Thursday, 20 October 2016

लोकमान जोगाउन भारतले हात हाल्यो, भारतीय राजदूत रे भए सक्रिय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रन्जित रे कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्री र प्रमुख दलका नेताको घर–घर चहार्न थालेका छन्।

राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन नागरिक समेत लोकमानको बचाउ अभियानमा सक्रिय भएको स्रोतले दाबी गरेको छ। व्यवस्थापिका संसद्मा बुधबार महाअभियोग दर्ता भएपछि मात्रै रेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारस्थित सरकारी निवासमा दुईपटक भेटिसकेका छन्। दुवै भेटमा रे र दाहालबीच ४५ मिनेट लामो वार्तालाप भएको थियो।

यस्तै, दर्ता प्रस्तावमा हस्ताक्ष्।र नगरेको नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवालाई रेले बिहीबार भेट गरेका छन्। विश्वस्त स्रोतका अनुसार दुवै भेटको एजेन्डा लोकमानको बचाउ वा नसके सुरक्षित अवतरण रहेको छ। दुवै भेटमा राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन व्यक्ति रहेको स्रोतले जनाएको छ।

बुधबार रातिको भेटपछि बिहीबार अपराह्न रे र सिंहसहित अन्य तीन व्यक्तिको समूहले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेट गरेको थियो। स्रोतका अनुसार रे बालुवाटार पुगेको केही समयपछि सिंह तीनजना व्यक्तिसहित बालुवाटार पुगेका थिए। 

स्रोतका अनुसार संसद् बैठकपछि निवास फर्किएका दाहाललाई राजदूत रे र अमरेशकुमारले बुधबार साँझ ६ः४५ मा भेटवार्ता गरेका थिए। प्रधानमन्त्री दाहाल, रे र सिंह मात्र रहेको उक्त बैठकमा लोकमान प्रकरणका विषयमा कुरा भएको छ।

भारतीय संस्थापन पक्षले लोकमानको बचाउभन्दा समयानुकूल निर्णय र अवस्थालाई अवसरका रूपमा उपयोग गर्ने रणनीति तय गरे पनि राजदूत रे भने उनलाई यथावत राख्न नसके सुरक्षित अवतरणको लबिङमा लागेको स्रोतले जानकारी दियो। कार्कीविरुद्ध मुद्दा सर्वोच्च अदालतले ब्युँताएपछि नेपालबाट भारत पठाइएको एउटा गोप्य वायरमा लोकमानले अदालती प्रक्रिया आफैं सम्हाल्ने उल्लेख भए पनि बुधबारको घटना क्रमले भारतीय गुप्तचर निकायसमेत रनभुल्लमा परेका छन्।

लोकमानले प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यकाल अवधिभर मुद्दा लम्ब्याउने तयारी गरेको जानकारी दिल्ली पठाए पनि बुधबार कार्की फर्केलगत्तै महाअभियोग दर्ता भएको थियो।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us