Thursday, 3 November 2016

बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले दिए मन्त्रीहरुलाई दिए पाँच बुँदे कडा निर्देशन

काठमाडौ । आफ्ना पार्टीका मन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीहरुलाई जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीलाई कार्यशैली सच्चाउन र चेन अफ कमान्डमा बसेर काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज विहान ९ बजे माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए । त्यहीँ वैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई दिएको निर्देशन यस्तो थियो

–सरकार गठनका १०० दिन हुन लागे । तर, तपाईंहरुको काम जनताले महसुस गर्ने गरी भएको छैन । तुरुन्त जनताले महसुस गर्ने गरी काम थाल्नुहोस् ।
–उर्जा मन्त्रीले पहल गरेको देखिन्छ । अरु मन्त्रालय सुस्त भए । यसरी काम चल्दैन । नतिजा देखिने गरी काम गर्नुस् । केही समस्या भए मलाई भन्नुहोला ।

–व्यक्तिगत ढंगले चल्दै नचल्नुहोला । संस्थागत निर्णयमा ध्यान दिनुस् । चेन अफ कमान्डमा चल्नुहोला ।
–मन्त्रीका विषयमा पार्टीकै साथीहरुबाट पनि गुनासा आएका छन् । त्यस्ता गुनासा नदोहोरिउन । जिम्मेवारीका साथ काममा लाग्नुहोला ।

–केपी ओली प्रधानमन्त्री हुँदा भारतीय राष्ट्रपतिलाई निम्ता गरिएको हो । अहिलेका राष्ट्रपतिको चाहनामा भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णय भएको हो । एउटा पंक्ति यही कुरामा सरकारको विरोध गरेका छ । अनाबश्यक भ्रम फैलाएको छ । तपाईंहरु यस्ता भ्रम चिर्नेतिर ध्यानै दिनुभएको छैन । सरकार विरुद्ध हुने भ्रम चिर्न तपाईंहरुले अलि जोड गर्नुहोल ।

प्रधानमन्त्रीको निर्देशन पाएपछि मन्त्रीहरुले हुन्छ, अव काम गर्छौँ भनेर फर्केका थिए ।

अहिले सरकारमा माओवादीका तर्फबाट आठ मन्त्री छन् । प्रधानमन्त्रीको आजको निर्देशनमा अर्थमन्त्री महरा र उर्जा मन्त्री जनार्दन शर्मा भने सहभागी थिएनन् । महरा काठमाडौंमै भएर सहभागी भएनन् भने शर्मा गृहजिल्ला रुकुम गएका छन् ।

माओवादीका धेरै नेता–कार्यकर्ताले मन्त्रीहरुले आफ्नो तरिकाले काम गरेको गुनासो प्रधानमन्त्री एव्म पार्टी अध्यक्ष प्रचण्डसँग गर्दै आएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us