Wednesday, 19 October 2016

यात्रु झुक्याउँदै नेपाल वायुसेवा निगम

काठमाडौं । पटक पटक उडान गर्ने भन्दै टिकट बिक्री गरेर नेपाल वायु सेवा निगमले यात्रुलाई हैरान दिएको छ । दोस्रोपटक बुधबार देखि काठमाडौं–ताप्लेजुङ उडान गर्ने भन्दै  टिकट बिक्री गरेको निगमले पाइलट नभएको भन्दै रद्द गरेको छ ।

यसबाट जहाज पर्खिएर बसेका यात्रुहरु मारमा परेका छन् । दसैं अघिपनि उडान गर्ने भन्दै दुईदिनको  टिकट काठमाडौं काउण्टरबाट बिक्री गरेको थियो । भाउजुलाई ताप्लेजुङ पठाउन दसैंअघि र दसैंपछि टिकट लिएका काठमाडौंका महेन्द्र गौतम लिन र फिर्ता गर्न जाँदा हैरान भएको बताउँछन् । 

बुधबारै काठमाडौं पुग्नुपर्ने अर्जेण्ट काम भएकी ताप्लेजुङ थेचम्वुकी सर्मिला बराल निगमले झुक्याएपछि समस्यामा परेको बताउँछिन् । ‘मौसम सफा भयो, अब जहाज आउँछ र एकै घण्टामा पुगिन्छ भनेर ढुक्क थिए । रद्द भनेपछि छाँगामा खसेको जस्तो भएको छ,’ उनले भनिन्, ‘हुँदैन थियो भने बुकिङ नगरेको भए हुन्थ्यो । यसरी झुक्याउनेलाई कारबाही हुनुपर्छ ।’

जेठदेखि रोकिएको उडान थाल्ने भन्दै असोज १९ र २१ गतेका लागि टिकट काटिएको थियो । दसैंमा घर फर्कन मख्ख परेका यात्रुलाई एउटा जहाज बिग्रिएको भन्दै पैसा फिर्ता गरेको थियो । 

जहाज पर्खँदा ढिलो भएपछि निकै कष्टले घर फर्किएको ताप्लेजुङ नगरपालिका(४ का राजेन्द्र श्रेष्ठ बताउँछन् । यहाँ जेठ १९ पछि नियमित उडान भएको छैन । गोमा एयरले भने सोमबार विदेशी पर्यटकको एउटा चार्टर उडान गरेको छ । नियमित उडानभने कुनै कम्पनीले गरेका छैनन् । 

जहाज नचल्दा बिरामी असक्त तथा छिटो यात्रा गर्नुपर्नेहरु भने समस्यामा परेका छन् । 


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us