काठमाडौं । काठमाडौंलाई लोडसेडिङमुक्त गर्न प्रधानमन्त्रीले मातहतका अधिकारीलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आफुले यसअघि राखेको ‘काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने’ योजनाको मुर्त खाका ल्याउन निर्देशन दिएका हुन ।
सोमबार घिसिङलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले तीन बुँदे निर्देशन दिएको बालुटार स्रोतले बतायो ।प्रधानमन्त्रीले काठमाडौंमा तिहारको समयमा भएको लोडसेडिङ अन्त्यलाई निरन्तरता दिन निर्देशन दिए ।
प्रधानमन्त्रीले भने, ‘काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउने मेरो संकल्प पुरा हुँदैछ, यसमा म खुसी छु । अबदेखि उपत्यकामा कहिल्यै बत्ती नजाने गरी आवश्यक व्यवस्था गर्नुस, अप्ठ्यारा के छन् सरकारलाई भन्नुस्, सरकार सबै किसिमको सहयोग गर्न तयार छ ।’
प्रधानमन्त्री प्रचण्डले विद्युत महशुलको वक्यौंता उठाउन र चुहावट रोक्न पनि भनेका छन् साथै ठूला परियोजनाहरु जतिसक्यो छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिएको प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । भेटमा प्रधानमन्त्रीले ‘देशलाई लोडसेडिङमुक्त गर्ने कार्ययोजना तयार गर्न, विद्युत् चोरी, बक्यौता नतिर्ने जस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न, नयाँ योजना सञ्चालनका लागि तयारी गर्न’ पनि निर्देशक घिसिङलाई निर्देशन दिएको स्रोतको भनाई छ ।