Thursday, 20 October 2016

गयौ बाबा चढेर जहाजमा, फक्र्यौ बाकसमा

मृतक दीपेश सुनार
कालो बादल निलो आकाशमा
गयौ आमा चढेर जहाजमा, फक्र्यौ बाकसमा

मेरो मानसपटलमा यही गीत गुञ्जीरह्यो । जब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेँ । र, त्यो रातो बाकस देखेँ । जब म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ र आबुधावीबाट ल्याइएको रातो बाकस देखेँ, मेरो मानसपटलमा यही गीत गुन्जिरह्यो ।

विमानस्थलको बहिर्गमनबाट ठेलमठेल गर्दै मानिस लगेज गुडाउँदै बाहिरिँदै थिए । उनीहरूको लगेजमा छन् होला मूल्यवान् चीजहरू । तर, तिनै लगेजको भीडमा सकिनसकी एउटा रातो लामो बाकस गुडाइँदै थियो । र, बाकसभित्र थियो एउटा शव । त्यो पनि विदेशमा महँगो पैसा बुझाएर ल्याउन सफल भएको नेपाली युवाको लास ।


अफिस सकेर भर्खर डेरा पुगेको थिएँ । डेरा पुग्दा करिव करिव साँझको आठ बजिसको थियो । मोवाइलमा फोन आयोँ, ‘सर एयरपोर्ट जानुप¥यौ ।’ थन्कीसकेका पोसाकले दुःख पाए । हेलमेट समाए र निस्कीहालेँ ।

भदौको महिना । दिन छोटिँदै थिए । उज्यालोको नाममा बिजुलीको प्रकाश थियो । प्रकृतिले चिसो फुक्न सुरु गरिसकेको थियो । सडकमा दिनभर चिच्याउँदै जाम पार्ने सवारीसाधन घर–घरमा थन्किसकेका थिए । सडक खुला थियो । बरु वास बस्न थालेका झ्याउँकिरी र भोकाएका भ्यागुताहरूले कानलाई डिस्टर्ब गरिरहे ।

अध्याँरोलाई चिर्दै एयरपोर्ट गेटमा पुगेर ब्रेक लाग्यो । बाबा ! त्यहाँ त के दिन के रात । गेटसम्मै सवारीको लर्को थियो । रातको एयरपोर्ट अनुभव मेरा लागि पहिलो थियो । यो रातमा पनि विमानस्थल निकै आकर्षक देखिएको छ । मानिसहरुको भीड २० को १९ भएको छैन । जताततै झलमल्ल । एयरपोर्ट अगाडि एउटा पानीको फोहोरा छ । झिलिमिली प्रकाशले रंगहिन फोहोराको कलर चेञ्ज गरिदिएको छ । पानी त कहिले निलो, कहिले रातो कहिले पहेलो पो देखिन्छ । नीलो आकाशमा टल्कले ताराहरुले मात्र रातको संकेत दिन्छ ।

कोही प्रवेशद्वारबाट छिरिरहेका छन् । कोही आफन्तको प्रतीक्षामा छन् । ट्रलीमा सामान बोक्नेलाई एक सेकेन्ड फुर्सद छैन । होटेलवाला ग्राहक खोसाखोस गरिरहेका छन् । ट्याक्सी ड्राइभरका कान र आँखा दुवै सक्रिय छन् । कोही आँसु झार्दै बिदाइको हात हल्लाउँदै छन्, कोही ‘हग गर्दै खुसी साटिरहेका छन् । त्यहाँ दुःख र पीडाको आँसु चुहिरहेको छ, हर्षको पनि सँगै ।

हामी एउटा लास ‘रिसिभ’ गर्न एयरपोर्ट पुगेका थियौँ । यतिवेलासम्म मलाई सब सामान्य लागिरहेको थियो । दिनमा करिब १५ सय युवा रोजगारीका लागि विदेश छिर्छन् । जाबो दुई–चारवटा लास त आइहाल्छ नि ! कस्तो विडम्बना, विदेशमा मरेर स्वदेशमा लास ल्याउँदा सामान्य सोचिदिन्छौँ हामी । परिस्थिति जो विकास भएको छ ।

सरासर कन्सुलर विभाग पुग्यौँ । जवाफ आयो, ‘प्लेन ल्यान्ड भइसकेको छ, अझै आधा घन्टाजस्तो लाग्छ ।’ त्यसपछि मृतकका आफन्तलाई भेट्यौँ । जो शवको प्रतीक्षामा छन् । प्रतीक्षारत सबैको अनुहार निचोरिएको कागतीजस्तो भएको छ ।

मलाई त्यतिवेला मात्र कन्चटमा ‘हम्मर’ले हिर्काएजस्तो भयो जतिवेला जेटमा आउँदै गरेको शवको वास्तविकता थाहा पाएँ । देश देखेर दया लागेर आयो । देशका नागरिकप्रति माया लागेर आयो । अनि नेपाली हुनुमा गर्व होइन, लाज लागेर आयो । सरकारले विदेशमा नेपाली पठाएर प्रत्येक दिन आधा दर्जनजसो लास झिकाउँछ, अनि कसरी गर्व गर्न सक्छन् नेपालीले आफ्नो देशप्रति ?

केरबारी–६ रुपन्देहीका २४ वर्षीय दीपेश सुनारको शव रातो बाकसमा आउँदै थियो । २३ अगस्टमा उनी दुबई पुगेका थिए । चार दिनपछि अर्थात् २६ अगस्टको रातदेखि उनी बिउँझिएनन् ।

टुरिस्ट भिसामा युएई पुगेका दीपेशको शव ६ सेप्टेम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाजिर हुन आइपुग्यो । दुई लाखभन्दा बढी खर्च गरेर गएका थिए उनी । तर, उनको सपनालाई मात्र होइन, उनलाई नै निल्यो आबुधावीले । एकाएकको व्यथाले लग्यो उनलाई ।

दीपेशको त मृत्यु भयो । अब उनकी २२ वर्षीया श्रीमतीले के गर्ने ? तीन वर्षको एउटा छोरा छ । श्रीमतीको पेटमा अर्को सन्तान हुर्कँदै छ । श्रीमति अहिले सपनामा जहाज मात्र देख्छिन् । झस्केर बिउँझिन्छिन् र रुँदै रात बिताउँछिन् ।

मृतक दीपेश सुनारको परिवार

पसिना पुछ्दै धनबहादुर विश्वकर्मा आगमनबाट बाहिरिए । र, हस्याङफस्याङ गर्दै हामीसम्म आइपुगे । शवलाई पु¥याउन आएका थिए उनी । धनबहादुर अर्थात् दीपेशका अंकल । कर्मचारी शव निकाल्ने प्रक्रिया पूरा गर्दै थिए । धनबहादुरले भने घटनाको विवरण सुनाउन थाले, ‘दुई दिन साथीकहाँ बसेर मेरो रुममा आएको थियो । जागिर पनि पक्का गरिदिइसकेको थिएँ । राति खाना खाएर सँगै सुतेका थियौँ । रातको त्यस्तै १२ बजेको थियो । मलाई उसको खुट्टा बेस्सरी लाग्यो । उठेर हेर्दा ऊ छटपटाइरहेको थियो । हतार–हतार हस्पिटल लगेँ । बाटोमै सक्कियो ।’ उनी भन्दै गए, ‘म आफैँ लागेर मात्र यति चाँडो शव आउन सकेको हो । नत्र अर्को दुई महिना लाग्थ्यो ।’ कस्तो विडम्बना, मर्न पनि पैसा बुझाएर जानुपर्ने । र, लास फर्काउन ज्यान फालेर लाग्नुपर्ने ।

कमाइ गर्न भनेर बिदेसिएका दीपेशको एक्कासि निधन भयो । निधनपछि शव नेपाल ल्याउन पनि निकै सास्ती खेप्नुप-यो । सामान्यभन्दा केही समय छिटो उनको नेपाल ल्याउने व्यवस्था मिल्यो । शव छोटो समयमा आउनुमा विश्वकर्मा समाज युएई र दलित एकता सञ्जालले राम्रै भूमिका खेले । संस्थाले मृतकको परिवारका लागि सहयोगस्वरूप पाँच लाख ५० हजार रुपैयाँ पनि प्रदान गरेको थियो।

विमानस्थलकै एउटा कम्प्युटरमा कर्मचारीलाई मृतक परदेशीको लिस्ट उतार्न भ्याइनभ्याई थियो । उनी भन्दै थिए, ‘आज मात्र दुबईबाट तीनजना, कतारबाट दुईजना र मलेसियाबाट चारजनाको शव आइसकेको छ । मलेसियाबाट त दिनहुँ चार–पाँचजनाको शव आइरहेकै हुन्छ ।’ यसको मतलब दिनमा औसत पाँचजना महिला बिधवा बन्छिन्, पाँच–सातजना छोराछोरी टुहुरा बन्छन्, पाँच दक्ष जनशक्ति गुम्छ, पाँच आमाबाबु सन्तानविहीन बन्छन् ।

१५ मिनेटपछि शव प्राप्त गर्ने पुर्जी लिएर शाखाबाट बाहिरियौँ । उनको आफन्त शव लिन पसे र एक घन्टा हराए । अनि ट्रलीमा गुडाउँदै निस्किए रातो बाकस । त्यो अन्धकार रातमा, आफन्त सबैको अनुहारमा अँध्यारो पोतिएको थियो । वर्षा खस्न थालेको आकाशजस्ता भएका थिए उनीहरूका आँखा । परिवारको झन् कुन हविगत होला ? कमाइ गर्न भनेर विदेश गएको व्यक्तिले चार दिनमै संसार छाडेको खबर सुन्दा कस्तो भएको होला त्यो परिवारलाई ? कल्पना पनि जोकोहीलाई निकै भारी लाग्छ




About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us