Sunday, 2 October 2016

खोला तर्दा मरिने डर, लौ हेर्नुस् त यसरी तर्छन बझाङबासी खोला (फोटो फिचर)

बझाङ । बझाङको काँडा गाविसका विभिन्न खोलामा पुल नहँदा  यहाँका बासिन्दा मर्कामा परेका छन् । स्थानीय बासिन्दाका साथै यस क्षेत्र भएर तिब्बत जाने र यार्सालगायतका जडिबुटी संकलन गर्ने मानिसले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता  छ । केही खोलामा स्थानीयबासिन्दाको सक्रियतामा बनेका काठेपुलहरु पनि असार साउनमा आएको बढीले बगाएपछि स्थानीयबासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । पुल बगाएपछि स्थानीयबासिन्दाले काठ ते¥स्याएर खोला तर्ने गरेका छन् । यसरी खोला तर्दा कहाँ कतिखेर लडिने पत्ता नभएको उनीहरुले बताए ।

गएको वर्ष पनि काठ तेर्‍स्याएर सेती नदी तर्ने क्रममा खसेर कैलास गाविसका चार जनाको जयान गएको थियो । यसरी जोखिम तरिकाले खोला तर्दा धेरैले अकालमै ज्यान गुमाउनु परेको स्थानीय बसन्त बोहराले बताउनुभयो । तिब्बतको मानसरोवर कैलास जाने तिर्थयात्री, चीनको ताक्लाकोट जाने व्यापारी तथा स्थानीय र यार्सा संकलक हिँड्ने मूल बाटोमा रहेका थरुनीघाट खोला, राम खोला, लोकन्ते खोला, घाटगंगा खोला, औलागाड खोला र सेती नदीको बिचपानी, इङगलद्धार र स्याङवन लगायतका खोलामा पुल छैनन् । पुल नभएपछि हत्केलामा ज्यान राखेर नदी तर्नु परेको काँडाका गाविसका स्थानीय मानबहादुर बोहराले बताउनुभयो ।

‘पुल नहुँदा साह्रै जोखिम छ । एउटा काठको सहारामा नदी तर्दा काठ भाँचिने सम्भावना हुन्छ । राम्रोसँग अडिएको छैन भने हल्लिएर पनि मान्छे बिच भँगालोमा खस्ने डर हुन्छ । यो ठाउँको यात्रा गर्दा धेरै पटक ज्यान हत्केलामा राख्नु पर्छ’ स्थानीय गोरख बोहराले भन्नुभयो ।

पुल नहँदा यस क्षेत्रका स्थानीय मर्कामा परेको काँडा गाविसका सचिव धनबहादुर घर्तीले बताउनुभयो । काँडा गाविसमा मात्रै ७ वटा पुलको आवश्यता रहेको र पुल निमार्णका लागि गाविसले जिविसमा पटक पटक पहल गर्दा पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । 

जिविसले भने झोलुङ्गे पुल विस्तार कार्यक्रमका लागि प्राविधिक यमराज खत्रीलाई काँडा गाविस पठाएको र ठाउँ एकदम दुर्गम भएकाले सामान ढुवानी गर्न समस्या हुँदा पुल निर्माणमा ढिलाइ भएको जनाएको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us