झापा । नेपालका विद्यालयमा भारतीय विद्यार्थीले अध्ययन गर्छन् भन्ने सुन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । अझ भारतको विद्यालयभन्दा नेपाली विद्यालयमा गुणस्तरीय शिक्षा दिइन्छ भन्दा त झन् आश्चर्य लाग्ला । तर, झापाको दक्षिणी क्षेत्र टाघनडुब्बामा रहेका मदरसाहरुमा थुप्रै भारतीय विद्यार्थी अध्ययनरत छन् ।
टाघनडुब्बा गाविसमा मात्र ११ वटा मदरसा छन् । जहाँ भारतको विहारस्थित कटिहार, माल्दा, दिघलबैंक लगायतका क्षेत्रबाट विद्यार्थी अध्ययन गर्न आउँछन् । त्यहाँको जमजम लिलबनात मदरसामा मात्र ७ जना भारतीय विद्यार्थी अध्ययनरत छन् । यो मदरसामा कुल विद्यार्थी सङ्ख्या १ सय ९० छ ।
यस क्षेत्रमा रहेका मदरसा मध्ये सबैभन्दा बढी सङ्ख्या भएको हो जमजम । अन्य मदरसामा पनि सोही अनुपातमा भारतबाट आएर विद्यार्थीहरु अध्ययन गर्छन् । भारतबाट किन विद्यार्थीहरु यहाँ पढ्न आउँछन् त रु मदरसाका संस्थापक अध्यक्ष जेबुल हक भन्छन्, ‘भारतमा भन्दा यतै राम्रो पढाइ हुन्छ भनेर ल्याउँछन् ।’
मदरसामा आउने अधिकांश विद्यार्थी नेपाली बोल्न जान्दैनन् । अरबी र उर्दू भाषाको भने उनीहरुसँग राम्रो ज्ञान छ । पढाई पनि यिनै दुई भाषाको माध्यमबाट हुन्छ ।
नर्सरीदेखि ५ कक्षसम्म जमजममा पढाइन्छ । यहाँ ६ जना शिक्षक छन् । तीमध्ये एक जना भारतकै छन् । झारखण्डका ती शिक्षकले कुरआन बारे पढाउँछन् । उनीसँग नेपाली भाषाको राम्रो ज्ञान छैन । विद्याथीका अनुसार उनले उर्दू भाषाको प्रयोग गर्छन् । अन्य शिक्षक भने स्थानीय नै हुन् ।
यहाँको वस्तुस्थिति बारे बुझ्दा जो कोहीलाई रोचक लाग्छ । मुस्लिम विद्यालयमा पढाउने शिक्षक गैर मुस्लिम छन् । अझ रोचक त के छ भने मुस्लिम समुदायको मदरसालाई क्रिश्चिय समुदायले सहयोग गरेका छन् ।
‘केही समयअघि क्रिश्चियन धर्मका जगत पौडेलले विभिन्न संघसंस्थासँग सहयोग सङ्कलन गरेर सहयोग गर्नुभयो’, संस्थापक अध्यक्ष हकले भने, ‘उहाँले हस्तान्तरण गर्नु भएको ५० हजार रुपैयाँले विद्यालयमा ४० वटा बेन्च जोड्यौं ।’