गराउने समितिका अध्यक्ष्यसमेत रहनुभएका प्रजिअ चेतबहादुर बरालले जानकारी दिनुहुन्छ । तल्लो डोल्पाका सर्मी, कालिका, काइगउँ, लिकु लगायतका डिपोमा खाद्यान्न मौज्दात शून्य हुनुका साथै ढुवानीको व्यवस्थासमेत नभएकाले यसपालि दसैंमा खाद्यान्न नपाइने पक्का भएपछि सर्वसाधारणमा निराशा छाएको स्थानीयवासी भक्तबहादुर बुढाको गुनासो छ ।

सहुलियतको चामल नपाइने भएपछि स्थानीय बजारमा सर्वसाधारण महँगो मूल्य तिरेर चामल, नुन लगायतका खाद्यवस्तु किन्न बाध्य भएको उहाँले बताउनुहुन्छ । उपल्लो डोल्पामा भने चीनको क्याटु लगायतका नाकाबाट चार हजार पाँच सय क्विन्टल खाद्यान्न ढुवानी गरेर भदौ अन्तिम साता नै वितरण गरी सकिएको खाद्य संस्थानको शाखा कार्यालयले जनाएको छ ।
Read more ...

एमालेमा मच्चियो उत्पात ! ओली, नेपाल र खनाललाई तनाव

काठमाडौं । नेकपा एमालेभित्र अब नेताहरुलाई देशभरी स्वतन्त्र गतिविधि र गुटको राजनीति गर्न नपाइने भएको छ । यस्तो नीतिले एमालेमा उत्पात मच्चिएको छ ।  नेकपा एमाले अध्यक्ष केपी ओलीको गाठोले नेताद्धय माधव नेपाल, झलनाथ खनाल र बामदेब गौतमलाई थाल खाउँकी भात खाउँ जस्तै भएको छ ।

एमाले भित्र  अध्यक्ष भए पनि निकै कमजोर बन्दै गएका ओलीले फेरि आफ्नो शक्ती बढाउन दुई नेता कस्ने रणनीति अगाडि बढाएका हुन् ।

पार्र्टीका बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल र बामदेब गौतमले पनि आफ्नो क्षेत्रबाहेक अन्य क्षेत्रमा पार्टी अध्यक्ष केपीओलीको अनुमति लिएर कार्यक्रम गर्नु पर्ने भए पछि एमाले भित्र खैलाबैला मच्चिएको हो । पार्टीभित्र मौलाएको गुटबन्दी रोक्न पार्टीको नियमावली नै संशोधन गर्दै एमाले कठोर बनेको हो ।

एमाले सचिव प्रदीप ज्ञवालीले हिजो सबै निर्णय गुटसँग जोडिएका अब त्यो हटाउन र एमाले एमाले बन्न यसो गरिएको बताउछन् । उनले नेताहरु देशभरी जहाँ पनि जान पाइने तर सम्बन्धित जिल्लाको इन्चार्ज वाहेक अरुले संगठनका गतिविधिमा चासो राख्न नपाइने बताए ।

आन्तरिक कार्यक्रम गर्दा जो सुकैले पनि पार्टी संगठन पद्धति र अध्यक्षको अनुमति लिनुपर्ने बताए । केन्द्रदेखि जिल्ला हुँदै क्षेत्रसम्म र हरेक जनवर्गीय संगठनमा गुटबन्दी मौलाएपछि एमाले नेतृत्व कठोर बन्दै नियमावली नै संशोधन गर्ने निर्णयमा पुगेको हो ।

केन्द्रीय कमिटीको बैठकले गुटबन्दी रोक्न १० बुँदे विशेष प्रस्ताव पारित गर्दै नियमावली संशोधन गर्ने निर्णय गरेको ज्ञवालीले बताए ।

एमालेले गुटको आधारमा प्यानल बनाएर निर्वाचन लड्न पनि निषेध गरेको छ । पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि १० बुँदे विशेष प्रस्ताव पारित गर्दै प्यानलमा निर्वाचन लड्न नपाइने व्यवस्था गरिएको उनले बताए । 

Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us