काठमाडौं । सर्वसाधारणले दसैंमा घर जान टिकट नपाउँदा राज्यको उच्च तहमा रहेका एक मन्त्री भने लाखौं खर्चेर हेलिकोप्टरमा बाग्लुङ पुगेका छन् । नेपाली कांग्रेसका नेता तथा सहरी विकासमन्त्री अर्जुनरसिंह केसी हेलिकोप्टर चढेर एक कार्यक्रमका निम्ति बाग्लुङ पुगेका हुन ।
बाग्लुङ उद्योग वाणिज्यका संघको कार्यक्रममा भाग लिन भन्दै मन्त्री केसी राज्यको कोषको लाखौं खर्ची हेलिकोप्टर चार्टर गरेर बाग्लुङ पुगेको समाचारमा जनाइएको छ ।
उद्योग वाणिज्य संघ गल्कोट इकाइको एउटा सामान्य कार्यक्रममा भाग लिन मन्त्री केसी हेलिकोप्टर नै चार्टर गरेर बाग्लुङ आएपछि मन्त्रीले मात्र होइन, आयोजकले पनि निकै ठूलो उपलब्धी ठानेको बताइन्छ ।
कार्यक्रम थियो– उबासंघ गल्कोट इकाइको दशैं महोत्सव । केसी सवार हेलिकोप्टर बुधबार दिउँसो साढे १२ बजे गल्कोट बहुमुखी क्याम्पसको चौरमा बसेको थियो ।
हेलिकोप्टरमा सरर आएका मन्त्री केसीले दशैं महोत्सवको उद्घाटन गर्दै बाग्लुङको विकासका लागि आफ्नो योजना सुनाउन थाले । उनले भने–‘गल्कोटलाई स्मार्ट सिटी बनाउने मेरो योजना छ ।’ केसीले यसो भनिरहँदा स्थानीयले सजिलै पत्याएनन् । कार्यक्रममा उपस्थित स्थानीयले ओठ लेप्राए ।