Wednesday, 5 October 2016

यसरी किनौं दसैंका लागि खसी

काठमाडौं । दसैंमा मासु खान खसीबोका खरिद गर्न खोज्दै हुनुहुन्छ भने खसीबोकासम्बन्धी सम्पूर्ण जानकारी लिएर किनमेल गर्दा उत्तम हुन्छ । आवश्यक जानकारीबिना खरिद गरिने खसीबोकाले दसैंपर्वको रमझम बेस्वादिलो बनाउन सक्छ ।

उपत्यकाको कलंकीस्थित खसीबजार, टुकुचा, बिजुलीबजारलगायतका ठाउँमा भारतबाट आयात हुने र स्वदेशमै उत्पादन हुने खसीबोका बिक्रीमा राखिएका छन् । बजारमा कोही सेता छन्, कोही काला छन् । कोही खैरो छन् भने कोही मधुरो रातो रङका भुत्ला भएका खसीबोका यत्रतत्र छन् । कुनै हृष्टपुष्ट छन् ।कुनै निकै अग्ला छन् भने कुनै होचा पनि छन् । हेर्दा सबै खसीबोका किनौंकिनौं लाग्छ । लाग्छ ती सबै खसीबोका स्वस्थकर छन् । सबैको मासु एकनाश छ । सबैको मूल्य समान छ । यो सोचाइ राखेर खसीबोका खरिद गर्दै हुनुहुन्छ भने तपाईंको छनोट गलत हुनसक्छ ।

विज्ञहरूका अनुसार दसैंमा बिक्री हुने खसीबोका खरिद गर्दा केही आधारभूत विषयवस्तुमा ध्यान दिनुपर्ने हुन्छ । विज्ञहरू भन्छन्, ुस्वादिलो मासुको उपभोग गर्न सकेसम्म स्वदेशमा उत्पादन भएका लोकलु जातका खसीबोका रोजौं । भारतबाट आयात हुने खसीबोका व्यावसायिक नाफा प्रयोजनका लागि उत्तम मानिए पनि स्वाद र स्वास्थ्यका लागि लोकल जातको खसीबोका उत्तम मानिन्छ ।

चौपाया खरिदबिक्री सेवा संघका पूर्व अध्यक्ष दीपक थापाका अनुसार स्वास्थ्यलाई ध्यानमा राखेर मिठो स्वाद भएको मासु खाने हो भने लोकल जातकै खसीबोका रोज्दा उत्तम हुन्छ । मूल्यमा लोकल जातका खसीबोका भारतीय खसीबोकाभन्दा केही महँगो भए पनि स्वदेशको उत्पादन राम्रो भएको उनले बताए । लोकल र भारतीय खसीबोका टाढाबाट हेर्दा उस्तै देखिए पनि नजिकबाट हेर्दा फरक छुट्ट्याउन सकिन्छ । दसैंमा बिक्री हुने खसीबोकामा सबैभन्दा पहिले सिङमा हरियोु र रातोु रङ लगाइएको आधारमा छनोट गर्नुपर्छ । हरियो रङले स्वास्थवद्र्धक छ भन्ने जनाउँछ भने रातो रङले अस्वस्थकर छ भन्ने बुझाउँछ । सरकारले दसैंमा उपत्यकामा भित्रिने सम्पूर्ण खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ्य भेटिएको अवस्थामा सिङमा हरियो रङ र अस्वस्थ भेटिएमा सिंहमा रातो रङ लगाइदिन्छन् । खसीबोका खरिद गर्दा पहिलो छनोटको आधार यसैलाई मान्नुपर्छ ।
त्यसपछि लोकल खसीबोका खरिद गर्ने वा भारतीय खसीबोका खरिद गर्ने भन्नेमा निक्र्योल गर्नुपर्ने पशुपन्छी मन्त्रालयका पशु चिकित्सक डा। मुकुल उपाध्यायले बताए । स्वादिलो मासु र धेरै दिनसम्म राखेर खानुपर्ने छ भने लोकल जातकै खसीबोका खरिद गरेको जाती । यसका लागि खसीबोकाको शरीरमा दाग  (शरीरका भुत्ला कैंचीले टाटेपाटे गरी काटिएको ) छ वा छैन हेर्नुपर्छ । लोकल खसीबोकाको शरीरमा दाग हुँदैन ।

अर्थात् कैंचीले शरीरको भुत्ला टाटेपाटे गरी काटिएको हुँदैन । भारतीय खसीबोकाको भुत्ला काटिएको हुन्छ । त्यस्तै लोकल खसीबोकाको शरीरमा भुत्ला बढी हुन्छ । लोकल खसीबोका फुर्तिला, हृष्टपुष्ट, चञ्चले हुन्छन् । त्यस्ता खसीले स्याउला, घाँसपात, मकैलगायत सबै सामग्री खान्छन् भने भारतीय खसीबोका एकलकाटे, दुब्ला, पातला र बिरामीजस्ता देखिन्छन् । भारतीय खसीबोका गहुँ र चना बढी रुचाउँछन् । ुभारतीय खसीबोकाको तुलनामा लोकल खसीबोकामा मासु केही कम हुन्छ । बोसो निकै कम हुन्छ । तर स्वस्थकर र स्वादिलो मासु लोकलमै हुन्छु, डा। उपाध्यायले भने । उनका अनुसार लोकल खसीबोकाको मासु केही दिनसम्म पनि जर्गेना गरी खान मिल्छ । तर भारतीय मासु धेरै दिनसम्म राखेर खान मिल्दैन ।

भारतीय खसीबोका खरिद गरेर घरमा पनि धेरै दिनसम्म राख्न मिल्दैन । हावापानी र चरन सामग्री अमिल्दो भएर केही दिनमै भारतीय खसीबोका बिरामी हुने खतरा हुन्छ । यसबाहेक स्वस्थ खसीबोका छनोट गर्न केही अन्य आधारभूत लक्षणमा पनि ध्यान दिनुपर्छ । श्वासप्रश्वास बढ्ने, नाक, मुख र आँखाबाट र्‌याल(सिँगानजस्तो आएको र ज्वरो आएको खसीबोका सकेसम्म खरिद गर्नु हुन्न ।

यसैगरी टाउको आकाशतिर उचालेर फनफनी घुम्ने, कराउने र लड्नेजस्ता लक्षण देखिएका खसीबोका पनि खरिद गर्नुहुन्न । मुखबाट र्‌याल आउने, असामान्य रूपमा कराउने, छिनछिनमै दिसा गर्ने र खुट्टाले भुइँ कोट्याइरहने खसीबोका पनि अस्वस्थ मानिन्छ । त्यसैगरी खसीबोकाको गिजा र खुट्टाको खुरमा घाउ आएको, नखाने, सुस्त र झोक्राउनेजस्ता लक्षण देखिने खसीबोका पनि लगत रोजाइँ हुन सक्छ ।

भारतीय खसीबोका चार सय ४७ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ भने लोकल जातका जिउँदो खसीबोका प्रतिकिलो चार सय ६५ रुपैयाँका दरले व्यवसायीले बिक्री गर्दै आएका छन् । लोकल जातका खसीबोका लहान, जनकपुर, कटारी, सल्यान, सुर्खेत, कोहलपुर, बर्दिया, सिन्धुली, नुवाकोट, धादिङलगायतका जिल्लाबाट उपत्यकामा भित्र्याइन्छ । दसैंमा राजधानीमा १० देखि १५ हजारको संख्यामा लोकल खसीबोका बिक्री हुन्छ । उपत्यकामा खपत हुने खसीबोकामध्ये ८५ प्रतिशत भारतबाट आयात हुन्छ । दसैंमा मात्रै राजधानीमा ४५ हजार खसीबोका खपत हुन्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us