Thursday, 27 October 2016

लोकमानसिंहलाई नहटाउनु भन्दै बालुवाटारमै प्रचण्डलाई भारतको धम्की

काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई जोगाउन शक्ति केन्द्रहरुसमेत सक्रिय बनेका छन् । यसैक्रममा नेपाली कांग्रेसका एकजना सांसदले भारतीय बुद्धिजीवी एसडी मुनीलाई बालुवाटारमा पुर्‍याएर प्रधानमन्त्री प्रचण्डलाई धम्की दिएका छन् ।



एसडी मुनीलाई लिएर बालुवाटार जाने व्यक्ति हुन् कांग्रेस सांसद अमरेशकुमार सिंह । सिंहले प्रचण्डलाई महाअभियोगको पक्षमा लागेर भारतसँग निहु नखोज्न धम्की दिएको स्रोतले बताएको छ ।

नेपाल(भारत सम्वन्धबारे एक छलफलमा सहभागी हुन यसैसाता एसडी मुनि नेपाल आएका थिए । यहीबेला सत्तारुढ माओवादी र प्रमुख विपक्षी एमालेका १५७ सांसदले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरे । महाअभियोग गर्दा भएलगत्तै अमरेश एसडी मुनीसँगै बालुवाटार पुगेका थिए ।

भेटमा अमरेशले प्रचण्डलाई ‘धोकेबाज’सम्म भनेको स्रोतले बतायो । साथै उनले माओवादी लडाकूहरुले चिनियाँ पैसा खाएर लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव पेश गरेको भन्दै प्रचण्डसँग ‘अब भारत रिसायो’ भनेर अत्याएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई महाअभियोगको पक्षमा नउभिन केही भारतीय नेता एवं कूटनीतिज्ञबाट समेत दबाव परेको स्रोतको दाबी छ । प्रचण्डले लोकमानलाई हटाउन कम्मर कसेको खबर पाएपछि कांग्रेस सांसद अमरेश नेपाल मामिलाका जानकार मानिने भारतीय प्राध्यापक एडी मुनीलाई लिएर केही दिन पहिले बालुवाटार छिरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड भारतको राजकीय भ्रमणमा रहँदा लोकमानले लडाकू शिविरको फाइल खोल्छु भनेर धम्क्याएपछि प्रचण्ड र लोकमानको सम्वन्ध बिग्रिएको छ । यही कारणले माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड अहिले महाअभियोग पारित गर्ने पक्षमा उभिएका छन् । यद्यपि उनले आफू केपी ओली प्रधानमन्त्री भएकै बेलादेखि लोकमानलाई कारवाही गर्ने पक्षमा रहेको बताएका छन् ।

कार्कीलाई जोगाउन अमरेश लगायतका कांग्रेसकै नेताहरु लागेका छन् । यसमा केही भारतीय कूटनीतिज्ञहरुको पनि चासो देखिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us