Tuesday, 18 October 2016

स्क्रब टाइफसबाट देशभरमा ३८५ संक्रमित, ९ जनाको मृत्यु

चितवन । देशभरमा गरी ६ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ।

विभिन्न जिल्लाबाट बैसाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट २ सय ४६ र स्क्रब टाइफसबाट हालसम्म ३ सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ।

महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले सङ्क्रमण भएका मध्ये दुई वटै रोगका बिरामी सबैभन्दा धेरै चितवनमा देखापरेको जानकारी दिए। केही जिल्लाको पछिल्लो विवरण आउन बाँकी भए पनि अहिलेसम्म प्राप्त विवरणअनुसार नेपालका ३८ जिल्लामा टाइफसको सङ्क्रमण भएको छ, शर्माले भने, चितवन लगायतका केही जिल्लामा डेङ्गु सङ्क्रमणसमेत बढेको छ।

चितवनसहित नवलपरासी, कपिलवस्तु, मकवानपुर जिल्लामा समेत डेङ्गु देखिएको छ। डेङ्गु र स्क्रब टाइफस रोगबाट चितवन जिल्लामा मात्रै ५ सय २६ जना सङ्क्रमित भएका छन्। बाँकी १ सय ५ जना मात्रै अन्य जिल्लाका अस्पतालमा उपचार गरिएका बिरामी हुन्, जसमा डेङ्गुका २७ र स्क्रब टाइफसका ७८ जना चितवनबाहिर रोग पुष्टि भएका बिरामी छन्। अरू सबै चितवनमा पुष्टि भएका बिरामी हुन्।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले डेङ्गुबाट चितवनमा उपचार गरेका २ सय १९ र स्क्रब टाइफसबाट हालसम्म ३ सय ७ जना सङ्क्रमित भएको जानकारी दिए। डेङ्गुको सङ्क्रमण बढ्दो रहे पनि स्क्रब टाइफसको सङ्क्रमण दरमा केही घटेको पाइएको उनले बताए।

इपिडिमियोलोजी शाखाप्रमुख डा शर्माका अनुसार २०७३ बैसाखदेखि अहिलेसम्म नेपालमा स्क्रब टाइफसबाट ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनका २, सङ्खुवासभाका २, कैलालीका २, तनहुँ, गुल्मी र भोजपुरका १र१जना छन्। अघिल्लो वर्ष १ सय १ जनामा टाइफस सङ्क्रमण हुँदा ८ जनाको मृत्यु भएको डा शर्माले जानकारी दिए।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us