Friday, 7 October 2016

यात्रुलाई सधैं गुणस्तरहीन खाना

काठमाडौं । राजमार्गका होटेल तथा रेस्टुराँ व्यवसायीले यात्रुलाई महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालकलाई निःशुल्क सुस्वादु भोजन । दसैंतिहारजस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटेलमा सधैंजसो यही क्रम चल्दै आएको छ ।

राजमार्गका होटेल तथा रेस्टुराँ व्यवसायीले बढी मूल्य असुल गरे पनि यात्रुलाई गुणस्तरयुक्त खाना दिँदैनन् । तीनै होटेल तथा रेस्टुराँले चालकका लागि भने अलग्गै कोठामा विशेष भान्साको व्यवस्था गर्छन् । यात्रुवाहक बसका चालकसहित स्टाफका लागि अलग्गै कोठामा खसी र कुखुराको सुपसहित फ्राइड मासु वा सेकुवा, पापड, सलाद, कम्तीमा दुई थरी हरियो तरकारी, बासना आउने चामलको खानासहित कोल्ड ड्रिंक्स पनि व्यवस्था हुन्छ ।
चालकसहित तीनचारजनालाई यस्तो विशेष भान्साबाहेक यात्रु ल्याइदिएबापत दैनिक हजार रुपैयाँको आकर्षक भत्ता पनि होटेल व्यवसायीले दिने चालकहरू बताउँछन् । चाडबाडमा उपहारस्वरूप बियर र महँगा मदिरा बेग्लै । यात्रुलाई भने कक्रक्क परेको नमिठो भात, एक थोक तरकारी र दाल । हेर्दै खान मन नलाग्ने ।खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गका होटेल तथा रेस्टुराँका सम्बन्धमा गरेको पछिल्लो अनुगमनबाट चालक र यात्रुले खाने खानाको गुणस्तरमा यस्तो खाडल देखिएको हो । हाम्रो अनुगमनले यस्तो स्थिति देखिएको छ । यसलाई हटाउन संयुक्त प्रयासको खाँचो छ, खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने ।

नौबिसे, खानीखोला, धार्के, गजुरी, मलेखु, रामनगर, मुग्लिन र नारायणघाट क्षेत्रका सडक खण्डका होटेल तथा रेस्टुराँले यात्रुलाई राजधानीको सामान्य होटेलभन्दा झन्डै तीनगुना बढी मूल्य असुल गरी गुणस्तरहीन खाना खुवाउँदै आएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष पे्रमलाल महर्जनले होटेल सञ्चालकले यस्तो प्रकारको गुणस्तरहीन खाना खुवाएर यात्रुको स्वास्थ्यसँग सीधै खेलवाड गरेको आरोप लगाए ।एउटाले महँगो मूल्य तिरेर पनि राम्रो खाना नपाउनु अर्कोले सित्तैंमा सुविधैसुविधाको भत्ता र उपचारसहित स्तरीय खाना पाउनु चरम लापरबाहीको नमुना हो,ु उनले भने । बसका चालकले विकल्प नै नभएको ठाउँमा बस रोक्दा यात्रु झनै अप्ठेरोमा पर्ने गरेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us