Sunday, 23 October 2016

रारा ताल फुट्ने सम्भावना बढ्यो

मुगु । प्रकृतिको अनुपम सौन्दर्यका रूपमा विख्यात रारा ताल पूर्वतर्फको कमजोर भूभाग र बर्सेनि बढ्दो भूक्षयीकरणका कारण जोखिममा परेको छ । तालको पूर्वी भागको कार्कीवाणा गाविसको माथिल्लो तुम, श्रीनगर गाविसको तल्लो तुम, ताल्चा विमानस्थलतर्फका भागमा बर्सेनि बढेको बाढीपहिरोको जोखिम बढ्दै गएको भूक्षयीकरणले गर्दा मुगुको पर्यटकीय आकर्षणको यो केन्द्र नै जोखिममा छ ।

रारा जोखिममा पर्दै जाँदा पूर्वतर्फको भाग फुट्ने खतरा पनि बढेको छ । रारा ताल समुद्री सतहबाट २९ सय ९० मिटरको उचाइमा छ । यसको क्षेत्रफल पाँच किलोमिटर लम्बाइ, तीन किलोमिटर चौडाइ र १६७ मिटर गहिरो छ ।

पूर्वी भागको करिब पाँच सय मिटर क्षेत्रको माटो कमजोर भएको, अत्यधिक रूख कटान भएको र संरक्षणका लागि कुनै पहल नभएकाले पनि जोखिम बढेको नागरिक समाज मुगुका अध्यक्ष चित्रबहादुर मल्लले बताए । उनका अनुसार जग्गा आवधिक गर्ने क्रममा खोरिया खन्ने काम तीव्रसँग जारी रहँदा जोखिम बढेको हो ।

रारामा बढेको जोखिमका कारण पूर्वीतर्फको भागमा रहेको बस्ती पनि असुरक्षित बन्दै गएको छ । यसको माथिल्लो र तल्लो तुम, श्रीनगर, कार्कीवाणा भाम्भाडा र ताल्चा विमानस्थल क्षेत्रको भागमाथि पनि खतराको चाप बढेको छ ।

हरेक वर्ष जोखिम बढ्दै गइरहेको छ भने राराको संरक्षण गर्ने र भूक्षय रोक्ने काम हुनसकेको छैन । यही जोखिम बढ्दै जाँदा भविष्यमा रारा ताल कुनै पनि बेला पूर्वतर्फबाट फुट्नसक्ने भन्दै स्थानीयले पत्रमार्फत सचेतनासमेत अपनाइसकेका छन् । तालमा जमेको पानीको निकास दक्षिणतर्फ मात्रै रहेको छ । तालमा जमेको पानी हल्लिरहने र पूर्वतर्फ नै बढी धक्का पर्ने भएकाले त्यसतर्फ फुट्नसक्ने अनुभव प्रकृतिका सामान्य नियमसँग परिचित स्थानीय बासिन्दाको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us