Wednesday, 19 October 2016

बंगलादेशी नागरिकसँग नेपाली नागरिकता

गत असोज ३० गते वैदेशिक रोजगारीका लागि साउदी अरब गएका एक जना व्यक्ति काठमाडौंस्थित विमानस्थलमा ओर्लिए।

अध्यागमनका विभागका कर्मचारीले सामान्य सोधपुछ गरे। आफ्नो घर कहाँ हो, बुबाको नाम के हो जस्ता प्रश्नको पनि उनले उत्तर दिन सकेनन्। उनको साथमा नेपाली पासपोर्ट थियो। नेपाली भएर पनि सामान्य नेपाली नबुझेपछि अध्यागमनका कर्मचारी छक्क परे।

सर्लाहीबाट पासपोर्ट बनाएका उनीमाथि अध्यागमनका कर्मचारीले मैथिली र भोजपुरी भाषामा पनि केही प्रश्न गरे। उनले ती प्रश्नको पनि जवाफ दिन सकेनन्। त्यसपछि नियन्त्रणमा लिएर उनीमाथि अध्यागमन विभागले अनुसन्धान सुरू गर्यो। अनुसन्धानका क्रममा उनी बंगलादेशी नागरिक भएको खुल्न आएको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले जानकारी दिए।

पक्राउ परेका नेपाली पासपोर्टधारी मोहम्मद बेलाल हुसेन बंगलादेशी नागरिक रहेछन्। ‘उनले नेपालको सर्लाहीबाट नागरिकता लिएर पासपोर्ट बनाएको खुल्न आएको छ,’ न्यौपानेले भने ।

हुसेनले सर्लाहीको मधुवन गोठ गाविस वडा नम्बर ८ बाट २०६१ असोज १ गते बाबु मोहम्बद रकुटुब हुसेनको नामबाट वंशजका आधारमा १५६५५०३१र४२६ नम्बरको नागरिकता लिएको खुल्न आएको छ। त्यसपछि उनले सन् २०१३ फेब्रुअरी १३ मा ०६३१०१०४ नम्बरको नेपाली पासपोर्ट लिएका थिए।

नेपाली पासपोर्ट लिएर कामका लागि साउदी अरब गएका उनी झन्डै ३ वर्ष त्यहाँ बसेर विदामा फर्किएका थिए।

वयानका क्रममा हुसेनले आफू बंगलादेशी नागरिक भएको र बंगलादेशकै एक जनाले झन्डै १ लाख नेपाली रुपैयाँ लिएर नागरिकता बनाइदिएको बताएका छन्। उनका अनुसार बंगलादेशको एउटा समूह नेपालमा बसेर रकम लिइ नागरिकता बनाइदिने काम गरिरहेको छ।

बंगलादेशका नागरिकलाई खाडी मुलुकमा वर्किङ भिसा नदिने गरेको र नेपालीहरुलाई बढी प्राथमिकता दिने भएकाले आफूले नेपाली नागरिकता र पासपोर्ट बनाइ विदेश गएको उनले बताएका छन्। बंगलादेशीभन्दा नेपाली नागरिकको खाडी मुलुकमा बढी माग रहेको र तलब सुविधा पनि बढी हुने गरेका कारण आफूले नेपाली पासपोर्ट बनाएको उनले बताएको अध्यागमन विभागले जनाएको छ।

हाल अध्यागमन विभागको हिरासतमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको न्यौपानेले बताए। उनले नागरिकता कसरी लिए भन्ने विषयमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा पत्राचार गरेको उनले बताए। यस विषयमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान अघि बढाएको छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us