Tuesday, 28 July 2015

नेपाललाई टुक्राउने मधेषी नेताहरुले दिए धम्की

नयाँ संविधानमा आफ्ना मागहरू समावेश नभए मुलुक विखण्डनको राजनीति अँगाल्न आफूहरू पछि नपर्ने चेतावनी कांग्रेस सभासद् अमरेशकुमार सिंहलगायत केही मधेसी नेताहरूले दिएका छन् ।
संविधानसभाको संवैधानिक—राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईसँगको अन्तरक्रियामा मधेस केन्द्रित नेताहरूले यो चेतावनी दिएका हुन् ।

मधेस केन्द्रित नेताहरूले संविधानको पहिलो मस्यौदालाई सम्पूर्ण रूपमै नसच्याउने हो भने मधेस स्वायत्त प्रदेश नभएर मधेस स्वायत्त राज्यको माग गर्नुपर्ने परिस्थिति उत्पन्न हुने बताए । डा. भट्टराईसँग मधेसका नेता, सभासद् र बुद्धिजीवीहरूले भने, ‘यो देसको रक्षा प्रमुख चार दल, सुरक्षाकर्मीलगायतबाट हुन सक्दैन ।’
नेपाली कांग्रेसका सभासद् सिंहले संविधानको पहिलो मस्यौदा, त्यसअगावै बसेको मस्यौदा समिति र संवाद समितिका बैठक एवम् निर्णय हेर्दा आफूहरूबीच या त प्रदेश देऊ या देश देऊ भन्नुको विकल्प नरहेको बताए । ‘प्रदेश नभए देश अटोमेटिक बन्छ’, सिंहले भने, ‘अहिले मधेसको अवस्था बंगलादेश विभाजनअघिको पाकिस्तानजस्तो छ ।’
उनले मधेस आन्दोलन वार्मअप मात्र भएको उल्लेख गर्दै एकीकृत नेपालको नक्सा परिवर्तन हुनसक्ने चेतावनी दिए । ‘संघीयता र समावेशी नभए कसैले पनि यो देशको एकता बचाउन सक्दैन,’ उनले भने, ‘भोलि एक लाख मानिस सडकमा आए कसले रोक्छ रु ’ सिंहले गत साउन ४ र ५ गते मधेसमा भएको विद्रोहको समाचार पत्रिकामा नआएको भन्दै आक्रोश पोखे ।
अधिवक्ता दीपेन्द्र झाले पहिलो मस्यौदामा नागरिकताका सम्बन्धमा उल्लिखित व्यवस्था नै मुलुकको विभाजन गराउने खालको भएको बताए ।

सर्वोच्च अदालतले दिएको आदेशविपरीत सीमांकन र नामांकन नभई संविधान जारी हुन नसक्ने उल्लेख गर्दै उनले भने, ‘प्रमुख दलका चार शीर्ष नेताले नै सर्वोच्च अदालतको आदेश अस्वीकार गर्नुको अर्थ यो देशको नियम, कानुनको सबैभन्दा ठूलो अवज्ञा उनीहरूबाट भएको प्रमाणित भएको छ ।’
राजनीतिक विश्लेषक तुलनारायण साहले मधेसी दलले मात्र नभएर १६ बुँदे सहमतिसम्म आउँदा एकीकृत माओवादीसम्मले मधेस मुद्दा छाड्नु मधेसको भविष्यका लागि राम्रो नभएको बताए ।

केही दिनयता गौरदेखि सिरहासम्म मधेसी समुदायबीच मधेसको भविष्यबारे छलफल गर्दा चार दलभित्रकै मधेसी सभासद्हरू मस्यौदामा व्यापक असन्तुष्ट रहेको पाइएको साहले बताए । मधेस र भारतबीचको बेटीरोटीको सम्बन्ध प्रस्तावित नागरिकताले तोड्दै आधा मधेसीलाई अंगीकृत बनाउने कार्य गरेको भन्दै उनले दुःख व्यक्त गरे । अन्नपुर्ण पोस्ट
Read more ...

सिंचाईको अभावमा कतै रोपाई नै भएन कतै खेतै धाँजा फाट्न थाल्यो

कृषिप्रधान मुलुक नेपालमा पर्याप्त सिंचाईको प्रबन्ध नहुँदा मुलुकको प्रमुख खाद्यान्न बाली धान उत्पादनमा व्यापक कमी आउने भएको छ । साउनको दोस्रो साता पुग्न लाग्दा पनि धानखेती हुने ठाउँमा पर्याप्त वर्षा नहुँदा खडेरी फैलिएको हो ।
अन्नको भण्डार मानिएको मध्य तराईका बारा, पर्सा र रौतहटमा अहिलेसम्म धानको रोपाइँ हुन नसक्दा किसान चिन्तित छन् ।
यस क्षेत्रमा अहिलेसम्म मुस्किलले ४० प्रतिशत रोपाइँ हुन सकेको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका अनुसार, धान उत्पादनका लागि उर्वर मानिएको बारा, पर्सा र रौतहट जिल्लामा झन्डै एक लाख ७५ हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ प्रतिशतमा सिँचाइ सुविधा पुगे पनि साउनको पहिलो साता बित्दासम्म मुस्किलले ४० प्रतिशत रोपाइँ हुन सकेको छ । वर्षायाममा वरिपरि खेत बाँझै देखिन्छ । केही दिनअघि जसोतसो रोपिएका धानबाली पनि पहेंलिएका छन् ।

वर्षा नभएका कारण लामो खडेरीले रोपाइँ गर्न नपाएपछि यस क्षेत्रका किसान टन्टलापुर घाममा पुर्पुरोमा हात लगाएर आकाशतिर हेरिरहेका छन्, किसान भन्छन्– “मुठ्ठी रोपेर मुरी उब्जाउनका लागि अहोरात्र खेतमा खट्ने अहिलेको बेलामा लामो खडेरीले रोपाइँ हुन नसक्दा हामी सबैभन्दा बढी मर्माहत भएका छौँ ।” बारामा ६२ हजार हेक्टर जग्गा धान खेतीयोग्य छ । तीमध्ये ३२ हजार हेक्टर जमिनमा अगहनी धान खेती हुन्छ । झन्डै ४५ प्रतिशतमा मात्र सिँचाइ सुविधा छ । बाँकी ५५ प्रतिशत जमिनमा आकाशे पानी परेपछिमात्रै खेती सुरु हुन्छ ।

“मङ्सिरे धानको गेडा लाग्ने सम्भावना पनि टर्न लागेको छ । जसोतसो जोगाएको बीउ पनि सुक्न लाग्यो । पानी पर्ला झैँ हुन्छ अनि आफैँ टर्छ”, बारा फत्तेपुरका किसान राजेश साहले भन्नुभयो– “धान रोप्ने याममा यति लामो खडेरी त जीवनमै भोग्नुपरेको थिएन ।”

अधिकांश रोपाइँ पम्पसेटबाट भएको हो । गण्डक नहर सम्झौताअनुसार भारतले पूर्वी गण्डक नहरमा ८४० क्युसेक पानी दिनुपर्नेमा त्यसको आधामात्र दिने गरेको छ । सम्झौताअनुसार पानी नछोडिदिँदा मूल नहरमा पानीको कमीका साथै नेपालतर्फ नहरमा आउने पानी भारतीय किसानले बीचमै काटेर लगेकाले पनि यस्तो समस्या उत्पन्न भएको हो । सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी उपलब्ध गराउनका लागि भारतसँग पहल गर्न सरकारसँग यहाँका किसानको माग रहेको छ ।

पाल्पामा भने वर्षाको अभावका कारण रोपेका धान सुक्न थालेका छन् । समयमै पर्याप्त वर्षा नभएपछि तथा सिँचाइको सुविधा नभएकै कारण रोपेको धान अहिले सुकेर पराल भएको हो ।

असारको अन्तिममा आएको भलपानी छोपेर रोपाइँ गरेका किसान हरियो बीउ सुकेर पराल भएपछि चिन्तित बनेका छन् । साउनको मध्यतिर आइपुग्न लाग्दा पनि वर्षा नपरेकाले कतिपय ठाउँमा रोपाइँ गर्नै बाँकी छ । केही ठाउँमा रोपाइँ गरेका खेतमा धाँजा फाटेका छन् । पानीको अभावका कारण ब्याडमा बीउ छिप्पिन थालेको छ ।

“वर्ष दिन खाने खेती पानीको अभावले गाबो हाल्न नभ्याउँदै सुक्यो, खेत रोपेर गल्ती गरियो, यही जग्गामा तरकारी लगाएको भए आम्दानी हुन्थ्यो” किसान सालिकराम पौडेलले भन्नुभयो । उहाँको मात्र होइन यो समस्या अहिले धेरै किसानको छ । खेतालाको अभावले काम नै रोकिने हुँदा पहिले नै आलीकान्लो गर्ने, आली लगाउने काम सकाएर पानी परेपछि खेत रोप्ने काम सुरु हुन्छ ।

त्यसै गरी लामो समयदेखि सिरहामा वर्षा नभएका कारण रोपाइँ भएको धानबालीमा डढेलो लाग्न थालेपछि किसान चिन्तित बनेका छन् ।

समयमा पर्याप्त वर्षा नभएको र सिँचाइको समेत उचित व्यवस्था नभएका कारण वैकल्पिक सिँचाइको प्रयोग गरी रोपाइँ गरेका धानको बालीमा समेत वर्षाको आभावमा डढेलो लाग्न थालेपछि किसान चिन्तित बनेका हुन् । जिल्लामा कतिपय किसानले खेतलाई गोडमेल गरेर तयार पारिसकेको अवस्थामा पनि वर्षा नभएपछि अधिकांश खेतीयोग्य जग्गा बाँझो छ ।

असारको अन्तिमतिर वर्षा भएपछि किसानले धमाधम धान रोपाइँ गरे पनि त्यसयता वर्षा रोकिएका कारण रोपाइँ भएको धानमा डढेलो लाग्न थालेको किसान बताउछन् । “पछि वर्षा हुन्छ कि भन्ने विश्वासका साथ महँगो मूल्य तिरेर सिँचाइ मोटरको प्रयोग गरी रोपाइँ गरियो,” तरेगना गोबिन्दपुरका सुरतलाल चौधरीले भन्नुभयो– “वर्षा नभएपछि धानको बाली घामले डढ्न लाग्दा पशुलाई त्यही बेर्ना काटेर आहारका रूपमा खुवाउन लागेको छु ।”

ऋण लिएर खरिद गरी धानको बीउ रोपेको तर पानी नपरेपछि ती बीउ त्यतिकै डढिरहेकाले काटेर चौपायलाई खुवाउन थालेको उहाँले बताउनुभयो । साउन महिनाको दोस्रो सातासम्ममा सप्तरीमा करिब २० प्रतिशतमात्र रोपाइँ हुँदा किसान चिन्तित छन् । जिल्लामा कुल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गा रहे पनि समयमा वर्षा नहुँदा ८० प्रतिशत खेतीयोग्य जग्गा बाँझै रहेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत योगेन्द्र यादवले जानकारी दिनुभयो ।

Read more ...

नेकपा एमालेका नेता माधवकुमार नेपाल वीर अस्पताल भर्ना

नेकपा एमालेका नेता माधवकुमार नेपाल वीर अस्पताल भर्ना हुनुभएको छ । सोमवार संसद बैठकमा सहभागी हुन सविधानसभा भवन नयाँ बानेश्वर पुग्नुभएका नेपाललाई एक्कासि रिगटा लागेपछि वीर अस्पताल लगिएको हो । उच्च रक्तचापका कारण नेता नेपाललाई असहज भएपछि संबिधानसभा भवनबाट वीर अस्पताल लगिएको हो । नेपालको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।
Read more ...

अमेरिका बस्ने नेपालीबाट यस्ता सुझाव

वासिंगटन :अमेरिकाको वासिंगटन राज्यको सियाटलमा बसोबास गर्ने नेपालीले नेपालमा बन्न लागेको संविधान आफ्ना सुझाव पेस गरेका छन्। सियाटलमा वृहत् कार्यक्रम नै गरेर विभिन्न पेशा, वर्ग र समुदायबाट सुझाव संकलन गरी नेपाली दुताबास मार्फत सुझाव पठाइएको छ। नागरिकता, शासकीय व्यवस्था, संघीयता, धर्म र शैक्षिक अधिकारमा उनीहरुले सुझाव दिएका छन्। कार्यकारी प्रमुख हुनुपर्ने, धार्मिक सहिष्णुता नबिथोलिने गरी धार्मिक व्यवस्था राख्‍नपुर्ने र संघीयतालाई मुलुकले थेग्न सक्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन्।सुझाव संकलनका लागि टीपी खनाल, दुर्गाप्रसाद श्रेष्ठ र बुद्धिजंग कुँवरले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। उनीहरुले दिएका सुझाव जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएका छन्। १) नागरिकता सम्बन्धमा : विदेशमा आएर यहीको नागरिकता लिएका नेपालीहरुका लागि राजनैतिक अधिकार बाहेकको अन्य सामाजिक,आर्थिक तथा सास्कृतिक अधिकार सहितको दोहोरो नागरिकता दिने प्रस्तावको हामीहरु हार्दिक स्वागत गर्दै त्यसका लागि पहल गर्ने सम्पूर्ण राजनैतिक पार्टीहरु तथा संघ सस्थाहरु प्रति हामीहरु हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छौ । तर कुनै दिन विदेशको नागरिकता त्यागी पुन स्वदेश फर्कन चाहने नेपालीहरुका लागि विदेशको नागरिकता त्यागेकै मितिदेखि लागु हुनेगरी नेपालि नागरिकता पुनर्बहाली हुने व्यवस्था संबिधानमा हुनको लागि हामि जोडदार अनुरोध गर्दछौ । गैह्र नेपालि नागरिकका सन्तानहरुलाई पनि नेपालि नागरिकताको अधिकार हुनुपर्नेछ । साथै बिदेशमै जन्मेका हाम्रा छोराछोरीहरुले पनि विदेशको नागरिकता त्यागी नेपाल गएमा उनीहरुले पनि बंशजको आधारमा तुरुन्त नागरिकता पाउने व्यवस्था हुनुपर्नेछ । २) शासकीय व्यवस्था सम्बन्धम्मा देशको प्रमुख कार्यकारी प्रत्यक्ष रुपमा निर्बाचित भएको हुनुपर्नेछ । साथै सरकारका जिम्मेवार राजनैतिक अधिकारीहरुको न्युनतम शैक्षिक योग्यता तोकीइनु पर्दछ । ३) धार्मिक बिषयमा : नेपाल अधिकतम हिन्दुहरुको बसोबास भएको देश भएतापनि सबै धर्मलाई उत्तिकै सम्मान हुनेगरी "स्वतन्त्र धार्मिक राज्य वा सनातन राज्य" को रुपमा नेपाल लाइ धार्मिक मान्यता दिदा राम्रो होला । धार्मिक बिषयलाई राजनैतिक तहबाट अनाबश्यक रुपमा न उचाली सबै धर्मका मान्छेहरुले सम्मानित भै बाच्ने र आ-आफ्नो धर्मको निर्बाध प्रयोग गर्न पाउने व्यवस्था हुनुपर्नेछ । धर्मको आडमा भेदभाव गरि बलियोले कमजोरलाई दुख दिने सस्कारलाई निरुत्साहित गर्ने गरि संबिधान बनाइनु पर्दछ । यदि यो बिषयमा बुद्धिमत्तापूर्ण निर्णय गरिएन भने भोलि नेपाल धार्मिक द्वान्दको चपेटामा पर्न गइ डरलाग्दो क्षति हुनसक्ने कुरालाई मध्यनगर गर्दै नेपालीपन जोगिने गरि धार्मिक सहिष्णुता स्थापित हुनेगरी धर्मलाई मान्यता दिइनु बेश होला । ४) जातको आधारमा नभई बर्गको आधारमा ( जुन जातको भएपनि कमजोर छ भने त्यो बर्गको मान्छेले पाउने गरि) सहुलियत दिने व्यवस्था हुनुपर्दछ । ५) महिला र पुरुष बीच हरेक कुरामा समान कानुनि अधिकार हुनुपर्नेछ । सम्बन्ध बिछ्छेद तथा सम्पतिमा भएका अधिकारमा समानता हुनुपर्नेछ । ६) संघियता सम्बन्धमा : संघियताको निर्माण गर्दा नेपालको भौगोलिक , सामाजिक , सास्कृतिक , आर्थिक , प्राकृतिक सम्पदा र मानविय संवेदनालाई खलल नपुग्ने गरि मधेश, पहाड र हिमालमा सबै राज्यको पहुच हुनेगरी सिमाङ्कन हुनु पर्दछ । नेपालको सम्पूर्ण परिथितिलाई हेर्दा अहिलेको अवस्थामा ४ वटा भन्दा बढी संघियताको कल्पना गर्नु त्यति हितकर देखिदैन । त्यसैले ४ वटा भन्दा बढी राज्यहरुको निर्माण गर्ने कार्यमा राजनैतिक स्वार्थ नहेर्न सम्पूर्ण राजनैतिक दलहरुमा हार्दिक अनुरोध छ । ७) उप-रास्ट्रपतिलाइ राज्यले गर्ने लगानीको अनुपातमा सक्रिय हुनेगरी जिम्मेवारी दिइनु पर्दछ । ८) अपाङ्ग मैत्री संरचना हुनुपर्नेछ ताकि कोहि पनि अपाङ्गले आफ्नो मौलिक अधिकारको उपयोग गर्दा अपहेलित हुनु नपरोस । 9) शैक्षिक अधिकार सम्बन्धमा : आजको युगमा शिक्षा भनेको एउटा मौलिक अधिकार हो त्यसैले कम्तिमा पनि उच्च माध्यमिक शिक्षा सम्मको पढाई निशुल्क हुने गरि व्यवस्था हुनुपर्नेछ । भोलिको नेपालमा कोहि पनि नेपालि शिक्षाको कारणले पिछडिनु नपरोस भन्ने कुरालाई बिशेष ध्यान दिदै उच्च माध्यमिक शिक्षा सम्मको पढाई निशुल्क हुने गरि त्यसको व्यवस्था संबिधानमा गरिनु पर्दछ ।
Read more ...

Monday, 27 July 2015

गैंडाकोटस्थित जयश्री पुल भाँचिएपछि ठप्प भएको सवारी आगमन सुचारु हुन सकेन

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोटस्थित जयश्री पुल सोमबार साँझ भाँचिएपछि ठप्प भएको सवारी आगमन अहिलेसम्म सुचारु हुन सकेको छैन ।
सोमबार साँझदेखि अवरुद्ध राजमार्ग खुलाउने पहल नहुँदा बुटवलबाट पूर्व जाने सवारी साधन र नारायणगढबाट पश्चिम जाने सयौँ सवारी साधनका हजारौ यात्रु अलपत्र छन्  । पुल भाँचिएपछि लामोदुरीका सवारी साधन पोखरा हुँदै आवतजावत गर्न थालेका छन् ।
जीर्ण अवस्थमा रहेको उक्त पुल लच्किएको छ । वैकल्पिक बाटो बनाइ सडक सुचारु गर्न विहान बुटवलस्थित सडक भिडिजन कार्यालयबाट एक्साभेटर र लोडर पठाइएको प्रहरीले जनाएको छ ।

तीनवर्ष अघि पनि पुल भत्किएकाले मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । तर सो समयमा सामान्य मर्मत गरिएकाले पुल जोखिममै थियो । पटक पटक नयाँ पुल बनाउनुपर्ने माग उठेपनि पहल हुन सकेको थिएन । अन्नपूर्ण पोस्ट
Read more ...

यी हुन डिभी पीआर लिएका उच्च पदस्थ कर्मचारीहरु(लिस्ट सहित)

नेपालमा सरकारी सेवामा रही विदेशको स्थायी बसोवास गर्ने सुविधा लिएका व्यक्तिलाई सरकारी सेवाबाट बाध्यात्मक अवकाश दिने कानुन बनेपछि सरकार उनीहरुको सूची संकलनमा निरन्तर लागि परेको छ ।
सरकारले संसदको राज्य व्यवस्था समितिमा बुझाएको र हालसम्म गोप्य राखिएको भनिएको विवरणमा केही महिनाअघिमात्र नियुक्त भएका संवैधानिक अंगका आयुक्तसहित उच्च पदस्थ कर्मचारीहरु रहेका छन् भने बाँकी व्यक्तिहरुको खोजि भईरहेको र सुचनाहरु संकलनको काम भईरहेको छ । ग्रीन कार्ड लिएको सरकारी सूचीमा रहेका व्यक्तिमध्ये उच्च पदमा रहनेमा मन्त्रालयका सचिव पनि छन् ।

सरकारले हालसम्म प्राप्त गरेको विवरणमा डीभी पाएर वा अन्य कुनै कारणले अमेरिकाको ग्रीनकार्ड लिनेको संख्या धेरै छ । सरकारले नियमावली बन्ने क्रममा रहेकाले नियमावली बनेपछि सबै सरकारी कर्मचारीहरुको डिभीपीआरको विवरण थप सार्वजानिक गर्दै लाने जानकारी दिएको छ । सरकारले गोप्य राखेको डिभी पीआर लिने केहि उच्च पदस्थहरुको लिस्ट तल उल्लेख गरिएको छ ।

को(को छन् डिभी पीआर लिएका उच्च पदस्थ कर्मचारीहरु ?

(अर्थमन्त्रालयका राजश्व सचिव नवराज भण्डारी -अमेरिका
(न्यायसेवातर्फका सहसचिव लक्ष्मण मैनाली -अमेरिका
(न्याय सेवाका सहसचिव धनराज ज्ञवाली -अष्ट्रेलिया
(निजामति कितावखानाका उपसचिव बलदेव जोशी -न्यूजिल्याण्ड
(राजश्व अनुसन्धान विभागका सहसचिव भरतराज सुवेदी -अष्ट्रेलिया
(प्रशासन सेवाका उपसचिव खेमराज निरौला -अमेरिका
(अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशी -जर्मनी
(कानून मन्त्रालयमा कार्यरत अधिकृत कृष्ण ज्ञवाली -अमेरिका
(अधिकृत किरणप्रसाद आचार्यले -अमेरिका
(डोलिडारका इन्जिनियर अधिकृत मनोज कणेल -अमेरिका
(भैरहवा भन्सारका प्रमुख लावण्य ढकाल -अमेरिका
(सूचना आयोगमा सहसचिव भई काम गरेका चण्डी दाहाल -नखुलेको
(विमानास्थलको प्रमुख भन्सार अधिकृत योगेन्द्र ओझा -अमेरिका
(पूर्वसचिवहरु त्रिलोचन उप्रेती, रामचन्द्र सिंह र माधवप्रसाद घिमिरे -नखुलेको
(उर्जा मन्त्रालयमा काम गरिसकेका सहसचिव किरण शर्मा -अमेरिका
(बरिष्ठ विउ विकास अधिकृत दुर्गाप्रसाद पन्थी -अमेरिका

Read more ...

कागतीको फाइदा नै फाइदा

कागतीमा औषधीय गुण पाइन्छ र यसको नियमित सेवन मानव स्वास्थ्यका लागि निकै हितकर हुन्छ । कागतीको सेवन हामीले गरेकै हुन्छौँ, तर यसका अन्य फाइदाका बारेमा हामीलाई उतिसारो थाहा नहुन सक्छ । अझ बढि बहुआयामिक फाइदा पूराउने तरिकारले कसरी कागतीलाई सेवन गर्ने भन्ने पनि जानकारी नहुन सक्छ । कागतीको बहुआयामिक ५ फाइदा यस्ता छन् । सरीर सफाइ गर्छ र रोग प्रतिरोधी क्षमता बढाउन हरेक बिहान मनतातो पानीमा कागतीको रस मिलाएर खानुस् । कागती पानीको यस्तो सेवन सरीर सफाइ गर्ने सबैभन्दा उत्तम विधि हो । यसले मुत्रप्रणालीलाई सन्तुलित गर्ने र सरीरमा रहेका विषाक्त पदार्थलाई पिसाबमार्फत बाहिर फ्याँक्न सहयोग पूराउँछ । कागतीले सरीरको रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।
पाचन प्रक्रियामा सुधार कागती पानीको सेवन गर्नु पाचन क्रियालाई सन्तुलित पार्नमा सहयोगी हुन्छ । कागतीपानीको सेवनले कलेजोलाई पित्तअम्ल उत्पादन गर्न लगाउँछ, जुन पाचनका लागि आवश्यक हुन्छ । साथै यसले पाचन प्रणालीमार्फत विषाक्त पदार्थको उत्सर्जनमा पनि सहयोग गर्छ ।
लामखुट्टे भगाउने( कागतीलाई लामखुट्टे प्रतिरोधी चिजको रुपमा पनि प्रयोग गर्न सकिन्छ । तपाइँलाई थाहा छ रु यो निकै सजिलो छ । आधा काटेको कागती यसका लागि पर्याप्त छ । आधा काटेको कागतीमा केही ल्वाङ हालेर त्यसलाई कोठामा राख्नुहोस् । त्यसपछि तपाइँलाई दिक्क पार्ने लामखुट्टे त्यो पासोमा पर्नेछ ।
स्याउलाई फ्रेस राख्न- स्याउ काट्दा बित्तिकै काटेको ठाउँ खैरो बन्दछ । यसो हुँदा अलिक नराम्रो देखिन्छ । त्यसैले स्याउ काट्दा चक्कुमा कागतीको रस दल्नुहोस् वा स्याउलाई नै कागतीको रसमा चोप्नुहोस् । यसो गर्दा स्याउ काटिसकेपछि पनि फ्रेस बन्दछ ।
भाँडाकुँडा सफा गर्न- वैज्ञानिकहरुका अनुसार तरकारी तथा सलाद काट्ने चपिङ बोर्डमा ट्वाइलेटमा भन्दा पनि बढि तथा हानिकारक किटाणु हुन्छन् । त्यसैले यसलाई राम्रोसँग सफा गर्नुपर्छ । चपिङ बोर्ड मात्र होइन, चक्कु वा अन्य किचेनका भाँडाकुँडा सफाइ गर्दा कागतीको प्रयोग गर्नु लाभदायी हुन्छ र यसले हानिकारक किटाणुलाई नष्ट गर्छ ।

Read more ...

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us