गुल्मी । गुल्मीमा परम्परागत रुढीवादी परम्परालाई चिर्दै एक दलित र गैरदलित जोडीले भब्यरुपमा विवाह गरेका छन् । रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका धु्रव सुनार र पाल्पाकी सिर्जना श्रेष्ठले सामाजिक संस्कारअनुसार विधिबत ढंगले भव्यरुपमा विवाह गरेका हुन् ।
गहिरो प्रेम सम्बन्धबाट दुई जनाले विवाहमा परिणत गर्ने योजना बनाए । उनीहरुले समाजिक संस्कारअनुसार विवाह गर्दा घरपरिवारको समेत सहयोग पाएको बताएका छन् । उनीहरुले अरु अन्तरजातीय विवाह गर्ने जोडीले जस्तो वहिस्कृत हुन परेन् । उल्टै परिवारले नै धुमधामसँग विवाह गरिदिएका हुन् ।
सदरमुकाम तम्घासबाट जन्ती लिएर गएका सुनारलाई पाल्पा अर्गेलीका श्रेष्ठ परिवारले भव्य स्वागत गरे । सुरुमा भागी विवाह गरेका उनीहरुलाई श्रेष्ठ परिवारले सहर्ष स्वीकार गरेर विधिवत विवाहको प्रस्ताव राखेका थिए ।
यतिमात्र नभई श्रेष्ठ परिवारले कुनै दर दाजुभाइबाट कुल निकालाको धम्की सुन्नु परेन । आफन्तजनबाट पानी बाराबारको तृच्छ बचन सुन्न परेन । सबै एक मत थिए । त्यसैले त उक्त विवाह जिल्लाकै नमुना विवाह बन्न पुग्यो ।
दशैंको मुखैमा भएको उक्त विवाहको रोचक त के थियो दलित समुदायका जन्तीहरुलाई स्वागत गर्न श्रेष्ठ परिवार रिडीको पुलसम्म पुगेका थिए ।जन्ती पर्छिए लगत्तै वेहुला वेहुलीलाई हातमा समातेर घरको ढोका अगाडी सजाईएको विवाह मण्डपमा लगेर उभ्याउँदै उनीहरुको पाउ वरीपरी अम्खराको जलले पुज्दै विधिवत विवाह र टिकाटाला गरी विवाह गरिदिए ।