Wednesday, 12 October 2016

चिर्पटले हानेर ६ वर्षे छोरीको हत्या

रोल्पा मिझिङ गाविस–६ मा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन् ।

लिवाङ नगरपालिका–२ खुमेल घर भई हाल मिझिङ–६ रोल्पा माइतीघर बस्दै आएकी धना बुढाथोकीले गए राती ९ बजे दाउराले पिठ्यूँमा हिर्काएर आफ्नै छ वर्षीया छोरी झकमा बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव बस्नेतले बताए ।

नौ महिनाको गर्भवतीसमेत रहेकी धना छ वर्षकी छोरी र डेढ वर्षको छोरासँग बस्दै आएकी थिइन् । मानसिक सन्तुलनसमेत ठीक नभएकी उनको श्रीमान् गोपाल बुढाथोकीले ज्याला मजदुरीको सिलसिलामा धनगढीमा रहेको प्रहरीले बताएको छ ।

स्थानीयवासीले घटनाका सम्बन्धमा इप्रका सुलिचौरमा सूचना गरेपछि घटनास्थल पुगेका प्रहरीले अभियुक्त बुढाथोकीलाई नियन्त्रणमा लिई इप्रका सुलिचौरमा राखेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

यसैगरी उत्तरी रोल्पाको थवाङ–८ का ३८ वर्षीया सोनाकुमारी नेपालीलाई अपरिचित व्यक्तिले गएराति प्रहार गरेको ढुङ्गावाट टाउको र दायाँ कानको कन्चटमा लाग्दा गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बेहोस अवस्थामा रहेकी नेपालीलाई उनका आफ्नै श्रीमान् ध्रुव नेपालीले ढुङ्गा हानेको हुन सक्ने आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए । रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us