Friday, 4 November 2016

पार्टी मन्त्रीहरूबाटै प्रचण्ड सशंकित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलाई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार माओवादी केन्द्रका केही मन्त्री र सचिवालय पदाधिकारीसँगको अनौपचारिक छलफलमा प्रधानमन्त्री दाहालले पार्टीभित्रैबाट आफू, पार्टी र सरकारलाई असफल पार्न चलखेल र सक्रियता बढेको दाबी गरे । 

नाम नखुलाउने सर्तमा बैठकमा उपस्थित एक पदाधिकारीका अनुसार त्यो समूहका कारण उनको सरकार गठनदेखि अहिलेसम्म आमजनताबीच सकारात्मक ढंगले प्रस्तुत हुन सकेको छैन र सरकारविरुद्ध नकारात्मक सन्देश प्रवाह भइरहेको छ । सहभागी एक मन्त्रीका अनुसार जसरी पनि नेपालबाट माओवादीलाई समाप्त पारेर एक्लो बृहस्पति बन्ने योजनामा एमाले र आफ्नै पार्टीभित्रको एउटा खेमा लागेको दाहालले बताएका थिए । पार्टी अध्यक्षलाई समेत जानकारी नदिई अख्तियार प्रमुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराइयो भन्ने प्रचार त्यही षड्यन्त्रको पाटो भएको भएको उनको भनाइ थियो । 

जनयुद्धबाट बनेको पार्टीलाई सिध्याउने खेलका रूपमा वर्तमान सरकारको कार्यशैलीको नकारात्मक टिप्पणी भइरहेको उनको दाबी थियो । प्रधानमन्त्रीले पार्टीका हाइकमान्डमा रहेका केही मन्त्री र नेतालाई चुनौती दिँदै भने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव संसद्मा मेरै नेतृत्वमा दर्ता भएको हो । पार्टीको एक समूह लोकमानलाई बचाउन लागेकाले आफ्नै पहलमा महाभियोग प्रस्ताव ल्याएको हुँ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us