Friday, 7 October 2016

धुर्मुस सुन्तलीले भनेपछि मुसहर बालबालिका विद्यालय जान थाले

महोत्तरी । महोत्तरीको रातो खोला बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काम गर्दै आएका बर्दिबास नगरपालिका २ मुसहर बस्तीका बालबालिका विद्यालय जान थालेका छन् । 

ढिलै भए पनि शिक्षित भए बालबालिकाको भविष्य उज्ज्वल हुने मुसहर बस्तीका अभिभावकले बुझेपछि उनीहरुलाई स्कुल पठाउन थालेका हुन् । धुर्मुस र सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अभिभावकले छोराछोरीलाई स्कुल पढाउन उत्साहित भएका हुन् । ६० घरपरिवारका ३ सय ७५ जनाको बसोबास रहेको बस्तीका ६४ बालबालिका जनता उच्च माध्यमिक विद्यालयमा पढ्न जान थालेका छन् । 

विद्यालयकाअनुसार, शिशु कक्षामा २४, कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा ६ जना बालबालिका धुर्मुस र सुन्तलीको प्रेरणाले स्कुल पुगेका हुन् । बस्तीमा शिक्षाप्रतिको चेतनाले बालबालिकाले नवयुग बाल क्लब गठन गरेर आफू बस्ने मुसहरबस्तीको सरसफाई अभियानमा पनि जुटेका छन् ।  हाँस्य कालाकार धुर्मुस सुन्तली फाउन्डेसनले मुसहरबस्तीको दयनीय अवस्था सुधार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । 

फाउन्डेसनको अगुवाइमा बर्दिबास नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, बर्दिबास उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले पनि मुसहर बस्तीको सुधारका लागि सहयोगी हात बनेर बालबालिकालाई पठनपाठनमा लाग्न उत्प्रेरित गरेका छन् । बर्दिबास नगरपालिकाले मुसहर बस्तीका बालबालिकाको अध्ययन आध्यापनमा सहजताका लागि रु सात लाखको लागतमा सामुदायिक भवनसमेत निर्माण गरिदिएको छ । 

जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले सरकार र सामाजिक सङ्घसंस्था मुसहर बस्तीको शिक्षास्तर उकास्न गम्भीर बनेकाले मुसहर बालबालिकाको उपस्थितिले विद्यार्थीको संख्या उल्लेख्य भएको बताउनुभयो । दुई लाख ३४ हजार ४ सय ९० जनसङ्ख्या रहेको मुसहर समुदायमा सात प्रतिशत साक्षर भएकामा महिला साक्षरताको संख्या भने निकै कम छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us