Friday, 4 November 2016

एक किलो सामान ढुवानी ज्याला ३० रुपैयाँ

काभ्रे । काभ्रेको विकट डाडाँपारि क्षेत्रका एक दर्जन गाविसका बासिन्दा एक किलो सामान ढुवानीबापत ३० रुपैयाँ तिर्न बाध्य छन् । सडक सञ्जाल नपुगेकाले मान्छेलाई बोकाउँदा महँगो ढुवानी तिर्नुपरेको स्थानीयको गुनासो छ ।'

दैनिक उपभोग्य वस्तुलगायत अन्य सामान धुलिखेल, बनेपा, पनौतीजस्ता बजारबाट लैजाँदा भरियालाई प्रतिकिलो ३० रुपैयाँसम्म ज्याला तिर्नुपर्ने बाध्यता रहेको साल्मेचाकल गाविस ५ का भवनाथ आचार्यले बताए । नुन, तेल, दाललगायत खाद्यान्न गाउँमा लैजाँदा र गाउँबाट उत्पादन हुने सामग्री बजारसम्म ल्याउन ढुवानीबापत प्रतिकिलो ३० रुपैयाँ तिर्दै आएका छौं, उनले थपे, यो त ट्रकबाट झारेपछिको खर्च मात्र हो । अझ ट्रकलाई तिनुपर्ने भाडा छुट्टै छ । सामानमा तोकिएको मूल्यभन्दा तेब्बर खर्च गरेर नुन किन्नुपर्ने बाध्यता छ ।

बजारमा १८ रुपैयाँमै पाइने एक किलो आयोडिनयुक्त नुन डाँडापारिको बजारमा ५० रुपैयाँभन्दा बढी तिर्नुपर्छ । सहरको भन्दा गाउँमा सबै सामानको मूल्य दोब्बर-तेब्बर पर्छ । यो हाम्रो बाध्यता होु, डाँडागाउँ गाविसकी मीना घलानले भनिन् । उनले गाउँमा उत्पादित खुवा, छुर्पी, मख्खनलगायत उत्पादन यातायातको सुविधा पुगेको बुढाखानी गाविससम्म ल्याउन नै भरियालाई प्रतिकिलो २५ रुपैयाँ तिर्ने गरेको उनको भनाइ छ ।घलान र आचार्य त प्रतिनिधि पात्र मात्र हुन् । यस क्षेत्रका बासिन्दाले उत्पादन लागतभन्दा ढुवानी खर्च बढी बेहोर्दै आएका छन् । आफूले उत्पादन गरेको कृषि उपज धेरै सस्तो मूल्यमा बेच्नुपर्ने र बजारबाट ल्याएको सामानको मूल्य उत्पादन लागतभन्दा तेब्बर तिर्नुपर्ने बाध्यतामा यहाँका स्थानीय छन् ।

सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर टाढाका गाविस बनखुचौर, घर्तीछाप, गोकुले, साल्मेचाकल, फलामेटार, डाँडागाउँ, साल्धारालगायत गाविसका बासिन्दाले यसरी नै दैनिक आवश्यकताका सामग्री महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता छ ।कोदो, फापर, मकै मात्र फल्ने यो दुर्गम क्षेत्रलाई जिल्ला कृषि विकास कार्यालयले खाद्यसंकट हुने गाविसमा राखेको छ । यहाँका बासिन्दालाई भूकम्पपछि पुनर्निर्माणका लागि निर्माण सामग्री र कच्चापदार्थ ल्याउनसमेत समस्या हुने गरेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us