Wednesday, 5 October 2016

मार्न भनेर जंगलतिर लगेका थिए, संयोगले बाँचेँ

सप्तरी । मलेसियामा रहेका सप्तरीको हर्दिया गाविस ७ का २३ वर्षीय ओमप्रकाश महतो घर फर्किने तयारी गरिरहेका थिए । सम्पूर्ण कागजात तयार पारेका उनले जहाजको टिकट लिन मात्रै बाँकी थियो । कम्पनीबाट छुट्टी लिएर उनी नेपालीले नै सञ्चालन गरेको एसटी होलिडे लजमा एक रात बसे ।

त्यहाँबाट भोलिपल्ट साथीको कोठा जान लाग्दा ९ असोजमा उनलाई दुई जना युवा मिलेर नियन्त्रणमा लिए । यसपछि उनलाई अर्को लजमा लगियो । त्यहाँ पहिलेदेखि नै सात जना अन्य युवा रहेछन् । सबै मिलेर उनको हात, खुट्टा बाँधे । परिवारलाई उनीमार्फत नै फोन गर्न लगाएर पाँच लाख रुपैयाँ माग्न लगाए ।

फिरौती माग्न लगाउँदै ओमप्रकाशलाई बारम्बार कुटपिट गरे । कुटपिट सहन नसकेपछि उनले गाउँमा रहेका दाइ भागवतलाई फोन गर्दै पैसा पठाउन आग्रह गरे । पैसा माग्नको लागि बहाना बनाए, ‘कागजात मिलाउनु छ, पैसा नभएर काम अड्कियो ।’

भन्नेबित्तिकै दाइले सिरहाको लहानस्थित आईएमई मार्फत पहिलो पटक दुई लाख र दोस्रो पटक तीन लाख रुपैयाँ भाइले भनेको व्यक्तिको नाममा पठाइदिए ।

पैसा कमाउन गएका ओमप्रकाशले उल्टै परिवारसँग रकम माग्दा उनका परिवार सुरुमा झस्किएका थिए । यद्यपि कागजात मिलाउन पैसा चाहिएको भनेपछि रकम पठाइदिएका थिए । उनी अपहरणमा परेको बारे कसैलाई जानकारी थिएन ।

ट्याक्सी चालकको सहयोगमा मुक्त भएपछि उनले दाइ भागवतलाई फोन गरेर सबै कुराको जानकारी गराएका थिए । उनले आफूलाई ज्यान मार्ने उद्देश्यले नै जंगलतर्फ लगेको र संयोगले बाँचेको सुनाए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us