काठमाडौ । नेपालमा घोडा र गधाको मासु आयात हुँदै आएको छ । पछिल्लो केही वर्षदेखि नेपालमा घोडा र गधासँगै खच्चरको मासु आयात हुन थालेको हो । नेपालमा मुख्य गरी चीन, बेलायत र फ्रान्सबाट यस्ता जनावरको मासु आयात हुँदै आएको छ । राँगा, खसी, भेडा, कुखुरा, सुँगुर र बंगुरबाहेक गिनी, गिज, डल्फिनको मासु पनि आयात हुन्छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२र२०७३ मा फ्रान्सबाट तीन लाख ९६ हजार आठ सय ६९ मूल्य बराबरको एक सय ३५ किलो घोडा, गधा र खच्चरको मासु आयात भएको थियो । यस्तै अघिल्लो आर्थिक वर्ष २०७१र०७२ मा बेलायतबाट तीन हजार नौ सय ६७ मूल्यबराबरको ६ किलो यस्ता मासु आयात भएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०६८र०६९ मा चीनबाट दुई हजार नौ सय २५ मूल्य बराबरको घोडा, गधा र खच्चरको २५ किलो मासु आयात भएको थियो । नेपालमा आयात हुने यस्ता मासु पाँचतारे होटेल, ठूला रेस्टुराँ, कूटनीतिक नियोग र विभिन्न मुलुकबाट पर्यटकका रूपमा आउने पाहुनाले उपभोग गर्दै आएका छन् । ‘पछिल्लो समयमा यस प्रकारका मासु नेपाल भित्रिन थालेको हो’, भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले भने, ‘खाने बानीमा आएको परिवर्तन र जिब्रोको स्वाद फेर्न अहिले यस्ता विभिन्न प्रकारका मासुको उपभोग बढ्न थालेको छ ।
जसले गर्दा विभिन्न जनावर र पन्छीको मासुको आयात भइरहेको छ । यस्ता मासुको उपभोगकर्ता बाहिरका पर्यटकका साथै केही नेपाली पनि छन् ।’ यस्ता मासु उपत्यकाको ठूला होटेलबाहेक पोखरा, चितवनलगायतका स्थानमा पनि पुग्ने गरेको छ ।तथ्यांकअनुसार नेपालीले घरमै बसेर १७ वटा मुलुकबाट आयातित मासु उपभोग गर्दै आएका छन् । नेपालीले चीन, भारत, अस्ट्रेलिया, अस्ट्रिया, अमेरिका, थाइल्यान्ड, डेनमार्क, मलेसिया, न्युजिल्यान्ड, बेलायत, स्पेन र ब्राजिलबाट आयात भएका मासु उपभोग गर्दै आएका छन् । यसैगरी फ्रान्स, सिंगापुर, बेल्जियम, इटली र नेदरल्यान्डबाट मगाइएका विभिन्न जनावरका मासुका परिकार पनि नेपालीले खाँदै आएका छन् ।