लिबियाको तटीय क्षेत्रमा आप्रवासी चढेको डुंगा दुर्घटना हुदाँ ९० जना भन्दा धेरै वेपत्ता भएका छन् । २९ जनालाई भने उद्धार गरिएको छ । लिबियाली तटीय गार्डले डुंगा दुर्घटना भएको जानकारी दिएका हुन् । डुंगामा एक सय २९ जना सवार थिए ।
हराएकाहरुको खोजी भइरहेको छ । लिबियाको राजधानी त्रिपोलीबाट ५० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्रबाट डुंगा छुटेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोगका अनुसार सन् २०१६ मा आप्रवासी सवार डुंगा दुर्घटनामा तीन हजार सात सय ४० जनाको ज्यान गइसकेको छ ।