Sunday, 23 October 2016

नेपाल भर प्रकोपको रूप लिँदै डेङ्गु, सबै भन्दा धेरै चितवनमा

काठमाडौँ । डेङ्गुले तराईका जिल्लामा प्रकोपको रूप लिन थालेको छ । एडिज जातको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुबाट चितवन, पर्सा, कैलाली, कञ्चनपुर, झापा, सप्तरी, रुपन्देही, सुनसरी, नवलपरासीलगायत निक्कै प्रभावित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर सउन यता ३०४ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसमध्ये चितवनमा सबैभन्दा बढी २७२ जनामा डेङ्गु पाइएको छ । महाशाखा प्रमुख डा. भीम आचार्यले चितवनको रत्ननगर नगरपालिकामा मात्र २२२ जनामा डेङ्गु देखिएको भन्दै नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो । डा. आचार्यले हालसम्म १३ जिल्ला डेङ्गुबाट अतिप्रभावित रहेको भन्दै सबभन्दा बढी चितवनमा प्रकोपको रूपमा देखापरेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविका तथा अन्य स्वास्थ्यकर्मीलाई तालिम दिएर घरघरमा गई लामखुट्टेको लार्भा नष्ट गर्ने काम भइरहेको बताउनुभयो ।

हालसम्म डेङ्गु ज्वरोका कारण एक जनाको पनि मृत्यु भएको छैन, प्रमुख डा. आचार्यले भन्नुभयो, “डेङ्गुबाट बच्ने एक मात्र उपाय भनेको एडिज जातको लामखुट्टेलाई नियन्त्रण गर्नु हो । ” एडिज जातको लामखु«ट्टे अन्य लामखुट्टेभन्दा अलि ठूलो आकारको र कालोसेतो छिर्केमिर्के रङको हुन्छ, डा. आचार्यले भन्नुभयो– यो लामखुट्टे सहर तथा नगरोन्मुख गाविसमा बढी मात्रामा पाइन्छ । ”

डा. आचार्यले ती ठाउँका खुला स्थानमा राखिएका मोटर गाडीका टायर, प्लास्टिकको पानीका बोतल, प्लेटसहितको गमला, फुटेका भाँडाकँडा तथा खपटाहरू, सिमेन्ट पोतिएका पानी जम्ने साना स्थान र विविध प्रयोजनका लागि जम्मा गरेर राखिएको पानीका भाँडामा एडिस जातका लामखुट्टेले आफ्नो विकास गर्ने गर्छन् । उहाँले त्यस्ता ठाउँमा पानी जम्ने अवस्था आउनै नदिन र पानी जमेको छ भन नष्ट गर्नु नै यस रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us