Saturday, 15 October 2016

माई खोलामा डुबेकी शशी श्रीमान्‌को दायाँ हात समाएर बाँचिन्

इलाम । मिर्गौलाको समस्याका कारण झापा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार गराएर फर्केकी बाँझो ९ की शशी लिम्बूले डुंगा पल्टेर माईखोलाको भँगालोमा पसेपछि आफूलाई माया मारेकी थिइन् । १५ दिन अघिमात्र मनीष काङ्बाङसँग उनको बिहे भएको थियो ।

मिर्गौला समस्याका कारण भेन्टिलेटरमा उपचार गराएर उनी शुक्रबार दिउँसो घर फर्कंदै थिइन् । घर पुग्न कठिन चुरेको बाटोसँगै तीन दिनको अविरल वर्षाले भीषण बाढी आएको माईखोलामा दानाबारी र महमाईबीचको लोदिया दोभान पार गर्नुपथ्र्यो ।

शुक्रबार दिउँसो एक बजेतिर उनी र पति मनीषसहित करिब ५० जना डुंगाको सहायताले दानाबारीबाट महमाईतर्फको माईकिनारमा जाने तरखरमा थिए । डुंगामा सदाभन्दा बढी नै यात्रु थिए । डुंगा चल्नासाथ फनफनी घुम्यो र खोलामा डुब्यो । उनीसहित सबै यात्रु खोलामा खसे । शशी पौडन जान्दिनथिन् । उनी खोलामा पसेपछि करिब तीन सय मिटर तल उत्रिइन् । उनले सुनाइन्, ‘केही थाहा नै छैन । सायद भगवान्ले हात थापेर बचाउनुभयो होला ।

बेहोसजस्तै बनेकी उनलाई भेलले श्रीमान् मनीष काङ्बाङको नजिकै पुर्याएछ । उनले पतिको दाहिने हात समातिन् । खोलाले तान्दै थियो तर उनले हात छोडिनन् ।मनीषले सुनाए, ‘दायाँ हातमा उनी (शशी) लाई देखेपछि आफू बाँचेर उनलाई बचाउने प्रयासमा लागें । बायाँ हातमा अरूले समाएका रहेछन् । उनीहरूलाई बचाउने अवस्थामा थिइनँ । छोडिदिएँ । श्रीमतीलाई बचाएँ । हामी बाहिर आयौं ।ु
खोलामा खसेपछि मनीष तीन मिनेटजति पानीमा डुबेछन् । पानीबाट उत्रिँदा उनी पनि करिब तीन सय मिटर तल पुगेका थिए । उनले सुनाए, ‘तीन घुट्को पानी पिएपछि बाँच्छुजस्तो लागेन । लाचारजस्तै भएपछि उनले भगवान् पुकारेछन् । कसोकसो बाहिर आउन सफल भएको उनले बताए ।
आफ्नै हातले श्रीमतीको जीवन बचाएकोमा मनीष खुसी थिए । उनले भने, ‘आँखैअघि अरूलाई गुमाउँदा खुसी हुनसक्ने अवस्था छैन तर परिवार नै बाँचेकोमा खुसी छौं ।

दाजुभाउजू लिएर फर्केका यामबहादुर काङ्बाङले पनि कसोकसो जीवन बचाए । उनी पहिले बाहिर निस्केका थिए । उनले भने, ‘म त चेतनाशून्यजस्तै भएछु । दाजुभाउजू बगिरहँदा म त रमिता हेरिरहेको रहेछु ।खोलामा उनीहरूसँग ५० जनाजति बगेका थिए । बगेकामध्ये शनिबारसम्ममा ३४ जना सम्पर्कमा आएका छन् । ८ जनाको शव फेलापरेको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

दसैंको टीका लगाउन महमाईस्थित माइत हिँडेकी मोरङ मधुमल्लाकी रविना खड्का आफू त बाँचिन् तर ६ वर्षका जुम्ल्याहा छोरी अञ्जली र पुष्पालाई गुमाइन् । उनी शनिबार साँझसम्म पनि बोल्नसक्ने अवस्थामा छैनन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us