Friday, 21 October 2016

अब सांसदहरु पनि मन्त्रीजस्तै सरकारी क्वार्टरमा बस्न पाउने, सबै खालका उपचार पनि निशूल्क

काठमाडौं । कर्णालीका नागरिकले भोकमरीको सामना गरिरहेका बेला राजधानीमा भने संसद सचिवालयले सांसदहरुका लागिसमेत सरकारी आवासको प्रस्ताव गरेको छ ।

प्रस्तावित सुविधाअनुसार अब सांसदहरुले पनि मन्त्री, प्रधानमन्त्रीले जस्तै सरकारी आवास पाउने भएका छन् । त्यसका लागि सरकारले सरकारी घरको बन्दोबस्त गर्नुपर्नेछ ।

संसदका पदाधिकारी र सदस्यहरुको सेवा सुविधाका लागि बनेको विधेयकले सरकारी आवासको व्यवस्था गर्नुपर्ने र सरकारी आवास तयार नहुँदासम्म राज्यले नै उनीहरुलाई मासिक १८ हजारदेखि २८ हजार रुपैयाँसम्म आवास भत्ता दिनुपर्ने प्रस्ताव गरिएको छ । सुविधा सम्वन्धि यस प्रस्ताव संसदमा दर्ता भइसकेको छ ।

यस्तै उनीहरुलाई आवासमा प्रयोग हुने फर्निचरसमेत राज्यले किनिदिनेछ । राज्यले संसदका पदाधिकारीहरु सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्तापक्षका नेता र प्रमुख सचेतकहरुलाई गाडी तथा इन्धन सुविधा उपलब्ध गराउने छ ।
उनीहरुले गाडी मर्मत तथा इन्धन हालेका नाममा जति पनि खर्च पेश गर्न सक्नेछन् । किनकि सुविधा सम्वन्धी विधेयकले इन्धन र मोबिलको बिल भौचर बुझाउन नपर्ने व्यवस्था प्रस्ताव गरेको छ । गाडी सुविधा नपाउने सदस्यहरुलाई भने ट्याक्सी भाडा उपलब्ध गराउने छ ।

यस्तै हरेक सांसदले सबै खालका उपचार खर्च पाउनेछन् । यतिमात्र होइन उनीहरुले लुगा भत्ता पनि पाउनेछन् । यसरी सांसदहरुको सुविधा बृद्धि गर्न संसद सचिवालयले सांसदहरुलाई ‘नेता भत्ता’देखि ‘पैदल भत्ता’सम्म दिने प्रस्ताव गरेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us