Friday, 28 October 2016

गगन थापाको निर्देशन पछि मिर्गौला परीक्षण अब स्वास्थ्य चौकीमै

काठमाडौं । सरकारले मिर्गौला जाँचका लागि आवश्यक सुविधा र उपकरण चौकीहरू उपलब्ध गराउने भएको छ । यो सुविधा उपलब्ध भएपछि लामो यात्रा तय गर्दै जिल्ला अस्पताल वा काठमाडौं धाउनुपर्ने बाध्यताबाट बिरामीले मुक्ति पाउनेछन् ।

नेपालमा अस्वस्थकर खानपान र विभिन्न रोगका कारण मिर्गौलाको समस्याबाट ग्रसित हुनेको संख्या बढ्दोछ । स्वास्थ्य मन्त्रालयका अनुसार मिर्गौला परीक्षणमा प्रयोग हुने डिपिस्टिक कीटु मनाङबाहेकका सबै जिल्लामा पठाइसकिएको छ । उक्त कीटका कारण स्थानीय तहमै मिर्गौला परीक्षण गर्न पाइने भएको हो ।

मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशैभर पहिलो चरणमा २० लाखजनाको मिर्गौला परीक्षण गर्न पुग्ने गरी कीट पठाएको छ । महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीले भौगोलिक विकटताका कारण मनाङमा तत्कालै कीट पठाउन नसकिएको बताए । सरकारले सबै जिल्लामा उक्त कीटको व्यवस्था चार महिनाअघि नै गर्ने घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनपछि महाशाखाले जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अञ्चल अस्पताल, उपक्षेत्रीय अस्पताल र क्षेत्रीय अस्पताल गरी एक सय ३३ वटा स्वास्थ्य संस्थामा पुग्ने गरी कीट पठाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us