Friday, 4 November 2016

हे आमा नेपाल तिमीलाई, संसारकै राम्री बनाउँला..का सर्जक महेश पाल्पालीको निधन

काठमाडौं । आमा नेपाल तिमीलाई, संसारकै राम्री बनाउँला....एक कोटि जन मिलेर, सुसार गर्दै जाउँला‘ 

एक समय रेडियोबाट निकै बज्ने यो गीतका गायक महेश पाल्पालीको निधन भएको छ । यस गीतका गीतकार र संगीतकार समेत रहेका उनको बुटवल दीपनगरस्थित आफ्नै घरमा बिहीबार साँझ निधन भएको हो । ८८ वर्षीय पाल्पाली दम रोगबाट पीडित थिए ।

‘हे आमा‘ बोलको गीत पाल्पालीले ०२२ सालमा भारतको कलकत्तामा रेकर्ड गराएका थिए । यो गीतबाटै उनको चर्चा चुलिएको थियो । वास्तविक नाम दौलतविक्रम शाह रहेका पाल्पालीले रेडियो नेपालमा एक सय ५० भन्दा बढी गीत गाए पनि ‘हे आमा‘ सहित तीन वटा मात्र रेकर्ड भएका छन् । उनले ‘मेरो सान‘ नामक एल्बम पनि निकालेका थिए ।

तर, आर्थिक अभावमा संगीत यात्रामा सोचेजति अघि बढ्न नसकेका उनले आफूले रचना गरेका धेरै गीत नयाँ पुस्तालाई दिने भन्दै साँचेर राखेका थिए ।

पाल्पाको तानसेनमा जन्मिएका उनी काठमाडौंमा चर्चा कमाएर जीवनको उत्तरार्द्ध बुटवलमा बिताउँदै आएका थिए । पाल्पाबाट उनी ०३० सालतिर बुटवल पसेका थिए । काठमाडौं आएपछि भने विभिन्न संगीतकर्मी व्यक्तिहरुसँगको सरसंगतिबाट उनको संगीतयात्रा अघि बढेको थियो ।

सेनाको मेजर रहेका बाबुले उनलाई पढाउन काठमाडौं ल्याएपछि नातिकाजी, तारादेवी, किरण खरेल लगायत गायक–गायिका र गीतकारहरुसँग उनको संगत बढेको थियो ।

एक समय निकै चर्चामा रहे पनि आर्थिक समस्याले गाँजेपछि संगीतकर्मबाट टाढिँदै उनी पछिल्लो समय गुमनाम जीवन बाँचिरहेका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us