झापा । झापाका दुई युवा भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर १२ देखि १४ तारिकसम्म हुने अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सम्मानित हुने भएका छन् ।
कनकाई नगरपालिका-३, सुरुङ्गाका सुनिल भेटवाल ‘साङ्गाई युथ लिडर अवार्ड-२०१६’ र राजकुमार कट्टेल ‘ग्लोबल युथ अवार्ड-२०१६’ बाट सम्मानित हुन लागेका हुन् ।
भेटवाल कनकाई खेलकुद प्रतिष्ठान झापाका अभियान्ता एवम् ज्ञान ज्योति युवा क्लबका संस्थापक अध्यक्ष हुन् । उनी जिल्लामा सक्रिय सामाजिक युवा अभियान्ताको रुपमा परिचित छन् ।
त्यस्तै, कट्टेल सुरुङ्गा सहकार्य युवा क्लबका अध्यक्ष हुन् । उनी युवा नेतृत्व, उद्यमशिलता र दिगो विकासका लागि युवा लगायतको विषयमा काम गरिरहेका छन् ।
झापाका दुई युवासहित दमौलीका प्रदिप काफ्लले पनि ‘साङ्गाई युथ लिडर अवार्ड-२०१६’ पाउँदैछन् । उनी यूनेस्को क्लबसँग आबद्ध छन् ।
नयाँ दिल्लीको विज्ञान भवनमा हुने कार्यक्रममा विश्वभरिका १ सय ९७ देशका सक्रिय १५ सय युवा अभियान्ता सहभागी हुँदैछन् ।
‘दिगो विकासका लागि युवा’ भन्ने नारासहित हुन लागेको सम्मेलनमा जाने नेपाली टोलीको तर्फबाट भेटवालले शुन्य गरिबीको विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको नेपाल संयोजक समेत रहेका कट्टेलले बताए ।