काठमाडौं । नेपाली नागरिक लुना रञ्जितको नाममा अमेरिकाको न्यूयोर्कमा लुना रञ्जित दिवस मनाइने भएको छ ।
अमेरिकामा रहेका विभिन्न देशका नागरिकका लागि शिक्षा, स्वास्थ्य, अनुवाद, रोजगारीका लागि अधिकार नामको संस्था खोलेर ११ वर्षदेखि ती क्षेत्रमा सहयोग गर्दै आएकी लुना रञ्जितको योगदानको कदर गर्दै न्यूयोर्कका मेयर ब्याजियोले उनको नाममा हरेक सेप्टेम्बर २८ तारिखमा दिन लुना रञ्जित दिवस मनाउने घोषणा गरेका हुन् । जसअनुरुप गत २८ सेप्टेम्बरमा लुना रञ्जित दिवस मनाइएको थियो ।
लुनालाई यसअघि ग्रिनेल कलेजले एक लाख डलरको पुरस्कारले सम्मानित गरेको थियो । लुनाकै संस्थागत पहलमा न्यूयोर्कमा घरेलु कामदार बालबालिकाको अधिकारसम्बन्धी कानुन पनि पारित भएको छ ।
को हुन् लुना रञ्जित ?
अधिकार अर्थात् अधिकार फर सोसल जस्टिस एन्ड ह्युमन राइट्स । यो संस्थाले आफ्नो स्थापनाको एघार वर्र्ष पूरा गरेको छ । ‘अधिकार’ की प्रमुख सारथी हुन् लुना रञ्जित ।
यसले धेरै नेपालीलाई सहयोग गरेको छ । सन् २००५ जुलाईमा स्थापना भएको ‘अधिकार’ ले हरेक वर्ष सयौं नेपालीलाई स्वास्थ्य सेवाका अतिरिक्त निःशुल्क ट्याक्स, इमिग्रेसन, श्रम अधिकार, दोभासे आदिका कार्यशाला, गोष्ठी एवं तालिम सञ्चालन गर्दै आएको छ ।
३९ वर्षीय लुनाले सृजना श्रेष्ठ, रश्मी श्रेष्ठ, ताफाद्जा पासिपान्डोयालगायतसँग मिलेर स्थापना गरेको संस्था हो अधिकार ।