काठमाडौं । पछिल्लो दिनमा काठमाडौं लगायत देशको उच्च पहाडी भूभागहरुमा चिसो बढ्न थालेको छ । नेपालको वायु मण्डलमा पूर्वी मनसुनी वायुको प्रभाव ससकिएर पश्चिमी वायुको प्रभाव सुरु भएसँगै चिसो बढेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपाली वायु मण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । महाशाखाका अनुसार काठमाडौंको न्युनतम तापक्रम १६ डिग्री सेल्सियससम्म झरिसकेको छ ।
जाडोमा स्वस्थ रहन
– जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै फाइदा हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।
– बन्द कोठा भित्र बसेर आगो वा हिटर नताप्ने । राम्रोसँग हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।
– तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने ।
– भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने ।
– मौसमी फलफुल विशेष गरेर भिटामीन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।
– स्वासप्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउने र समय समयमा चिकित्सकसँग परामर्श गरिरहने ।
– बालबालीकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।
– जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ ।
– हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चुराइजर क्रिमको प्रयोग गर्ने ।