Sunday, 6 November 2016

प्रचण्डले भने–लोकतन्त्रको रक्षाका लागि लोकमानलाई हटाउनु पर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्ताव पास गर्नु पर्ने बताएका छन्। मानव अधिकारकर्मीहरुको टोलीसँगको सोमबार बिहान भएको भेटमा प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्ताव पारित गर्नुपर्ने बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले भने,‘हिजो भिन्न परिस्थितिमा सबैको सहमतिले लोकमानलाई अख्तियार प्रमुख बनाइयो, त्यसको समीक्षा पनि गरौंला। तर, अहिले भिन्न परिस्थिति आएको छ। लोकतन्त्रको रक्षा र सार्वजनिक संस्थाहरुको संरक्षणका लागि पनि महाअभियोग प्रस्ताव पास हुनुपर्छ। सरकारले प्रमूख दलहरुबीच सहमति जुटाएर प्रस्ताव पारित गराउने पहल गरिरहेको छ।’ प्रचण्डले प्रमुख दलका शीर्ष नेताहरु महाअभियोगकै पक्षमा रहेको जानकारी दिँदै आन्तरिक गृहकार्यपछि सहमतिमा पुगिने बताए। ‘प्रमुख दलका शीर्ष नेता महाअभियोगकै पक्षमा हुनुहुन्छ, पारित गर्नेबारे आन्तरिक गृहकार्य भइरहेको छ,’उनले भने। 

प्रधानमन्त्री प्रचण्डले जनआन्दोलन लगायतका परिवर्तनका आन्दोलनमा मानव अधिकारकर्मीहरुको उल्लेख्य योगदान रहेको भन्दै खबरदारी जारी नै राख्न अधिकारकर्मीहरुलाई आग्रह गरेका थिए। भेटमा अधिकारकर्मीहरुले संविधानको प्रस्तावनामा अहिंसा शब्द थप गर्न, मानव अधिकार उल्लघंनका दोषीलाई भविष्यमा कुनै पनि पदमा नियुक्त नगर्न, लागु औषधविरुद्ध राष्ट्रिय अभियान थालनी गर्न, भारत–पाकिस्तानबीचको तनावमा सहजीकरण गर्न, छिटै स्थानीय तहको निर्वाचनको वातावरण निर्माण गर्न, जलवायु परिवर्तनबारे आयोग बनाएर काम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us