Saturday, 22 October 2016

निःशुल्क औषधि पनि पैसा लिएर बेच्छन् सरकारी कर्मचारी

काभ्रे । जिल्लाका विकट गाविसका स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गरिने औषधिको समेत कर्मचारीले पैसा लिएका बेच्ने गरेका छन् ।

साल्मेचाकल गाविसस्थित तालढुंगा स्वास्थ्य चौकीका कर्मचारीले सरकारले निःशुल्क दिएको औषधिको पैसा लिने गरेको पाइएको छ । स्वास्थ्य चौकीले अन्य औषधिसमेत बिक्री वितरण गर्दै आएको स्थानीयको भनाइ छ । स्वास्थ्य चौकीबाट सरकारले तोकेका भन्दा बाहेकका औषधि बेच्न नपाइने कानुनी व्यवस्था छ तर सरकारले निःशुल्क वितरण गर्न दिएको औषधिसमेत चर्को मूल्यमा बेच्दै आएको स्थानीयको आरोप छ ।

१० वर्षदेखि तालढुंगा स्वास्थ्य चौकीले यसरी बिरामी ठग्दै आएको छ । साल्मेचाकल गाविसका कर्ण विकले भने, स्वास्थ्य संस्थामा निःशुल्क औषधि छैन भन्छन् तर पैसा तिरेपछि जति पनि पाइन्छ । उनले थपे, औषधिमा लेखिएको मूल्यभन्दा महंगो तिर्नुपर्छ ।

ज्वरो र टनसिल भएर उपचारका लागि चार घन्टाको पैदल हिँडेर स्वास्थ्य चौकी पुगेका डाँडागाउँ गाविस ८ का नरबहादुर घलानले पनि निःशुल्क औषधि पाएनन् तर दोब्बर मूल्य तिर्न तयार भएपछि उनले स्वास्थ्य चौकीबाटै औषधि पाएको गुनासो पोखे । निःशुल्क औषधि सकिएको छ भन्दै ज्वरोले थलिका घलानले तालढुंगा स्वास्थ्य चौकीका कर्मचारीले स्वास्थ्य केन्द्रबाटै औषधि बिक्री गरेको बताए ।

उनले स्वास्थ्यकर्मीको कोठाबाट ओफ्लान्टिन १९ रुपैयाँ, प्रोटोजिल ५५ रुपैयाँ र डीएफ एनाफ्लाम ९० रुपैयाँ गरी एक सय ६५ रुपैयाँको औषधिलाई तीन सय रुपैयाँ तिरेको बताए । साथीलाई टनसिल भएर औषधि लिन आएका डाँडागाउँ गाविसका कविन्द्र गोलेले पनि स्वास्थ्य चौकीबाट आफूहरू ठगिने गरेको बताए । हामीलाई किन्न बाध्य पारिन्छ । लैजाउँ महंगो, नलैजाउँ बिरामी भएर सास्ती भोग्नुपर्छु, उनले भने ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us