Wednesday, 26 October 2016

टीपीएसको म्याद फेरि बढ्यो: अमेरिकामा नेपालीलाई ढुक्क

अमेरिका .राष्ट्रपति निर्वाचन आउन दुई सातामात्र बाँकी छँदा ओबामा प्रशासनले भूकम्पपीडित नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) म्याद थप डेढ वर्षका लागि बढाएको छ । संघीय सरकारको यो निर्णयसँगै अब कागजपत्र नभएका नेपालीले सन् २०१८ जुन २४ सम्म अमेरिकामा बस्न र काम गर्न पाउनेछन् ।

गत वर्ष वैशाखमा गएको भूकम्पपछि त्यही वर्ष जुन २४ मा त्यो बेलासम्म अमेरिका प्रवेश गरेका नेपालीका लागि अमेरिकी सरकारले डेढ वर्षको टीपीएस सुविधा दिएको थियो । राष्ट्रपति उम्मेदवार डेमोक्र्याटिककी हिलारी क्लिन्टन र रिपब्लिकनका डोनाल्ड ट्रम्पबीच आप्रवासी नीतिमा आकाशजमिनको मतभेद रहेका बेला ओबामा प्रशासनले मंगलबार संघीय सरकारको वेबसाइटमा यस्तो सूचना प्रकाशित गरेको हो ।

यसअघि दिइएको टीपीएस सुविधाको म्याद आगामी डिसेम्बर २१ मा सकिने भएकाले अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीले यसको अवधि बढाउन विभिन्न निकायमार्फत पहल गरिरहेका थिए ।
डिसीमा रहेका सञ्चारकर्मी विजय थापाका अनुसार विभिन्न कारणले अमेरिका आएर नेपाल नफर्किएका नेपालीका लागि टीपीएस सुविधा लाभदायक हुन्छ । 'यो सुविधाले अवैध रूपमा अमेरिका बसिरहेका तथा बस्न कानुनी प्रक्रिया अगाडि बढाइरहेका नेपालीले काम गर्न पाउँछन्', थापाले भने ।

अघिल्लोपटक करिब १० हजार नेपालीले यो सुविधा लिएको र यसपटक बाँकी रहेका त्यत्ति नै संख्यामा थप नेपालीले यो सुविधा लिनसक्ने थापाले बताए ।

नेपालीलाई भूकम्पपीडितका नाममा टीपीएस सुविधासँगै कैयौं वर्षदेखि कागजपत्रबिनै अमेरिका बसिरहेका विद्यार्थी, शरणार्थी सुविधा खोजिरहेका तथा छोटो भिसामा आएका नेपालीलाई फाइदा पुगेको थियो । अघिल्लो वर्ष विभिन्न कारणले यस्तो सुविधा लिनबाट वञ्चित नेपालीले समेत यसपटक यसका लागि आवेदन दिन पाउनेछन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us