Sunday, 2 October 2016

हङकङमा नेपालीबीच खुकुरी हानाहान, प्रहरीद्वारा ४ राउण्ड गोली प्रहार

हङकङ । हङकङमा नेपालीले नेपालीलाई नै खुकुरी प्रहार गरेका छन् । नेपाली समुदायबीचमा भएको झडपलाई नियन्त्रणमा लिनका लागि हङकङ प्रहरीले चार राउण्ड गोली प्रहार गर्नु परेको छ । घटनामा ३ जना नेपाली गम्भिर घाइते भएका छन् ।

आइतबार विहान करिब ६ः०५ बजेतिर हङकङको स्थानीय ठाउँ जोर्डनमा नेपाली समुदायका व्यक्तिबीच झडप भएको थियो । ट्याक्सी चालकले झडप देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा पनि उनीहरुबीच झडप भइरहेको थियो ।

प्रहरीले उनीहरुलाई झगडा रोक्न आदेश दिए पनि उनीहरु निरन्तर खुकुरी प्रहार गर्न लागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड फायरिङ गरेको थियो ।

फायरिङपछि झडपमा संलग्न ३ जना गम्भिर घाइते भएको साउथ चाइना मर्निङले जनाएको छ । झडप गर्नेहरु मध्ये एकसँग धारिलो हतियार पनि रहेको प्रहरीलाई उद्घृत गर्दै उक्त समचार संस्थाले जनाएको छ ।

झडपमा संलग्न तीन घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हङकङ प्रहरी प्रवक्ताले बताएका छन् ।

दुई जना आक्रमणकारीलाई भडप नगर्न आदेश दिए पनि उनीहरुले नसुनेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता मा वाई हिङले भनेका छन्, ‘पहिले हामीले स्थिती नियन्त्रणमा लिन घुँडा मुनी गोली चलायौं, तर आक्रमणकारीले पीडितलाई आक्रमण गर्न नछोडेपछि बाध्य भएर शरिरका अन्य भागमा पनि गोली चलाउन बाध्य भएका हौं ।’

प्रत्यक्षदर्शी एक महिलाले भनेकी छिन्,‘यो ठाउँमा विदाका दिनहरुमा निकै झगडाहरु हुनेगरेका छन्, आज विहानको घटनाले मलाई निकै त्रसित तुल्याएको छ । गोली चलेको सुनेर बाहिर निस्कँदासम्म प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिइसकेको थियो ।’

प्रहरीले गोली चलाएपछि एक घाइते नजिकै रहेको ट्याक्सीमा चढेका थिए । तर उनलाई ट्याक्सीबाट बाहिर निकालिएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us