Wednesday, 26 October 2016

साउदी विमानस्थलमै चोरियो नेपाली कामदारको सामान

काठमाडौं । केही दिन अघि साउदी अरेबियाबाट दुबई हुँदै नेपाल आएका नेपाली कामदारको सामान साउदीकै एयरपोर्टमा चोरी भएको भेटिएको छ । साउदीको जेद्दा विमानस्थलबाट फ्लाइट दुबईको जहाज चढेर नेपाल आएका १८ कामदारको झोला साउदीमै फोडिएको फेला परेको हो । त्रिभुवन विमानस्थल आफँैले गरेको अध्ययनबाट नेपाली विमानस्थलमा ती कामदारहरूको झोला नफोडिएको देखिन्छ ।

‘सिसिटीभीका फुटेजहरू र हाम्रो अनुसन्धानले कामदारको झोला नेपालमा खोलीएको देखिँदैन,’ त्रिभुवन विमानस्थलका कर्मचारी तथा अध्ययन समितिका सदस्य छवि खनालले भने, ‘जहाज चढ्नु भन्दा पहिले नै झोला खोलिएको हुन सक्छ, तर हामी कसैलाई आरोप लगाउन चाहदैनौं ।’

उक्त अध्ययन प्रतिवेदन र पीडितहरूले बताएका विवरण अनुसार साउदीकै विमानस्थलका कर्मचारी वा त्यहाँको सुरक्षा कर्मचारीले नेपालीको झोला फोडेको देखिन्छ । झोला फोडिएकाहरू नेपाली कामदारहरू पहिले साउदीको कानुन उल्लंघन गरेकोमा जेल परेका व्यक्तिहरू हुन् ।

जेलबाट सिधै उनीहरूलाई त्यहाँको सरकारले नेपाल पठाएको हो । उनीहरूले बोकेर ल्याएको झोला त्यहाँको प्रहरीले नै जहाजसम्म पु–याउने गरी उनीहरूलाई रित्तै जहाजमा पठाइएको थियो । उनीहरूलाई रित्तै जहाजमा पठाएपछि त्यहाँकै प्रहरीले मात्र उनीहरूको झोला खोल्न सक्ने अवस्था रहन्छ । घटनाक्रम अनुसार उनीहरूको झोला साउदीकै प्रहरीले फोडेको हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us