Monday, 17 October 2016

गुण्डागर्दीको शैलीमा एक जत्थाले रोक्यो लोकमानको घरमा म्याद टाँस्न

काठमाडौं । आफूलाई सामसुङ कम्पनीको कर्मचारी बताउने समूहले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टास्न रोकेको छ । ‘मान्छे नै नबस्ने घरमा किन टाँस्ने,’ भन्दै गुण्डागर्दीको शैलीमा म्याद टास्न रोकेको हो ।

सोमबार नयाँ बानेश्वरस्थित कार्कीको घरमा पुगेको सर्वोच्च अदालतका तामेलदार नेतृत्वको टोलीलाई आफूहरुले घर भाडामा लिएको बताउँदै म्याद टास्नै दिएनन् । केहीबेर बादविवाद गरेपछि तामेलदारको टोली म्याद टास्न नसकी फर्किएको हो ।

कार्कीको नियुक्तिसम्बन्धी मुद्धामा बहसका लागि बोलाउँदा आउन अस्वीकार गरेपछि घरमा म्याद टास्ने तयारी गरिएको हो । तर, पटक पटक प्रयास गर्दा पनि म्याद टास्न अवरोध हुँदै आएको छ । लोकमान भने अख्तियारको आवासगृहमा बस्दै आएका छन् । एक स्थानीयबासीका अनुसार १५ २० जनाको जत्थाले म्याद टाँस्ने टोलीलाई अबरोध गर्ने पूर्व तयारी गरेको थियो । उनका अनुसार बिहानैदेखी तयारी थियो ।

प्रमुख आयुक्त कार्कीको नियुक्ति कानुनसम्मत नभएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले २०७० वैशाख २९ मा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले २०७१ असोज ८ मा खारेज गरेको उक्त रिट पुनरावलोकन हुने भएपछि पछिल्लो कदम चालिएको हो ।

सर्वोच्चले कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने आदेश गरेअनुसार उनलाई हाजिर गराउन यो सूचना टाँस्न लागिएको हो। २० दिनसम्म उक्त निर्णयको औपचारिक सूचना लोकमानले छल्न खोजेपछि सर्वोच्चले घरमै सूचना टाँस्न तामेलदार खत्रीसहितको टिमलाई पठाएको थियो। म्यादको पत्रमा निर्णयको जानकारी दिँदै मुद्दाका दुवै पक्षलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको हुन्छ। यस्तो सूचना गाविस वा वडाको प्रतिनिधिलाई साक्षी राखेर घरमा टाँस्नुपर्ने नियम छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us