काठमाडौं । विहीबार भूकम्पको दुई धक्का मापन भएको छ । विहीबार बिहान ७ बजेर २३ मिनेटमा सिन्धुपाल्चोकको रबिओपी गाविस आसपास केन्द्रबिन्दू भएर ३.७ म्याग्निच्यूडको पराकम्पन आएको हो ।
सो पराकम्पनको १५ मिनेटपछि अर्थात् बिहान ७ बजेर ३८ मिनेटमा नुवाकोटको कुमारी गाउँ आसपास केन्द्रबिन्दू भएर ३.८ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले इमेजखबरलाई जानकारी दिए ।
यी भूकम्पीय धक्का ती जिल्ला आसपास र काठमाडौंसम्म महसुस गरिएको थियो । यो गत वर्षको वैशाखमा गएको शक्तिशाली भूकम्पकै पराकम्पन भएको जनाइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले सामान्यतया ४ म्याग्निच्यूडभन्दा मुनिको पराकम्पन आफ्नो वेबसाइटमा प्रकाशित गर्दैन । आजका यी भूकम्पीय धक्का पनि उक्त वेबसाइटमा उल्लेख गरिएको छैन ।
४ म्याग्निच्यूडभन्दा मुनिको भूकम्प कम प्रभावको हुने र त्यसको असर खासै नहुने भएकाले पनि केन्द्रले वेबसाइटममा प्रकाशित नगरेको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार पछिल्लोपटक असोज २ गते सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४.६ म्याग्निच्यूडको पराकम्पन आएको थियो । जुन केन्द्रको वेबसाइटमा उल्लेख छ ।
केन्द्रकाअनुसार गत वर्षको वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछि हालसम्म ४ म्याग्निच्यूडमाथिका ४६९ ओटा पराकम्पन मापन भइसकेका छन् ।