काठमाडौं । निर्वाचन आयोगकी आयुक्त इला शर्माले भारतीय निर्वाचन आयोगकका पूर्व प्रमुख आयुक्तसँग विवाह गर्ने भएकी छिन् । इलाले भारतीय निर्वाचन आयोगकका पूर्व प्रमुख आयुक्त एसवाई कुरेसीसँग विवाह गर्ने खबरलाई भारतीय मिडियाले दाबीका साथ सार्वजनिक गरेको छ । इला र कुरेसीको गत वर्ष मेक्सिकोमा आयोजित एक सम्मेलनमा पहिलो पटक भेट भएको थियो ।
द टेलिग्राफलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले बताए अनुसार उनीहरु दुबैले यही हप्ता विवाह गर्ने वा नगर्ने भन्ने बारे बिहिबार नै तार्किक निष्कर्ष गर्नेछन् ।
६९ वर्षीय कुरेसी र उनीभन्दा २० वर्ष कान्छी शर्माको भेट सन् २०१५ को सेप्टेम्बरमा मेक्सिकोमा आयोजित राजनीतिमा पैसा विषयक सम्मेलनको क्रममा भएको र त्यतिबेला देखि नै उनीहरु एक अर्कासँग नजिकिएको स्रोतले दाबी गरेको छ । यस विषयमा खुलेर कुरा गर्न नचाहेपनि कुरेसीले आफूहरुबिच ‘व्यक्तिगत सम्बन्ध’ रहेको स्विकार्दै आएका छन् । विवाहका लागि दुई पटक मिति नै तय भइसक्दा पनि केही कारणवश आफूहरुको विवाह रोकिएकोसमेत उनले जानकारी दिए ।
स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले बताए अनुसार यी दुबैले विवाहका लागि परिवारको राम्रो सहयोग पाएका छैनन् । कुरेसीको पत्रकार तथा स्तम्भकार हुम्रा कुरेसीसँग सम्बन्ध विच्छेद भइसकेको छ भने इलाले आफ्ना श्रीमानलाई १५ वर्ष अगाडि गुमाइसकेकी छिन् । उनको श्रीमानको माओवादीको आक्रमण परी मृत्यु भएको हो ।