काठमाडौं । तरकारीवालीको नामले सामाजिक संजालमा रातारात भाइरल बनेकी कुसुम श्रेष्ठले आफ्नो लोकप्रियताले शिखर छोएकोमा दङ्ग भएको बताइन् । महिलाखबर डट कमसँगको टेलिफोन संवादमा उनले आफ्नो फोटो भाइरल भएको कुरा साथीमार्फत थाहा भएको बताइन् । साथीले उक्त फोटो फेसबुकको मेसेन्जरमा हालेपछि बल्ल उनले आफ्नो फोटो भाइरल भएको विश्वास गरिन् ।
गोरखा वाङलिङकी कुसुम अहिले चितवनको टाँडीमा क्वेष्ट मोडल कलेजको ११ कक्षामा पढिरहेकी छिन् । चितवनमा काकाको घरमा बस्दै आएकी उनी बुवा आमाको व्यवसायिक तरकारी खेतीलाई घर गएका बेला सघाउने गरेको उनले बताइन् । उनी भन्छिन्, ‘दसैंतिहारको बिदामा गोरखा घर गएका बेला गोलभेंडा बेच्न फिस्लिङ आएकी थिएँ, त्यतिबेला नै मेरो फोटो कैद भएछ ।’
चन्द्र नारायण श्रेष्ठ र ज्ञानु श्रेष्ठकी एक्ली छोरी कुसुमले चलचित्र खेल्ने र मोडलिङ गर्ने प्रस्ताव आए आफूले त्यसलाई स्विकार्ने बताउँदै अब कसैलाई पनि आफ्नो तस्बिर खिच्न नदिने स्पष्ट पारिन् ।
पर्यटन व्यवसायी कीर्तिपुर निवासी रुपचन्द्र महर्जनले त्रिशुलीमा पर्यटकलाई र्याफ्टिङ गराइसकेर पारी पट्टीको गाउँमा घुमाउन लैजाने क्रममा गोरखा र चितवन जोड्ने फिस्लिङको झोलुङ्गे पुलमा उनको तस्बिर खिचेको उनले स्रोतलाई बताए ।