काठमाडौं । आगामी आर्थिक वर्षको असोजभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुने भएको छ ।
आगामी असारसम्ममा मेलम्चीको रिवर्मादेखि सुन्दरीजलसम्म २६ किलोमिटर लामो सुरुङको काम सम्पन्न गरी दसैंअगावै यसको तयारी, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल जडान सम्पन्न गर्ने लक्ष्य मेलम्ची खानेपानी विकास समितिको छ । असोजसम्ममा डिसिन्टिङ वेसिन निर्माण सम्पन्न नभए पनि डीआई पाइपको वाइपास निर्माण गरी पानी पथान्तरणको वैकल्पिक उपाय कार्यान्वयन गरी असोजभित्र उपत्यकामा पानि वितरण हुने समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए । व्यवस्थापिका संसद्को विकास समितिको बैठकमा आयोजनाको प्रगति विवरण पेश गर्दै भट्टराईले डिसिन्टिङ वेसिनको काम सम्पन्न नभए पनि वैकल्पिक व्यवस्था गरेर पानी वितरण गरिने जानकारी दिए ।
आयोजनाअन्तर्गत सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको पहिलो भागको परीक्षण गरी असारसम्म सञ्चालनमा ल्याइने, आगामी ०७४÷०७५ सम्म पानी प्रशोधन केन्द्रको क्षमता विस्तार सकिने लक्ष्य उनले सुनाए । आयोजनाको पहिलो चरणका लागि उपलब्ध स्रोतसाधनको क्षय हुन नदिन दोस्रो चरणको निर्माण सुरु गर्ने र असोजसम्म दोस्रो चरणको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार पारिने भट्टराईले बताए ।
काठमाडौं उपत्यकामा थप पानी ल्याउन मेलम्चीको रिवर्मादेखि ११ किलोमिटर लामो सुरुङ खनेर याङ्ग्री र लार्केखोलाबाट १७ करोड लिटरका दरले थप ३४ करोड लिटर पानी आपूर्ति बढाउने योजना रहेको उनले सार्वजनिक गरे । यो समेत गरी ९ महिना उपत्यकामा दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुनेछ । सुख्खायामको ३ महिनामा मेलम्चीबाट १७ करोड लिटरमात्र पानी आपूर्ति हुने उनले जानकारी दिए । याङग्री र लार्केखोलाबाट थप पानी आपूर्तिका लागि सुरुङलगायत अन्य संरचना निर्माणका लागि ठेकेदारसँग सम्झौता हुने काम अन्तिम चरणमा पुगेको छ । छनोट भएको ठेकेदारले धरौटी ल्याउन ढिलाइ गरेकाले सम्झौता हुन केही दिन ढिलाइ भएको उनले स्पष्ट पारे ।