काठमाडौं । प्रमुख प्रतिपक्षी हुँदा २०४८ सालमा मनमोहन अधिकारीले सुरु गरेको चियापानलाई निरन्तरता दिँदै नेकपा एमालेले चाडबाडको मौका छोपेर आज चियापान कार्यक्रम गर्यो। पार्टी कार्यालय धुम्बाराही नजिकै शंखपार्कमा गरिएको कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु पनि पुगे।
सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अलि ढिलो गरी कार्यक्रममा देखा परे। एमाले अध्यक्ष केपी शर्माले ओलीले स्वागत गरे र उनलाई सँगै बसाए।
त्यही बेला सञ्चारकर्मीहरुले प्रश्न राख्न थालिहाले संविधान संशोधनको प्रस्ताव कसरी लैजानुहुन्छ, ओलीले औंल्याएपछि देउवा नै बोल्न अघि सरे, संविधान संशोधन गर्नुपर्छ। बिनासहमति दुई तिहाइ हुँदैन। संशोधन प्रस्तावका लागि सहमति त चाहिन्छ।
ओलीतिर हेर्दै देउवाले उहाँहरु पनि सहमतिमा आउनुहुन्छ भन्ने कांग्रेसलाई विश्वास छु भनेपछि सञ्चारकर्मीको प्रश्न ओलीतिर मोडिय निर्वाचन हुन्छ त?
ओलीले भने, गर्नुपर्छ ।
उनको भनाइ टुंगिन नपाउँदे देउवा अघि सरे, निर्वाचन हुन्छ, हुन्छ, हुन्छ‘ गर्ने, गर्ने, गर्ने‘
सत्ता साझेदार कांग्रेसलाई त सुतेको बाघ भन्नुभाथ्यो नि। आज त सँगै हुनुहुन्छ ? सञ्चारकर्मीको प्रश्न ओलीमाथि ओइरियो।
म जगाइरहन्छुु उनले यत्ति जवाफ दिए र मुसुक्क हाँसे।
बाघलाई जगाइराखे त आफैंलाई खतरा होला नि ?
कांग्रेसलाई किन सानो भन्नु भनेर बाघ नै भन्दिएको हुँ,ओलीले हाँस्दै भने। सहभागी र सञ्चारकर्मीबीच पनि एक छिन हाँसोको लहर चल्यो।
संविधान गतिशील दस्तावेज भएकाले आवश्यकता र औचित्यको आधारमा संशोधन गर्न सकिने उनको भनाइ थियो। माओवादी र अन्य पार्टीसँगको छलफलबारे भने ओलीले केही भन्न चाहेनन्।
अरु पार्टीबीचको कुरामा पस्नु ठिक छैन। थप राजनीतिक कुरा नगरौं, उनी राजनीतिमा पस्नै चाहेनन्, चियापानुको माहोल जो थियो।