Sunday, 16 October 2016

राष्ट्रपति भण्डारीकी छोरी र पूर्वराष्ट्रपति यादवका नातिबीच आगामी माघमा विवाह हुने

२०७३- गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीको परिवार साइनोमा जोडिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति डा. यादवका नाति अभिषेक यादवसँग हुन लागेको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुको इङ्गेज्मेन्ट (टिकाटालो) भएको छ ।

अभिषेक पूर्व राष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुशुमबीच विवाहको प्रसङ्ग २ वर्षदेखि नै चलेको थियो । अध्ययनलगायतका कारणले सरेको थियो । यही माघमा विवाह गर्ने तयारीमा दुवै परिवार रहेको यादवको पारिवारिक स्रोतले कान्तिपुरलाई बतायो ।

टिकाटालो कार्यक्रम गोप्य राखिएको थियो । दुई राजनीतिक पृष्ठभूमिको परिवार बीचको कार्यक्रम भए पनि समारोहमा दलका कार्यकर्ताको उपस्थिति थिएन । एमाले अध्यक्ष केपी ओली भने पत्नी राधिकासहित शितलनिवास पुगेका थिए ।

‘पारिवारिक कार्यक्रम भएकाले हल्लाखल्ला गर्नुपर्ने कारण भएन । धेरैलाई बोलाएका पनि थिएनौं,’ अभिषेकका पिता मुनिलाल यादवले भने । २९ वर्षीय अभिषेक बुढानिलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् ।

उतिबेलादेखि प्रेममा रहेका दुवैको परिवारिक सहमतिमा विवाह हुन लागेको हो । अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लण्डनबाट अर्थशास्त्रमा उच्च अध्ययन गरेका छन् । निशाकुसुमले भने नयाँ दिल्लीबाट एमबिबिएस गरेकी छन् । ‘ज्योतिषीबाट हेराई विवाहको दिन तय गर्ने भनिएको छ’, शितल निवास स्रोतले बतायो ।

टिकाटालो कार्यक्रम नेपाली सेनाको टुकडीले मंगलधुन बजाई सुरु गरिएको थियो । मंगलधुनपछि ५ जना पण्डितले स्वस्ती पाठ गरेका थिए । राष्ट्रपति भण्डारीले अभिषेक र निशाकुसुम दुवैलाई टिका र माला पहिर्‍याएकी थिइन् । कार्यक्रममा पूर्व राष्ट्रपति यादव भने उपचारका लागि अमेरिकामा रहेकाले सहभागी भएनन् । एमालेका तत्कालीन महासचिव दिवंगत मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी छन् । जेठी छोरी उषाकिरणको विवाह भइसकेको छ । कान्तीपुर

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us