Friday, 14 October 2016

भोकमरी सूचकांकमा नेपाल ७२ औँ स्थानमा

काठमाडौं । विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औँ स्थानमा परेको छ । कूल १ सय १८ वटा विकाशशील राष्ट्र सम्मिलित उक्त सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकहरुमा सबैभन्दा राम्रो अवस्थामा रहेको देखिएपनि सूचकांकको हिसाबले नेपालमा भोकमरीको अवस्था भने गम्भीर नै रहेको पाइएको छ ।

सूचकांक अनुसार नेपालमा कुल जनसंख्याको ७.८ प्रतिशत कुपोषित रहेको देखिएको छ । त्यस्तै पाँच वर्ष भन्दा कम उमेरका बालबालिकामा चरम कुपोषणको दर ११.३ प्रतिशत रहेको छ । त्यस्तै पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपनाको दर ३७।४ प्रतिशत र पाँच वर्ष मुनिका बालबालिकामा मृत्युदर ३.६ प्रतिशत रहेको छ । भोकमरी सूचकांकमा नेपालले कुल २१।९ अंक पाएको छ ।

गत वर्ष १०४ देश सम्मिलित सूचिमा नेपाल ५८ औँ स्थानमा थियो भने नेपालले सूचकांकमा कुल २२.२ अंक पाएको थियो । यस हिसाबले नेपालले भोकमरीको खतरा घटाउने दिशामा प्रगति गरेको देखिएको छ ।

भोकमरीको जोखिमको हिसाबले नेपालको अवस्था दक्षिण एसियामा सबैभन्दा सन्तोषजनक रहेको रिपोर्टले देखाएको छ । नेपालमा भन्दा दक्षिण एसियाका अन्य मुलुकहरुमा भोकमरीको अवस्था अझै गम्भीर रहेको देखिएको छ । दक्षिण एसियामा श्रीलंका ८४ औँ स्थानमा छ भने भारत ९७ औँ स्थानमा छ । त्यस्तै बंगलादेश ९० औँ र पाकिस्तान १०७ औँ स्थानमा रहेका छन् । दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा तल अर्थात् १११ औँ स्थानमा रहेको छ । भुटान र माल्दिभ्सलाई भने उक्त सूचकांकमा समावेश गरिएको छैन ।

विश्व भोकमरी सूचकांक अनुसार विश्वमा भोकमरीको सबैभन्दा कम जोखिममा रहेको देश अर्जेन्टिना हो । भोकमरीको कम जोखिममा रहेका पहिलो ५ देशहरुमा अर्जेन्टिना, बेलारुस, बोस्निया एण्ड हर्जगोभिना, ब्राजिल र चिली रहेका छन् ।

त्यस्तै भोकमरीको सबैभन्दा बढि जोखिममा मध्य अफ्रिकी गणतन्त्र रहेको छ । भोकमरी सूचकांकको सबैभन्दा पुछारबाट पाँचौँ स्थानसम्म रहेका देशहरुमा मध्य अप्रिmकी गणतन्त्र, चाड, जाम्बिया, हाइटी र मडागास्कार रहेका छन् । सूचकांकमा चीन २९ औँ स्थानमा रहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us