काठमाडौं । भारतमा भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन् ।
इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन शुक्रबार दिल्ली हुँदै गोवा पुगेका उनले सोमबारबाट राजनीतिक भेटवार्ता गर्न लागेका हुन् । सोमबार अबेरसम्म हुन राजनीतिक भेटवार्तामा सभापति देउवाले यसअघि तीन दिनको भारत बसाईम विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेस आईका अध्यक्ष सोनिया गान्धीलगायत शीर्ष नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ ।
सोमबार अबेरसम्म उच्चस्तरीय भेटवार्ता हुने भएपछि मंगलबार स्वदेश फर्कने तयारीमा रहेका देउवा गोवामा इण्डिया फाउण्डेशनले गरेको कार्यक्रम र जेएनयू विश्वविद्यालयमा आयोजित कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी भएका थिए ।
सो क्रममा उनले नेपालको संविधान उत्कृष्ट रहेको र आवश्यक परेको खण्डमा संशोधन गर्न सकिने बताए । राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरेर असन्तुष्ट पक्षको माग सम्बोधन गर्न नेपाल सरकार तयार रहेको उनको भनाइ थियो ।