Friday, 4 November 2016

भारतीय राष्ट्रपति मुखर्जीले गरे जानकी मन्दिरमा विशेष पूजा

जनकपुरधाम । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले धनुषाको जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा गरेका छन्। शुक्रबार बिहान जनकपुर पुगेका भारतीय राष्ट्रपति मुखर्जीले प्राचीन मिथिलाको राजधानी जनकपुरको जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन्।

भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित स्वर्णमयी जानकीजी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशष पूजाअर्चना गरेका थिए। राष्ट्रपति मुखर्जीले मन्दिरमा रहेको प्राचीन मूर्तिको पनि पूजा गरेका थिए। यसअघि भारतीय राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरका महन्त रामतपेश्वर दासले वैदिक र मैथिल संस्कृति अनुसार स्वागत गरेका थिए। मुखर्जी बुद्ध एयरको बिमानमार्फत जनकपुर आएका मुखर्जीलाई जनकपुर विमानस्थलमा उपप्रधान एवम् गुहमन्त्री विमलेन्द्र निधिले स्वागत गरेका थिए। 

भारतीय राष्ट्रपति मुखर्जी जानकी मन्दिरमा पूजा अर्चना सकेपछि नागरिक अभिनन्दन ग्रहणका लागि तिरहुतिया गाछी पुगेका थिए। जानकी मन्दिरमा पूजा गर्ने मुखर्जी भारतका तेस्रो राष्ट्रपति हुन्। यसअघि भारतका राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us