Friday, 28 August 2015

यु–१९ साफ फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिडदै

काठमाडौं, भदौ १२ । पहिलो अन्डर नाइन्टिन साफ च्याम्पियन्सिप फुटबल प्रतियोगिताको उपाधिका लागी शनिबार (आज) आयोजक नेपाल र भारत भिड्दै छन् । सातदोबाटो स्थित एन्फा कमप्लेक्सको मैदानमा दिउसो ३ बजे देखि फाइनल भिडन्त सुरु हुने छ । प्रतियोगिताको सेमिफाइनलमा नेपालले अफगानिस्तानको चुनौति पन्छाएको थियो भने भारतले बंगलादेशलाइ पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त तय गरेको थियो । आज नेपाली टोलीले भारतलाई पराजित गर्दै उपाधि जितेको खण्डमा नेपाली फुटबल जगतमा २२ बर्ष देखिको उपाधि खडेरी तोडिने छ । सन् १९ सय ९३ मा छैटौ दक्षिण एसियाली खेलकुदमा भारतलाई फाइनलमा हराउँदै नेपाली फुटबल टोलीले स्वर्ण पदक जितेको थियो । त्यसयता नेपाली पुरुष फुटबल टोलीले कुनै पनि उपाधि जित्न सकेको छैन । तर दक्षिण एसियाली फुटबलको ‘पावर हाउस’ भारतलाई हराउन नेपाली टोलीलाई सजिलो भने हुने छैन । दक्षिण एसियाको सर्बाधिक सफल फुटबल इतिहास बोकेको भारत पनि नेपाली टोलीलाई घरेलु मैदानमा ‘जिल्याउदै’ उपाधि घर लैजाने दाउमा छ । पछिल्लो समय महत्वपुर्ण प्रतियोगितामा भारत नेपालको लागी तगारो बन्ने गरेको छ । यस्तो अवस्थामा नेपाली टोलीसँग घरेलु मैदानमा भारतसँग बदला लिंदै ऐतिहांसिक उपाधी पोल्टामा पार्ने मौका छ । यसका लागी नेपाली खेलाडीहरुले संयमित प्रदर्शन गर्न आवश्यक छ । प्रतियोगितामा कमजोर देखिएको नेपाली डिफेन्सलाइनले आज सुधारिएको प्रदर्शन गर्न सके तथा बिमल घर्तीमगर, अन्जन बिष्ट, अनन्त तामाङ लगायतका भरोसा गरिएका खेलाडीहरुले आफ्नो भुमिकालाई न्याय गर्न सके नेपाली टोलीले घरेलु मैदानमा नयाँ इतिहास रच्न सक्ने छ ।
Read more ...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन धुमधामले मनाइँदै

श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ ।
प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।

यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराए।

“शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी ९ब्राह्मण, क्षेत्री, वैश्य० वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे ९समाप्ति०को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ,” उनले भने –“यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।”

तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।

यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।

खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।
Read more ...

सेना परिचालनको पिपक्षमा खुलेरै लागेका राष्ट्रपति एक्लिए

सेना परिचालनको विपक्षमा खुलेरै लागेका राष्ट्रपति रामवरण यादवका लागि सर्वोच्च अदालतको शुक्रबारको कदम नैतिक र राजनीतिक पराजयका रूपमा आएको छ।

सर्वोच्चका प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सेना परिचालनविरुद्धको रिट खारेज गरेपछि कार्यकारीको निर्णयले अप्रत्यक्ष रूपमा अनुमोदन पाएको छ। सर्वोच्च अदालतले दंगाग्रस्त कैलाली, रौतहट र सर्लाहीसहितका क्षेत्रमा सेना परिचालन गर्ने सरकारको निर्णय अवैध रहेको दाबीसहित दायर रिटलाई शुक्रबार पहिलो सुनुवाइमै खारेजीको निर्णय गरेको हो। आजको अन्नपूर्णमा खबर छापिएको छ।

प्रधानन्यायाधीश श्रेष्ठको एकल इजलासले उक्त विषयमा न्यायिक हस्तक्षेप गर्न नमिल्ने भन्दै शुक्रबार रिट खारेजीको फैसला सुनाएको थियो। राष्ट्रपति रामवरण यादवले शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरूसँग सेना परिचालन असंवैधानिक भएको र त्यससम्बन्धी निर्णयमा आफूलाई सरकारले बाइपास गरेको गुनासो गरेका थिए।

प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति यादवलाई कैलाली र दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गरिएको नभएर आवश्यक पर्दा प्रशासनलाई सहयोग पुर्‍याउन सेनाको सेवा लिइएको स्पष्टीकरण दिएको २४ घन्टा बित्‍न नपाउँदै राष्ट्रपतिको गुनासो सार्वजनिक भएको हो।
Read more ...

नेपाली चेलीको बयानले कुबेती अदालत स्तब्ध


भाद्र ११, २०७२- अदालतको कठघरामा उभ्याइदासम्म उनी निकै डराएकी थिइन् । होचो कद र पातलो शरीरकी उनको अनुहारलाई बुर्काले ढाकेको थियो । आँखा मात्रै देखिन्थ्यो । न्यायाधीशले बयान लिन अनुमति दिएपछि दोभाषे बाराका केदारनाथ खरेल अगाडि गएर उभिए ।

'तिमीलाई बलात्कार भयो भनेर प्रहरीले मुद्दा दायर गरेको छ,' कुबेती वकिलले भनेपछि अरबी भाषालाई नेपालीमा अनुवाद गर्दे खरेलले उनलाई प्रश्न गरे, 'बलात्कार कसरी हुन गयो ?'
 २७ बर्षीया युवतीले तुरुन्तै जवाफ दिइन् । जब उनले जवाफ दिन थालिन् उनका आँखाबाट आँशुका ढिक्का खस्न थाले । अदालतभरी उनको सुँक्क सुँक्क आवाजमात्रै सुनियो । टाउको छोपेको सलले उनले आँखा र मुख छोप्न थालिन् । तर, पीडालाई लुकाउन सकिनन् । उनको रुवाईको आवाज झन् बढ्यो । उनको रुवाईले अदालत स्तब्ध भयो । केहीबेरका लागि अदालती सुनुवाई पनि प्रभावित भयो । न्यायाधीशदेखि अन्य उपस्थित ब्यक्तिहरु स्तब्ध थिए । निकैबेर अदालतमा उनको सुक्क सुक्क मात्रै सुनियो । बाँकी अदालत मौन रह्यो । मौनता चिर्दै फेरि खरेल बोले, 'बहिनी डराउनु पर्दैन । तिम्रो साथमा हामी छौं । साँचो कुरा बताइदेऊ ।' उनले आँशु पुछिन् । 'दिनभरिको कामले थाकेर चल्न पनि नसक्ने भएर म सुतिरहेको थिएँ,' बल्ल उनको ओठ चल्यो, 'केही गहुँगो बस्तु आएर थिचेजस्तो लाग्यो ।' त्यो गहु्रङगो वस्तु उनले काम गर्ने घरको मालिक्निको छोरा थियो । 'म चिच्याउन खोजें, उसले मेरो घाँटी थिच्यो,' यति भनेर उनी फेरि रोइन् । उसले उनलाई कराए मारिदिने धम्की दियो । 'म ऊसामु आत्मसमपर्ण गर्न बाध्य भएँ,' उनले भनिन् ।

 खरेलले उनको बयानलाई जस्ताको तस्तै अरबीमा न्यायाधीश सामु बताइदिए । उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएर बलत्कार गरिएको थियो । दुई तले घरको छतमा उनको कोठा थियो । कोठामा चुकुल थिएन । मालिक्नीका अरु पनि छोरा थिए । केही पहिले अर्को छोराले पनि उनको कोठामा छिर्ने प्रयास गरेको थियो । त्यतिबेला मालिक्नीले थाहा पाएर छोरालाई गाली गर्दै लगेकी थिइन् ।

घरेलु कामदारका रुपमा सात महिना अघि मात्रै उनी कुबेत आइपुगेकी थिइन् । श्रीमानले दोश्रो बिबाह गरेपछि दुई छोराछोरीलाई पाल्न उनी हाउसमेड बनेकी थिइन् । त्यस घरमा आठ भाई छोरा, एक छोरी र बुढाबुढी थिए । बलात्कार हुनेबित्तिकै प्रहरीमा उनको मुद्दा दर्ता भएको थिएन । बिरामी भएर परिक्षण गर्न जाँदा गर्भवती भएपछि अस्पताल प्रशासनले प्रहरीको जिम्मा लगाएको थियो । त्यही उनले प्रहरीलाई आफ्नो बलत्कार भएको बताएकी थिइन् ।
तीन दिनसम्म सुनुवाई भएपछि अदालतले सुनुवाईको अर्को तारिख दिएको छ । बलात्कृत नेपाली युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । बलत्कारी कुबेती युवालाई अनुसन्धानको लागि प्रहरीले थुनेको छ ।

कुबेतस्थित नेपाली दुताबासले कुबेत प्रहरीले नै मुद्दा हेरेकोले पीडित आफुहरुको सम्र्पकमा नआएको जनाएको छ । 'थप बुझेर पीडितलाई न्याय दिलाउने काम हामी गर्नेछौं,' कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले भने । प्रकाशित: भाद्र ११, २०७२ - होम कार्की, दोहा (कतार)
Read more ...

टीकापुरमा दुई हवल्दारलाई जलाएर मारेको प्रमाण भेटियो



पाँच दिनअघिको हिंसात्मक घटनापछि तनावग्रस्त टीकापुरको अवस्था अझै सामान्य भएको छैन । नेपाली प्रहरीका सेती अञ्चल प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएपछि आक्रान्त भएको टीकापुर लगायत आसपासका क्षेत्रमा लगातार पाँच दिनदेखि स्थानीय प्रशासनले २४ घण्टे कफ्र्यू लगाएको छ ।
सोमबार थरुहट पक्षधरको आक्रमणबाट अस्तब्यस्त भएको टीकापुर लगायत आसपासको क्षेत्रलाई दंगाग्रस्त घोषणा गरी नेपाली सेना परिचालन गरिएको छ । लगातारको कफ्र्यूले स्थानीयहरु घरभित्रै बस्न बाध्य छन् । नौ जनाको ज्यान जाने गरी भएको घटनाको पछिल्लो दिन अर्थात् मंगलबार आक्रोसशत समुहले टीकापुर बजारमा आगजनी र तोडफोड गरेपछि टीकापुरको माहोल थप आक्रान्त बनेको स्थानीयको भनाई छ ।
सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी माधव नेपालले टीकापुरको दैनिक जनजीवन सहज बनाउने सबै पक्षसँग छलफल भइरहेको बताए । अवस्था सहज हुने बित्तिकै क्रमशः कफ्र्यू समय र कफ्र्यू लगाउने क्षेत्र घटाइने छ डीआईजी नेपालले भने ।
दंगाग्रस्त लगायत जिल्लाका अन्य क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैथान गरी सर्वसाधरणहरुको दैनिकी सहज बनाउन प्रयास भइरहेको छ । एक÷दुई दिनमा सबै ठीक हुने डीआईजी नेपालको भनाई छ ।
यसैबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिप रेग्मी, गृहमन्त्रालयका प्रबक्ता लक्ष्मीप्रसाद ढकाल सहितको टोलीले बिहीबार टीकापुर आएर घटनास्थलको निरीक्षण तथा प्रत्यक्षदर्शीसँग कुराकानी गरेको छ ।
उच्च प्रहरी अधिकारी टोली समक्ष प्रत्यक्षदर्शीहरुले एसएसपी न्यौपाने, प्रहरी निरीक्षकद्वय केशव बोहरा र बलराम बिष्ट, हवलदार लक्ष्मण खड्का, जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका हवलदार ललित साउद र जवान रामबिहारी चौधरीलगायतलाई आक्रमणकारीले लखेट्दै घेराबन्दी गरेर भाला, लाठी, ढुंगामुढाले लगायतले मारेको देखेको बताएका थिए ।
एसएसपी न्यौपाने आक्रमणकारीको घेराबाट भाग्दै नजिकैको स्थानीयको घरमा लुकेको अवस्थामा घरबाटै बाहिर ल्याई भाला र लाठीले मारेको प्रत्यक्षदर्शीको भनाई थियो ।
यसैगरी एसएसपी न्यौपानेको हत्या गरिएको ठाउँ नजिकै सशस्त्र प्रहरीका रामबिहारी चौधरी र नेपाल प्रहरीका हवल्दार श्याम खड्कालाई जलाएर मारेको प्रमाण प्रहरीले बरामद गरेको जनाइएको छ ।
घटनाको निरीक्षणमा आएको महानिरीक्षकद्वयले टीकापुरमा भएको हिंसात्मक आक्रमणको घटनाका बारेमा स्थानीय प्रशासन तथा प्रहरी लगायतसँग जानकारी लिई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका थिए ।
स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले कानून विपरित कार्य गर्ने जो सुकैलाई कारवाही गर्ने बताए ।
तीन ओटै सुरक्षा प्रमुखको टोली समक्ष स्थानीयले आफूहरु अझै ढुक्कसँग बस्ने वातावरण नभएकोले उचित सुरक्षाको प्रबन्ध गरी हिडडुल गर्ने ब्यवस्था मिलाई दिन अनुरोध गरेका थिए ।
प्रतिउत्तरमा महानिरीक्षकद्वयले सवैलाई भरपर्दो किसिमको सुरक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने बताउदै उपस्थित सुरक्षा अधिकारीहरुलाई सर्वसाधरणको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका थिए ।
महानिरीक्षकसँगै नेपाल प्रहरीका एआईजी गणेश राई, सशस्त्र प्रहरीका एआइजी केके तामाङ पनि थिए ।
उता, घटनास्थल पुगेर राष्ट्रिय मानवअधिकार आयोगको टोलीले समेत अनुसन्धान थालेको छ । घटनाको अनुसन्धानका लागि आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा टोली टीकापुर पुगेको हो ।
थरुहट कार्यकर्ताहरुद्धारा टीकापुरमा आठ जना प्रहरीसहित एक बालकको हत्या भएपछि घटनाको छानविनका लागि पाठकको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको हो । टोलीले बिहीबार टीकापुर क्षेत्रका सरोकारवालाहरुसँग पनि छलफल गरेको थियो ।
छलफलका क्रममा सरोकारवालाहरुले टीकापुर क्षेत्रमा लगाएको कफ्र्यु दिनको २ घण्टा जति भएपनि खोल्ने बाताबरण बनाउन आग्रह गरेका छन् । लामो समयको बन्द र कफ्र्यूले नागरिकहरुको जनजिवन कष्टकर बन्दै गएको भन्दै उनिहरुले कफ्र्यू खुकुलो बनाउन आग्रह गरेका छन् ।
मेरो नाबालक छोरालाई गोली हानियोः नेत्रबहादुर
टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउदलाई आक्रमणकारीहरुले गोली हानी मारेको पीडित परिवारले बताएका छन् ।
टेकबहादुरलाई प्रहरी मारिएको एक घण्टापछि आक्रमणकारीले घर नजिकै आएर गोली हानेर हत्या गरेको मृतक बुबा नेत्रबहादुर साउँदले मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा महानिरीक्षकको टोली समक्ष बताए ।
‘घर नजिकैको बारीबाट गोली हान्न थालेपछि बरण्डामा रहेको टेकबहादुरई बहिनी दुर्गा कठायतले घरभित्र तानेर लग्दै थिए तर उ एकाएक गोली लागेर ढल्यो भने ।  सशस्त्र प्रहरीका हवलदार समेत रहेका नेत्रबहादुरले टेकबहादुरको टाउँको पछाडी गोली लागेको बताए । साभारः विश्वखवर


Read more ...

लन्डनमा नेपाली विद्यार्थी विश्वकै उत्कृष्ट


भाद्र ११, २०७२- लन्डनमा अध्ययनरत एक नेपाली विद्यार्थीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गरेकी छिन् । चितवन लंकु ६ स्थायी निवासी सिर्जना भण्डारी गौतमले गत जुनमा भएको एसीसीए पि वान -प्रोफेशनल लेभल) परीक्षामा विश्वभरका २१ हजार ३ सय ७ जना परीक्षार्थीलाई उछिन्दै ८९ स्कोरसहित प्रथम स्थान हासिल गरेकी हुन् ।
  'नतिजासहित एसीसीएको इमेल आउंदा त म शुरुमा आश्चर्यचकित भएं', कान्तिपुरसंग खुशी बांड्दै उनले भनिन्, 'मेरो सफलताका पछाडि लगाव र मिहेनत नै हो । अनि परिवारको प्रेरणा र साथ ।' नेपाल छंदा नै उनी पढाइमा अब्बल थिइन् । अर्किड कलेज चितवनबाट ए लेभल उत्तिर्ण भए लगत्तै सन् २०१० सेप्टेम्बरमा यूके आएकी सिर्जनाले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा ब्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेकी थिइन् ।

 'लन्डन आउने बित्तिकै शुरुतिर अलमल भयो', उनले विगत सुनाइन्, 'पढाउने तरिका फरक अनि यहांको संस्कृति र रहनसहन पनि । पछि विस्तारै एडजस्ट भएं ।' हाल लन्डनस्थित एउटा व्यवस्थापन कम्पनी 'एम एण्ड जी' की जागिरे उनी लन्डनमा जागिर अनि पढाइ एकसाथ लैजान सजिलो भने नभएको अनुभव सुनाउंछिन् । बाबा रामराज भण्डारी र आमा ताराकी सुपुत्री २५ वर्षीया सिर्जनाले भविष्यमा अकाउन्टिङमै करिअर बनाउने लक्ष्य लिएकी छिन् । उनलाई श्रीमान् विशाल गौतमको पनि साथ छ ।
Read more ...

कान दुखेर अस्पताल जाँदा भेटियो कानभित्र २६ वटा साङ्ला !

एक व्यक्ति कान दुखेपछि जचाउनका लागि अस्पताल पुगे । जब उनलाई चिकित्सकले चेकजाँच गरे, तब चिकित्सक समेत आश्चर्यमा परे । उनको कानभित्र साङ्लोको एउटा परिवार नै भेटियो अर्थात् साङ्लोले उनको कानमा घर नै बनाएको रहेछ ।
चीनको गोंगडोंग राज्यस्थित एक उद्योगमा काम गर्ने लि मध्यरातमा कान बेस्सरी दुखेपछि बिउँझिए । उनले दखेको कानभित्र औला हाल्दा केही भएको अनुभव गरे र उनका सँगै रहेका साथीलाई टर्च बालेर हेरिदिन आग्रह गरे । तर, उनका साथीले केही देखेनन् ।
१९ वर्षका ली भोलिपल्ट बिहानै जचाउँनाका लागि अस्पताल गए, त्यहाँ उनको इन्डोस्कपी गरियो र उनको कानमा साङ्लो बसेको भेटियो । एक साङ्लोले एक हप्ता अगाडि उनको कानमा आफ्नो बासस्थान बनाएकी थिइ र त्यही कानमा नै अण्डा पारेर २५ वटा बच्चा पनि जन्माएकी थिई । ली जचाँउन जाँदा ती साङ्लाहरू सानो लामखुट्टे जत्रा मात्र थिए ।
उनको कानबाट ती साङ्लाहरू विषेश प्रकारको औषधीको प्रयोग गरेर निकालियो । पछि चिकित्सकहरूले लीलाई अस्पताल नपुगेको भए, उसको कान नै प्वाल पर्न सक्ने सम्भावना रहेको बारे जानकारी गराएको सञ्चारमाध्मयले जनाएका छन् ।
Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us