काठमाडौं । सुनौली नाका हुँदै मुलुक प्रवेश गर्ने औद्योगिक र व्यापारिक मालवाहक गाडीलाई भारतीय जनपद प्रहरीले अवरोध पुर्याउन थालेका छन् । सिमानादेखि करिब १५ किलोमिटर पर सडकमा तैनाथ भारतीय प्रहरीले नेपाल आउने गाडीलाई सहज रूपमा आउन नदिएर रोक्दै लाइनमा लगाउन थालेका हुन् ।
मालवाहक गाडीलाई १५ किमि दूरी पार गर्न ५ दिनसम्म लाग्न थालेको छ । केही दिनअघि सीमावर्ती नेपालको बेलहियामा आयोजित दुई देशका सीमावर्ती उच्च सुरक्षा अधिकारीसहितको बैठकमा नेपाली पक्षले यस बारेमा कुरा राख्दा भारत महाराजगन्ज जिल्लाका जिल्लाधिकारी (डीएम) बिरेनकुमार सिंहले यो समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए । तर, समस्या समाधान हुन सकेको छैन ।
‘चालकले भारतीय प्रहरीलाई पैसा दिएमा गाडी चाँडो आउँछ नत्र एक सातासम्म पालो पाउँदैन,’ भैरहवा भन्सार क्लियरिङ एजेन्ट संघका पूर्वअध्यक्ष तथा थैव क्लियरिङ एजेन्टका सञ्चालक प्राचिन थैवले भने, ‘गाडीवालाले ५ सयदेखि १ हजार भारुका दरले पैसा दिँदै आउनुपर्ने बाध्यता छ ।’
भारतीय प्रहरीले फलफूल, तरकारीजस्ता चाँडै सडेर नष्ट हुने सामानका गाडीलाई भने रोक्ने गरेका छैनन् ।